नेभिगेशन
अर्थतन्त्र

पर्यटन व्यवसायीलाई कर र कानुनी अनुपालनबारे तालिम

काठमाडौं । नेपाल पर्यटन बोर्डले ट्राभल तथा टुर व्यवसायीका लागि कर तथा कानुनी अनुपालनसम्बन्धी तालिम सुरु गरेको छ । बोर्डले पर्यटन व्यवसायलाई कानुनी रूपमा व्यवस्थित, पारदर्शी र कर प्रणालीप्रति उत्तरदायी बनाउने उद्देश्यले सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपाल (सोट्टो)सँगको सहकार्यमा काठमाडौंमा दुईदिने तालिम आयोजना गरेको हो । बिहीबारदेखि सुरु भएको तालिममा विभिन्न ट्राभल तथा टुर एजेन्सीका करिब ५० जना व्यवसायी तथा प्रतिनिधिको सहभागिता रहेको छ । तालिममार्फत व्यवसायीलाई कर प्रणाली, कानुनी व्यवस्था तथा पर्यटन व्यवसाय सञ्चालनका क्रममा पालना गर्नुपर्ने दायित्वबारे व्यवहारिक जानकारी प्रदान गरिएको बोर्डले जनाएको छ । तालिममा आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) लगायत पर्यटन क्षेत्रमा लागू हुने विभिन्न कर, कर भुक्तानी गर्दा अपनाउनुपर्ने प्रक्रिया, कानुनले तोकेका दायित्व तथा कर प्रशासनसँग सम्बन्धित व्यवहारिक पक्षबारे प्रशिक्षण दिइएको छ । विशेषगरी, कर तथा भ्याटसम्बन्धी ऐन–कानुनबारे पर्याप्त जानकारी नहुँदा साना तथा मझौला पर्यटन व्यवसायीले अनावश्यक जरिवाना र प्रशासनिक झन्झट बेहोर्नुपर्ने अवस्था देखिएकाले व्यवहारिक ज्ञानमा जोड दिइएको आयोजकले जनाएको छ । सोट्टो नेपालका अध्यक्ष मानबहादुर शाहीले व्यवसायीलाई करसम्बन्धी ज्ञान अभिवृद्धि गराई अनावश्यक कानुनी जटिलता र आर्थिक दण्डबाट जोगाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए ।

उनका अनुसार करसम्बन्धी नियम तथा व्यवस्था समय–समयमा परिमार्जन भइरहे पनि करका आधारभूत सिद्धान्त स्थिर रहने भएकाले त्यसको ज्ञानले व्यवसायलाई दीर्घकालीन रूपमा व्यवस्थित बनाउन सहयोग पुग्नेछ । उनले आर्थिक अनुशासन, वित्तीय पारदर्शिता तथा कानुनी अनुपालनलाई सुदृढ बनाउन यस्ता तालिम प्रभावकारी हुने उल्लेख गर्दै करसम्बन्धी आधारभूत जानकारीको अभावका कारण कुनै पनि व्यवसायी ठूलो जरिवानामा पर्नु नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । बोर्डले पनि कर भुक्तानी प्रक्रियाबारे पर्याप्त जानकारी नहुँदा वा लापरबाही गर्दा व्यवसायीले कडा आर्थिक जरिवाना तथा अन्य कानुनी समस्या बेहोर्नुपर्ने अवस्था आउने भएकाले समयमै सचेत हुनु आवश्यक रहेको जनाएको छ ।

यही उद्देश्यलाई मध्यनजर गर्दै सोट्टोसँगको सहकार्यमा पर्यटन व्यवसायीलाई लक्षित गरी तालिम सञ्चालन गरिएको बोर्डको भनाइ छ । यसैबीच, बोर्डले सोट्टोसँगको सहकार्यलाई निरन्तरता दिँदै आगामी महिनादेखि पर्यटन व्यवसायी तथा ट्राभल एजेन्सीका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी तालिम पनि सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्