नेभिगेशन
अर्थतन्त्र

जिडब्लुएम ओरा–५ ले जित्यो ‘डिजाइन अफ द इयर’ अवार्ड

काठमाडौं । नेपालमा सार्वजनिक भएको छोटो समयमै चर्चा बटुलिरहेको जिडब्लुएमको नयाँ विद्युतीय एसयूभी ओरा–५ ले अन्तर्राष्ट्रिय स्तरमा महत्त्वपूर्ण सफलता हासिल गरेको छ । जिडब्लुएम ओरा–५ ले सन् २०२५ को लन्डन डिजाइन अवाड्र्स अन्तर्गत ‘प्रोडक्ट डिजाइन–अटोमोबाइल्स÷भेहिकल्स’ विधामा ‘डिजाइन अफ द इयर’ उपाधि जितेको हो । उक्त सम्मानले ओरा–५ को आकर्षक डिजाइनसँगै अत्याधुनिक प्रविधि, प्रयोगकर्ता केन्द्रित अवधारणा र स्मार्ट मोबिलिटीप्रतिको जिडब्लुएमको दृष्टिकोणलाई अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गरेको कम्पनीले जनाएको छ । ‘प्राकृतिक सौन्दर्य’ को अवधारणामा आधारित ओरा–५ ले प्रकृतिबाट प्रेरित र सहरका लागि निर्माण गरिएको डिजाइन सोचलाई आत्मसात गरेको छ । यसको जैविक शैलीको बाहिरी बनावट, आकर्षक वक्राकार संरचना, पानीको थोपा शैलीका अगाडिका बत्ती तथा एकीकृत पछाडिका बत्तीले आधुनिक सौन्दर्य र प्रविधिको संयोजन प्रस्तुत गरेको कम्पनीको भनाइ छ । ओरा–५ मा कफी पाइलट अल्ट्रा, बुद्धिमान ड्राइभिङ प्रणाली, कफी ओएस–३, स्मार्ट ककपिट, उच्च बलियो स्टिल संरचना, ७ वटा एयरब्याग तथा अन्तर्राष्ट्रिय पाँचतारे एएनक्याप र पाँचतारे युरो एनक्याप सुरक्षा मूल्यांकन प्राप्त सुरक्षा प्रणाली समावेश गरिएको छ । एकपटकको पूर्ण चार्जमा ओरा–५ ले अधिकतम ५२० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ । यसमा २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स, २० भन्दा बढी उन्नत चालक सहायता प्रणाली, ३६० डिग्री क्यामेरा, १८० डिग्री च्यासिस दृश्य क्यामेरा, सेल्फ–हिलिङ पेन्ट, प्यानोरामिक मुनरुफ तथा प्रिमियम इन्टेरियरलगायतका सुविधा उपलब्ध छन् । नेपालमा ओरा–५ को प्रारम्भिक मूल्य ४६ लाख ९९ हजार रुपैयाँबाट सुरु हुने जनाइएको छ । सार्वजनिक भएको एक सातामै यसको डिजाइन, प्रविधि, सुरक्षा र प्रिमियम विशेषताका कारण ग्राहक तथा अटोमोबाइल क्षेत्रका व्यक्तिहरूबीच सकारात्मक प्रतिक्रिया पाएको कम्पनीले जनाएको छ । नेपालका लागि जिडब्लुएमको आधिकारिक आयातकर्ता तथा वितरक भिजी इम्पेक्स प्रालिले विश्वस्तरीय विद्युतीय सवारी नेपाली बजारमा ल्याउने अभियानलाई निरन्तरता दिँदै आगामी दिनमा ह्याभल जोलियन म्याक्स ईभी र ह्याभल एच–७ समेत सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ । विश्वभर एक करोडभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको र १७० भन्दा बढी देश तथा क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गरेको जिडब्लुएमले नवीन प्रविधि, उत्कृष्ट डिजाइन र उच्च सुरक्षा मापदण्डमार्फत नेपाली अटोमोबाइल बजारमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्