नेभिगेशन
अर्थतन्त्र

आनको विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौँ । नेपाल विज्ञापन संघ (आन) ले ३६औँ वार्षिकोत्सवकाे अवसरमा एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। परिवर्तनशील मिडिया परिदृश्य र निरन्तर रूपान्तरणकारी विज्ञापन व्यवसाय शीर्षक दिइएको उक्त कार्यक्रम काठमाडौँको गौशालास्थित होटल बेस्ट वेष्टर्न प्लसमा आयोजना गरिएको हो। 
एड्सारो नेपालको सहयोग तथा एड क्लब नेपाल र आईएए नेपालको सहकार्यमा आयोजित कार्यक्रममा नेपाली मिडिया र विज्ञापन बजारमा विकसित भइरहेका नयाँ आयाम र चुनौतीहरूमाथि सम्बन्धित क्षेत्रका दक्ष, र अनुभवी विज्ञहरुले छलफल तथा विचारविमर्श गरेका हुन् । अन्तरक्रिया कार्यक्रममा प्रविधिको तीव्र विकासले सिर्जना गरेका चुनौती र ती चुनौतीहरूलाई अवसरमा बदल्न नेपाली विज्ञापन व्यवसायी तथा पेशाकर्मीहरूले चालेका सकारात्मक कदमहरूबारे विशेष चर्चा गरिएकाे थियो ।

कार्यक्रमम सहभागी वक्ताहरुले उपभोक्ताहरू फेसबुक, इन्स्टाग्राम, टिकटक जस्ता डिजिटल र सामाजिक सञ्जालमा केन्द्रित हुँदा परम्परागत सञ्चार माध्यमहरू (टेलिभिजन, प्रिन्ट र रेडियो)मा आउने विज्ञापनको हिस्सा घट्दै गएको र बजार असन्तुलन मुख्य चुनौतीका रूपमा रहेकाे बताए ।  

नेपालमा एआई डाटामा आधारित मार्केटिङ र डिजिटल मार्केटिङका लागि आवश्यक दक्ष जनशक्तिको अभाव रहनु र शहरी तथा ग्रामीण क्षेत्रबीचको डिजिटल साक्षरताको खाडल विज्ञापन क्षेत्रको अर्को ठूलो चुनौतीका रुपमा रहेकाे छलफलमा सहभागीहरुले बताए ।   

कार्यक्रममा विविध चुनौतीहरूका बीच पनि नेपाली विज्ञापन एजेन्सी र उद्यमीहरूले परम्परागत शैलीलाई छोडेर द्रुत गतिमा डिजिटल र इन्फ्लुएन्सर मार्केटिङलाई अँगाल्दै नेपाली बजार अनुकूल र स्थानीय भाषा–संस्कृति सुहाउँदो सिर्जनशील डिजिटल सामग्री निर्माणमा व्यवसायीहरूले सक्रियता बढाएकोमा विज्ञापन व्यवसायी तथा पेशाकर्मीहरुको सकारात्मक कदमकाे वक्ताहरुले प्रशंसा गरे ।  

आर्टिफिसियल इन्टेलिजेन्स र डीपफेक जस्ता अत्याधुनिक प्रविधिले ल्याउन सक्ने भ्रामक विज्ञापनको जोखिमलाई न्यूनीकरण गर्न नेपालका विज्ञापन पेशाकर्मीहरूले आचारसंहिता निर्माण, स्वनियमन र नवप्रवर्तनकारी प्रविधिको जिम्मेवार प्रयोगमा जोड दिनुपर्नेमा छलफलमा सहभागीहरुले जोड दिए ।  

कार्यक्रममा संघको सदस्य एजेन्सी एडसारो नेपाल प्रा. लि.का अध्यक्ष सुजन अधिकारीले विज्ञापनमा आधुनिक प्रविधिको प्रयोगसहित डिजिटल प्लेटफर्महरुमा विज्ञापन वितरणसम्बन्धी कम्पनीले विकास गरेको प्रविधि र यसका उपयोगिताहरुका बारेमा एक विशेष प्रस्तुतीकरण दिए । 

आनका कार्यकारी सदस्य प्रभात रिमाल संचालन गरेकाे कार्यक्रममा उपाध्यक्ष पंकज प्रधानले स्वागत मन्तव्य राख्दै सम्पूर्ण सहभागीहरूलाई स्वागत गर्नुका साथै कार्यक्रमको औचित्यमाथि प्रकाश पारे । कार्यक्रमको मुख्य आकर्षणको रूपमा रहेको प्यानल छलफलको सहजीकरण टेक्नोलोजी खबर डटकमका प्रधान सम्पादक अनुजराज ढुङ्गेलले सहजीकरण गरेको उक्त छलफमा आनका कार्यकारी सदस्य दीपेन्द्र टण्डन, बाह्रखरीका प्रधान सम्पादक प्रतीकमान प्रधान, डिजिटल विज्ञापन विज्ञ कश्यप शाक्य र सारस बेभसेज रेडबुल नेपालका सेल्स एण्ड मार्केटिंग प्रमुख निर्भिक प्रधान रहेका थिए ।  
कार्यक्रममा एडसारो नेपालले विकास गरेको प्रविधिले विज्ञापन उद्योगलाई मात्र नभएर समग्र नेपाली मिडिया तथा विज्ञापनदाताहरुलाई समेत सजिलो, किफायती हुनुका साथै विज्ञापनको प्रभावकारीता मापन र पारदर्शिताको विकास गर्न सहयोग पुग्ने विचार व्यक्त गर्दै नेपाल विज्ञापन संघ (आन)का अध्यक्ष सुदिप थापाले सम्पूर्ण सहयोगी संस्था र सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरेका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्