नेभिगेशन
अर्थतन्त्र

७ दिनको गिरावटपछि नेप्से ४४.५९ अंकले बढ्यो

काठमाडौं । नेपाली शेयर बजारमा बुधबार उत्साहजनक सुधार देखिएको छ । साताको कारोबारको तेस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४४.५९ अंकले वृद्धि भएको छ । बजार बन्द हुँदा नेप्से परिसूचक १.७० प्रतिशतले बढेर २ हजार ६५२.९३ विन्दुमा पुगेको हो । पछिल्ला केही कारोबार दिनको उतारचढावपछि बुधबार बजारमा खरिदकर्ताको चाप बढ्दा नेप्सेमा सकारात्मक प्रभाव परेको हो । बजारमा अधिकांश कम्पनीको शेयर मूल्य बढेपछि समग्र परिसूचक उकालो लागेको देखिएको छ । लगानीकर्ताको सक्रियता बढेसँगै बुधबार शेयर बजारमा कुल ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार ४१० रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन ९५ लाख ४७ हजार ६७८ कित्ता शेयर किनबेच भएका छन् भने कुल ५६ हजार ८५० वटा कारोबार भएका छन् । कारोबार भएका कुल ३६२ वटा धितोपत्रमध्ये अधिकांश कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । बजारमा २५२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७ वटा कम्पनीको मूल्य घटेको छ । त्यस्तै, ६ वटा कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । यसले बुधबारको बजारमा सकारात्मक माहोल बनेको संकेत गरेको छ । बुधबारको कारोबारमा सबैभन्दा धेरै मूल्य बढ्ने कम्पनीको सूचीमा  स्नो रिभर लिमिटेड रहेको छ । यो कम्पनीको शेयर मूल्य १४.९९ प्रतिशत वृद्धि भई सकारात्मक सर्किट लाग्दा ५२२.३० रुपैयाँ पुगेको छ । त्यस्तै, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य पनि १४.२२ प्रतिशतले बढेर १ हजार ५५० रुपैयाँ पुगेको छ । भुजुङ हाइड्रोपावर कम्पनीको शेयर मूल्य १३.९० प्रतिशतले बढेर ९०० रुपैयाँ पुगेको छ । यसैगरी, कुथेली भुखारी स्मल हाइड्रोपावर कम्पनीको शेयर मूल्य ९.७३ प्रतिशतले वृद्धि भई १ हजार ४१० रुपैयाँ पुगेको छ भने मध्य सोलु हाइड्रो पावर कम्पनीको शेयर मूल्य ९.३७ प्रतिशतले बढेर ६३९.८० रुपैयाँ पुगेको छ ।
यस्तै, कारोबार रकमका आधारमा बुधबार लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा रहेको छ । कम्पनीको २८ करोड ८४ लाख २७ हजार १३३ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । दोस्रो नम्बरमा रियलाइन्स स्पिनिङ मिल्स रहेको छ । यो कम्पनीको १७ करोड ५१ लाख ५ हजार ४१ रुपैयाँ बराबरको कारोबार भएको छ । आँखुखोला जलविद्युत कम्पनीको १७ करोड २६ लाख ८६ हजार रुपैयाँ र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको १६ करोड ३७ लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा डिबेन्चर २०९० को पनि १४ करोड १२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
बुधबारको वृद्धिसँगै नेप्सेमा सूचीकृत कम्पनीहरूको कुल बजार पुँजीकरण ४५ खर्ब ४३ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । फ्लोट बजार पुँजीकरण भने १५ खर्ब २९ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । बजार विश्लेषकहरूका अनुसार पछिल्लो समय लगानीकर्ताको मनोविज्ञानमा आएको सुधार, केही कम्पनीको शेयरमा बढेको माग र खरिद चापका कारण बजारमा सकारात्मक प्रभाव देखिएको हो । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत सुधार आउनुले बजारमा लगानीकर्ताको सहभागिता बढ्दै गएको संकेत गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्