नेभिगेशन
अर्थतन्त्र
वैदेशिक रोजगारीका नाममा लुटधन्दा

३९ लाख ठगी गर्ने दुई जना प्रहरी फन्दामा

काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाएर बेरोजगार युवाहरूलाई वैदेशिक रोजगारीका नाममा लाखौं ठगी गर्ने दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । आयरल्यान्ड तथा युएई पठाइदिने भन्दै कुल ३९ लाख रुपैयाँ ठगी गरी फरार रहेका उनीहरूलाई प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा काभ्रेपलान्चोक जिल्ला, चौरी देउराली गाउँपालिका वडा नं. ५ स्थायी घर भई हाल काठमाडौँको बौद्ध बस्ने ३८ वर्षीय सरोज पन्त र रामेछाप जिल्ला, लिखु तामाकोसी गाउँपालिका वडा नं. २ घर भई हाल टोखा बस्ने २२ वर्षीय अनिल खत्री रहेका छन् । अभियुक्त पन्तले एक जना पीडितलाई वैदेशिक रोजगारीका लागि आयरल्यान्ड पठाइदिने र त्यहाँ आकर्षक तलब हुने लोभ देखाई १६ लाख रुपैयाँ असुल गरेका थिए । रकम लिएपछि सम्पर्कविहीन भएका उनलाई प्रहरीले शुक्रबार काठमाडौं महानगरपालिका वडा नं. ८ बाट पक्राउ गरेको हो । अर्का अभियुक्त अनिल खत्रीले ६ जना युवालाई युएई पठाइदिने भन्दै प्रतिव्यक्ति लाखौँका दरले कुल २३ लाख रुपैयाँ ठगी गरेका थिए । उनलाई प्रहरीले गत बिहीबार टोखा नगरपालिका वडा नं. ६ बाट पक्राउ गरेको हो । लामो समयसम्म युवाहरूलाई झुक्क्याएर रकम लिएर सम्पर्कविहीन भएपछि पीडितहरूले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ । वैदेशिक रोजगारीको नाममा दिनानुदिन बढ्दै गएको यस्तो ठगी धन्दाप्रति सचेत रहन र आधिकारिक माध्यमबाट मात्र प्रक्रिया अगाडि बढाउन प्रहरीले आग्रह गरेको छ ।
१९ विरुद्ध पक्राउ पुर्जी, २५ नयाँ मुद्दा दर्ता
वैदेशिक रोजगारीका नाममा सोझासाझा श्रमिकलाई ठग्ने र कानुन उल्लंघन गर्नेहरू माथि सरकारले आफ्नो निगरानी र कारबाहीलाई तीव्र बनाएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो विवरणले ठगीमा संलग्नहरूमाथि सरकार कडा रूपमा प्रस्तुत भएको छ । विभागको मुद्दा तथा अनुसन्धान शाखाल वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा २५ वटा नयाँ मुद्दा दर्ता गरेको छ । कारबाहीलाई कडा बनाउँदै विभागले ८ जना अभियुक्तलाई पक्राउ गरी उपस्थित गराएको छ भने फरार रहेका अन्य १९ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । म्यानपावर कम्पनीहरूको गतिविधिमाथि पनि सरकारले कडा नजर राखेको छ । संस्था अनुगमन शाखाले ३ वटा म्यानपावर कम्पनीलाई विभिन्न विषयमा पत्राचार गर्दै सचेत गराएको छ । विभागले ४७ वटा म्यानपावर कम्पनी र ७ वटा पूर्व प्रस्थान अभिमुखीकरण तालिम प्रदायक संस्था (पिडिओटी) को नवीकरण गरे पनि उनीहरूको कार्यशैलीमाथि निरन्तर अनुगमन भइरहेको छ । पीडितको उद्धार र राहतमा सक्रियता ठगीमा परेका र समस्यामा परेका श्रमिकहरूको हकमा सरकारले २ जनाको उद्धार गरेको छ भने ५ वटा उजुरीको फछ्र्यौट गरेको छ । श्रमिकलाई विदेशमा नै सम्झौता बमोजिमको सेवा सुविधा दिलाउन विभागले २ वटा ठोस प्रतिबद्धता समेत प्राप्त गरेको छ । पीडितलाई न्याय दिलाउने क्रममा ८ पटक दुईपक्षीय छलफल गरिएको र १ जनालाई क्षतिपूर्ति उपलब्ध गराइएको छ । सरकारले श्रमिकका गुनासोलाई प्राथमिकतामा राख्दै ’हेलो सरकार’ मार्फत प्राप्त ९ वटा गुनासोमध्ये ५ वटाको तत्काल समाधान गरेको छ । विभागको कल सेन्टरमा प्राप्त ४६ वटा गुनासोमध्ये ४४ वटाको तत्काल समाधान गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्