नेभिगेशन
साहित्य
अनुसन्धान

महिलाले कमाउन थालेपछि पुरुषको मानसिक स्वास्थ्यमा कस्तो असर पर्छ ?

समाजमा धेरै समयदेखि पुरुषलाई परिवारको मुख्य कमाउने सदस्य (ब्रेडविनर) मान्ने सोच रहिआएको छ । तर पछिल्ला वर्षहरूमा धेरै महिलाले आफ्ना श्रीमान् वा पुरुष साथीभन्दा बढी आम्दानी गर्न थालेका छन् । यसले महिलाको आर्थिक सशक्तीकरणलाई बढावा दिएको भए पनि पुरुषको मानसिक स्वास्थ्य, आत्मसम्मान, वैवाहिक सम्बन्ध र परिवारभित्रको शक्ति सन्तुलनमा नयाँ चुनौतीहरू देखापर्न थालेका छन् ।
यस विषयमा गरिएको एक अनुसन्धानमा सहभागी भएका केही पुरुषहरूले आफूले घरबाहिर जागिर नगरी घरमै बसेर बालबच्चाको हेरचाह गर्दा समाजबाट अपमान र आलोचना खेप्नुपरेको अनुभव सुनाएका छन् । एक सहभागीले श्रीमतीले सबै पैसा कमाउँदा आफ्नो स्वाभिमानमा चोट पुगेको बताए भने अर्काले आफूलाई ‘घरमै बस्ने महिलाजस्तै’ ठानिएको अनुभव सुनाए । अर्का सहभागीलाई त आफ्नै परिवारका सदस्यहरूले अपमानजनक उपनाम दिएका थिए । यी उदाहरणहरूले महिलाले मुख्य कमाउने सदस्य बनेपछि पुरुषले समाजबाट कस्तो मानसिक दबाब झेल्नुपर्छ भन्ने देखाउँछन् ।
अनुसन्धानअनुसार यस्तो दबाबको मुख्य कारण परम्परागत लैंगिक मान्यता हो । समाजले अझै पनि पुरुषलाई परिवारको आर्थिक जिम्मेवारी बोक्ने व्यक्तिका रूपमा हेर्ने भएकाले पुरुषले कम कमाउँदा वा जागिर गुमाउँदा आफू असफल भएको महसुस गर्न सक्छन् । पैसा केवल आम्दानीको विषय मात्र नभई शक्ति, सम्मान र निर्णय गर्ने अधिकारसँग पनि जोडिएको हुन्छ । त्यसैले पुरुष अपेक्षाअनुसार सबैभन्दा बढी कमाउने व्यक्ति नभएमा उनीहरूमा आत्मविश्वास घट्ने, मानसिक तनाव बढ्ने र दाम्पत्य सम्बन्धसमेत कमजोर हुने सम्भावना रहन्छ ।
यद्यपि विश्वभर अझै पनि अधिकांश अवस्थामा पुरुषको आम्दानी महिलाभन्दा बढी नै हुन्छ । विवाहित दम्पतीमध्ये महिलाले अझै पनि पुरुषभन्दा धेरै घरधन्दा र बालबच्चाको हेरचाह गर्छन् । महिलाले बढी कमाउने अवस्थामा समेत उनीहरूकै काँधमा घरेलु कामको ठूलो हिस्सा पर्ने गरेको अध्ययनहरूले देखाएका छन् । अर्थात् आर्थिक रूपमा बलियो बने पनि महिलाको घरेलु जिम्मेवारी समान रूपमा घटेको छैन ।
विभिन्न अनुसन्धानले महिलाले श्रीमान्भन्दा बढी कमाउँदा पुरुषको आत्मसम्मान र खुसीमा नकारात्मक असर पर्न सक्ने देखाएका छन् । धेरै पुरुष आफ्नी जीवनसाथीको सफलतामा गर्व गर्छन्, तर भित्रभित्रै आफूले परिवारको ‘कमाउने पुरुष’को भूमिका पूरा गर्न नसकेको अनुभूति पनि हुन्छ । विशेष गरी रोजगारी गुमाएर वा परिस्थितिवश घरमै बस्नुपरेका पुरुषमा यस्तो भावना बढी देखिन्छ ।
अस्ट्रेलियाका पूर्व व्यवस्थापन परामर्शदाता ह्यारी बन्टनले जागिर गुमाएपछि आफ्नो पुरुषत्व, श्रीमान् र बाबुको भूमिकामाथि नै प्रश्न उठेको अनुभव सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । उनले पछि आफूले बुबाको भूमिकालाई नयाँ ढंगले स्वीकार गर्न सिकेको बताए पनि सुरुमा यस्तो परिवर्तनले गहिरो मानसिक असर पारेको स्वीकार गरेका छन् । यसले पुरुषको पहिचान अझै पनि कमाइसँग जोडिएको देखाउँछ ।
स्विडेनमा गरिएको एक दीर्घकालीन अध्ययनले श्रीमतीले श्रीमान्भन्दा बढी कमाउन थालेपछि पुरुषमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या पहिचान हुने दर उल्लेखनीय रूपमा बढेको देखाएको छ । महिलामा पनि केही असर देखिए पनि पुरुषमा त्यो वृद्धि अझ बढी थियो । अनुसन्धानकर्ताहरूका अनुसार यसको एउटा कारण सम्बन्धप्रतिको सन्तुष्टि घट्नु तथा समाजले पुरुषमाथि राखेको अदृश्य अपेक्षा हुन सक्छ ।
अन्य अध्ययनहरूले उच्च आम्दानी गर्ने महिलाका श्रीमान् विवाहबाहिर सम्बन्ध राख्ने सम्भावना पनि तुलनात्मक रूपमा बढी हुने देखाएका छन् । अनुसन्धानकर्ताहरूका अनुसार केही पुरुषले आफ्नो पुरुषत्व कमजोर भएको महसुस गरेपछि त्यसलाई पुनः प्रमाणित गर्ने प्रयासस्वरूप यस्तो व्यवहार गर्न सक्छन् । यद्यपि यो सबै पुरुषमा लागू हुने निष्कर्ष भने होइन ।
रोजगारी गुमाएका पुरुषमा महिलाको तुलनामा डिप्रेसन बढी देखिनुको अर्को कारण उनीहरूको सामाजिक सम्बन्ध सीमित हुनु पनि हो । धेरै महिलाको परिवार, साथीभाइ र समुदायसँगको सम्बन्ध बलियो हुने भएकाले उनीहरूले मानसिक सहयोग पाउने सम्भावना बढी हुन्छ । तर घरमै बस्ने बाबुहरू प्रायः एक्लोपनको सामना गर्छन् ।
महिला मुख्य कमाउने सदस्य भएका सबै परिवार आर्थिक रूपमा सम्पन्न भने हुँदैनन् । धेरै अवस्थामा पुरुषले जागिर गुमाएपछि महिलाले मात्र काम गर्ने अवस्था सिर्जना हुन्छ, जसका कारण परिवारको कुल आम्दानी नै घट्न सक्छ । लैंगिक तलब असमानताका कारण महिलाले समान काम गरे पनि कम पारिश्रमिक पाउने भएकाले यस्ता परिवार आर्थिक दबाबमा पर्न सक्छन् । यसैले केही अनुसन्धानकर्ताले महिला मुख्य कमाउने परिवारलाई सामाजिक सुरक्षा प्रणालीले थप सहयोग गर्नुपर्ने सुझाव दिएका छन् ।
यद्यपि पुरुष घरमै बसेर बालबच्चाको हेरचाह गर्दा सकारात्मक परिणाम पनि देखिएका छन् । बेलायतलगायतका देशमा बुबाहरूले अघिल्ला पुस्ताभन्दा धेरै समय बालबच्चासँग बिताउन थालेका छन् । घरमै बस्ने बाबुले बालबालिकासँग गुणस्तरीय समय बिताउने, उनीहरूको विकासमा सक्रिय भूमिका खेल्ने र पालनपोषणमा बढी सहभागी हुने देखिएको छ । यसले बालबालिकामा पनि लैङ्गिक समानताको सोच विकास गर्न मद्दत पु¥याउँछ ।
पितृत्व बिदाले पनि दाम्पत्य सम्बन्ध र बालबालिकासँगको सम्बन्ध सुधार्ने प्रमाण भेटिएको छ । बुबाले पितृत्व बिदा लिँदा विवाहप्रतिको सन्तुष्टि बढ्ने, बालबालिकासँगको सम्बन्ध बलियो हुने र भविष्यमा घरधन्दा तथा बालहेरचाहमा उनीहरूको सहभागिता बढ्ने देखिएको छ । यसले महिलालाई पनि आफ्नो करियरमा अघि बढ्न थप अवसर दिन्छ ।
महिलाको आर्थिक सशक्तीकरणले परिवारभित्र निर्णय गर्ने अधिकार पनि बढाउँछ । मेक्सिकोमा गरिएको अध्ययनले घरबाहिर रोजगारीका अवसर बढेसँगै महिलाको आर्थिक निर्णय गर्ने क्षमता र पारिवारिक प्रभाव पनि बढेको देखाएको छ । आर्थिक स्वतन्त्रताले महिलाको आत्मनिर्भरता, करियर विकास र सामाजिक हैसियतलाई मजबुत बनाउँछ ।
स्विडेनको अनुभवले देखाएको छ कि सुरुमा पितृत्व बिदा लिने पुरुषको वैवाहिक सम्बन्धमा केही चुनौती देखिए पनि समयसँगै समाजले त्यसलाई सामान्य रूपमा स्वीकार ग¥यो । अहिले त्यहाँ बुबाले पितृत्व बिदा नलिनु नै असामान्य मानिन्छ । यसले देखाउँछ कि सामाजिक मान्यता परिवर्तन हुन समय लागे पनि नीतिगत सुधारले दीर्घकालीन सकारात्मक परिणाम दिन सक्छ ।
तर लैङ्गिक समानताप्रतिको धारणा अझै विभाजित छ । बेलायतको एउटा अन्तर्राष्ट्रिय सर्वेक्षणमा युवा पुस्ताका पुरुषमध्ये उल्लेख्य सङ्ख्याले घरमै बसेर बालबच्चा हेर्ने बाबुलाई ‘कम पुरुष’ ठानेका थिए । त्यस्तै धेरै युवा पुरुषले लैङ्गिक समानता कायम गर्न पुरुषबाट अत्यधिक अपेक्षा गरिएको धारणा पनि व्यक्त गरेका थिए । अनुसन्धानकर्ताहरूका अनुसार महिलाको शिक्षा र रोजगारीमा बढ्दो सफलताले केही युवा पुरुषमा आफू पछि परेको अनुभूति बढाएको हुन सक्छ ।
विशेषज्ञहरूका अनुसार पुरुषत्वको नयाँ परिभाषा आवश्यक छ । पुरुष हुनुको अर्थ केवल धेरै पैसा कमाउनु मात्र होइन; परिवारको हेरचाह गर्नु, सहानुभूति देखाउनु, घरायसी जिम्मेवारी बाँड्नु र भावनात्मक रूपमा उपस्थित हुनु पनि उत्तिकै महŒवपूर्ण पक्ष हुन् । यसलाई अहिले ‘केयरिङ म्यास्कुलिनिटी’ अर्थात् हेरचाहमा आधारित पुरुषत्व भन्ने अवधारणाले व्याख्या गर्न थालेको छ ।
अनुसन्धानकर्ताहरूले पितृत्व बिदा विस्तार गर्ने, पुरुषलाई बालहेरचाहमा प्रोत्साहित गर्ने र परिवारभित्र जिम्मेवारी समान रूपमा बाँड्ने नीति प्रभावकारी हुने बताएका छन् । यसले पुरुषमाथिको एक्लो कमाउने दबाब कम गर्छ भने महिलालाई पनि आफ्नो क्षमता अनुसार करियर बनाउन सहयोग पु¥याउँछ ।
समाजमा महिलाको आम्दानी बढ्दै जाँदा पुरुषले पनि आफ्नो भूमिका नयाँ ढंगले परिभाषित गर्नुपर्ने अवस्था आएको छ । यदि समाजले पुरुषलाई केवल कमाउने व्यक्तिका रूपमा मात्र मूल्यांकन गर्ने सोच त्याग्न सक्यो भने पुरुषको मानसिक स्वास्थ्यमा सुधार आउने, दाम्पत्य सम्बन्ध सुदृढ हुने, महिलाको आर्थिक सशक्तीकरण अझ प्रभावकारी बन्ने र परिवारभित्र शक्ति तथा जिम्मेवारीको सन्तुलित बाँडफाँट स्थापित हुने सम्भावना बढ्नेछ । बीबीसी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
ईश्वरको मृत्यु

ईश्वरको मृत्यु

किशोरकिशोरीहरू पठनतर्फ फर्किए

किशोरकिशोरीहरू पठनतर्फ फर्किए

निएन्डरथलले पनि चित्र बनाएका थिए

निएन्डरथलले पनि चित्र बनाएका थिए