नेभिगेशन
अर्थतन्त्र

नबिल बैंक बैंकिङ क्षेत्रका तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौँ । नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले प्रदान गर्ने निजी क्षेत्रका बैंकतर्फको उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्ड नबिल बैंकले लगातार तेस्रो पटक प्राप्त गरेको हो । यससँगै बैंकले बिपिए (बेस्ट प्रिजेन्टेड एकाउन्ट्स) अवार्डको इतिहासमै पहिलो पटक प्रदान गरिएको ‘कर्पोरेट गभर्नेन्स डिस्क्लोजर अवार्ड’ र ‘सस्टेनेबिलिटी रिपोर्टिङ अवार्ड’ दुवै विधामा ‘सर्टिफिकेट अफ मेरिट’ समेत प्राप्त गरेको छ । यस वर्ष पहिलो पटक समावेश गरिएका यी दुई विधासहित नबिल बैंक एकैपटक तीनवटा अवार्डबाट सम्मानित भएको हो । काठमाडौंमा आयोजित एक समारोहबीच आइक्यानका अध्यक्ष सिए निलबहादुर सारु मगरले नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र वित्त प्रमुख सन्दिप बाबु पौडेललाई उक्त अवार्ड हस्तान्तरण गरेका थिए । आइक्यानले आर्थिक वर्ष २०२५ मा प्रकाशित वार्षिक प्रतिवेदनको मूल्यांकनका आधारमा अवार्ड प्रदान गरेको हो । अवार्ड छनोटका क्रममा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता, सुशासन तथा दीगोपनालाई मुख्य मापदण्ड बनाइएको थियो । यी मापदण्डमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै नबिल बैंकलाई सम्मान गरिएको आइक्यानले जनाएको छ । नबिल बैंकले यसअघि सन् २०२३ र २०२४ का लागि प्रकाशित वार्षिक प्रतिवेदनमा समेत उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्ड प्राप्त गरेको थियो । बैंकको अवार्ड प्राप्त वार्षिक प्रतिवेदन दक्षिण एसियालीस्तरमा आयोजना हुने साफा बिपिए अवार्डका लागि समेत नेपालको तर्फबाट मनोनयन हुने आयोजकले जनाएको छ । देशभर २६६ शाखा र ३१८ एटिएममार्फत सेवा दिँदै आएको नबिल बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्