नेभिगेशन
अर्थतन्त्र

घरेलु तथा साना उद्योगलाई सहुलियत, नीतिगत स्थिरता र संरक्षण आवश्यकः सरोकारवाला

ललितपुर । आर्थिक मन्दी, लगानी संकुचन र बजारमा आएको सुस्तताका कारण संकटमा परेको घरेलु तथा साना उद्योग क्षेत्रलाई पुनर्जीवित गर्न सहुलियत, नीतिगत स्थिरता तथा सरकारी संरक्षण अपरिहार्य रहेको सरोकारवालाले जोड दिएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा आयोजित २६औँ राष्ट्रिय महाधिवेशन तथा २३औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनको उद्घाटन समारोहमा वक्ताहरूले उद्योग क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे। उनीहरूले तीनै तहका सरकारबीच समन्वयको अभाव, पुराना कानुन तथा नीतिगत अस्थिरताले घरेलु तथा साना उद्योगहरू अपेक्षित रूपमा अघि बढ्न नसकेको बताए ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले घरेलु तथा साना उद्योगको विकास आत्मनिर्भर अर्थतन्त्र निर्माणको महत्वपूर्ण आधार भएको बताए । स्थानीय उत्पादनलाई पर्यटनसँग जोडेर बजार विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले कर्णालीका राडीपाखी, अल्लोलगायत मौलिक उत्पादनको प्रभावकारी ब्रान्डिङ तथा बजारीकरणमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरे । उनले सरकारी निकायमा हुने बारम्बारको कर्मचारी सरुवाका कारण नीतिगत निरन्तरतामा असर परेको भन्दै सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। संविधानअनुकूल कानुन परिमार्जन, उद्योगमैत्री नीति निर्माण, सार्वजनिक खरिदमा स्थानीय उत्पादनलाई प्राथमिकता तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडललाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उनको सुझाव थियो । महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले वर्तमान आर्थिक मन्दीका कारण घरेलु तथा साना उद्योग गम्भीर रूपमा प्रभावित भएको उल्लेख गर्दै उद्योग क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने बताए। उनले लघु, घरेलु तथा साना उद्योगीहरूको हकहित संरक्षण, रुग्ण उद्योगको पुनरुत्थान तथा उद्योगमैत्री नीति निर्माणका लागि महासंघले निरन्तर सरकारसँग पहल गर्दै आएको जानकारी दिए । अध्यक्ष सिंहका अनुसार हाल देशभर सञ्चालनमा रहेका लघु तथा साना उद्योगहरूले ३२ देखि ४० लाख जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेका छन् । महासंघले २०४७ सालदेखि लघु, घरेलु तथा साना उद्यमीहरूको हकहित संरक्षण, उद्यमशीलताको प्रवद्र्धन तथा महिला उद्यमीहरूको नेतृत्व विकासका क्षेत्रमा निरन्तर काम गर्दै आएको उनले बताए । हाल महासंघको संगठन सातै प्रदेश, ७७ वटै जिल्ला तथा ३०० भन्दा बढी स्थानीय तहमा विस्तार भइसकेको छ।

केन्द्रीय महिला उद्यमी समितिअन्तर्गत सातै प्रदेश, ६२ जिल्ला तथा विभिन्न पालिकामा महिला उद्यमी समितिहरू सक्रिय रूपमा कार्यरत रहेको पनि उनले जानकारी दिए । देशभरका जिल्ला तथा प्रदेशबाट आएका प्रतिनिधिको सहभागिता रहेको दुईदिने महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नुका साथै भावी कार्ययोजना र नीतिगत दिशा तय गर्ने महासंघले जनाएको छ । महासंघ तथा केन्द्रीय महिला उद्यमी समितिको आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयनसँगै महिला उद्यमशीलता विकास, आर्थिक सशक्तीकरण, नवप्रवर्तन र बजार पहुँच विस्तारका विषयमा महत्वपूर्ण योजना तथा कार्यक्रम तय गरिने जनाइएको छ ।

उद्घाटन समारोहमा महासंघका सल्लाहकार वासु गिरी, वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष सन्तोष पाण्डे, महाधिवेशन व्यवस्थापन समितिका संयोजक मोहन कटुवाल, महासचिव डम्बरप्रसाद रेग्मी तथा महासंघ महिला उद्यमी समितिका अध्यक्ष रोशनी उपाध्यायलगायतले पनि घरेलु तथा साना उद्योगको संरक्षण, प्रवद्र्धन र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि नीतिगत सुधार र प्रभावकारी सरकारी सहयोग आवश्यक रहेको धारणा व्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्