नेभिगेशन
अर्थतन्त्र

ग्लोबल आइएमई बैंकको डिजिटल सुरक्षा सुविधाः लगइन नगरी सेकेन्डमै खाता ब्लक गर्न सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ ठगीबाट ग्राहकको निक्षेप सुरक्षित राख्न नयाँ सुरक्षा सुविधा सञ्चालनमा ल्याएको छ । बैंकले मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत एपमा लगइन नगरी नै केही सेकेन्डमै खाता रोक्का (ब्लक) गर्न सकिने व्यवस्था सुरु गरेको हो । डिजिटल बैंकिङमार्फत हुने फिसिङ र स्क्यामका घटना बढ्दै गएपछि ग्राहकको रकम सुरक्षालाई प्राथमिकता दिँदै बैंकले यस्तो प्रविधि सञ्चालनमा ल्याएको जनाएको छ । बैंकका अनुसार ग्राहकलाई कुनै पनि वित्तीय ठगी, अनधिकृत पहुँच वा खाता ह्याक भएको शंका लागेमा ‘ग्लोबल कनेक्ट’ को आधिकारिक नम्बर ०१–५९७०६०० वा अन्तर्राष्ट्रिय कलका लागि +९७७–१–५९७०६०० मा सम्पर्क गरी मौखिक अनुरोधबाटै खाता ब्लक गराउन सकिनेछ । त्यस्तै, मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आफैं खाता रोक्का गर्न सक्नेछन् । यस सुविधाको विशेषता भनेको खाता ब्लक गर्न एपमा पासवर्ड वा जैविक पहिचान (बायोमेट्रिक) प्रयोग गरी लगइन गर्नुपर्ने बाध्यता नहुनु हो । एप खोलेपछि माथिल्लो दायाँ भागमा रहेको ‘कल साइन’ मा क्लिक गरी ‘मिसकल बैंकिङ’ अन्तर्गत रहेको ‘अकाउन्ट ब्लक बाई मिसकल’ विकल्प छनोट गरेपछि तत्काल खाता रोक्का हुने बैंकले जनाएको छ । बैंकिङ क्षेत्रका विज्ञहरूले यस्तो सुविधाले अनलाइन बैंकिङ अपराध नियन्त्रणमा तत्काल प्रभावकारी भूमिका खेल्ने र ग्राहकको निक्षेप सुरक्षामा सहयोग पु¥याउने बताएका छन् । यसैबीच, नेपाल राष्ट्र बैंकले समेत ग्राहक वा खातावालाको मौखिक वा अनलाइन अनुरोधका आधारमा तत्काल खाता रोक्का गर्ने व्यवस्था मिलाउन वाणिज्य बैंकहरूलाई निर्देशन दिइसकेको छ। केन्द्रीय बैंकको उक्त निर्देशनसँगै डिजिटल सुरक्षाका उपायहरू थप प्रभावकारी हुने अपेक्षा गरिएको छ । ग्लोबल आइएमई बैंकले सेवा, प्रविधि र ग्राहक सुरक्षामा गरेको कामका आधारमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानसमेत प्राप्त गर्दै आएको जनाएको छ । बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’, सन् २०२४, २०२५ र २०२६ मा ‘बेस्ट बैंक नेपाल’, युरो मनी अवार्ड फर एक्सलेन्स तथा ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ लगायतका अवार्ड प्राप्त गरिसकेको छ । ग्लोबल आइएमई बैंक निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो जसको शाखा सञ्जाल देशका ७७ वटै जिल्लामा पुगेको छ । हाल बैंकले ३४४ शाखा, ३६८ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत १ हजारभन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले नेपालभित्र बैंकिङ सेवा प्रदान गर्नुका साथै विभिन्न देशबाट सुरक्षित रेमिट्यान्स भित्र्याउँदै नेपालको अर्थतन्त्रमा समेत योगदान पु¥याउँदै आएको जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्