नेभिगेशन
अर्थतन्त्र

नाडा अटो शो २०२६ का स्टल गोला प्रथामार्फत बाँडफाँट

काठमाडौं । आगामी भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने ‘नाडा अटो शो २०२६’ का लागि गोला प्रथामार्फत स्टल बाँडफाँट गरिएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो सचिवालयमा आयोजित कार्यक्रममा सहभागी कम्पनीहरूलाई स्टल बाँडफाँड गरेको हो । नाडाका अध्यक्ष, निवर्तमान अध्यक्ष, पदाधिकारी, केन्द्रीय कार्यसमिति सदस्य तथा प्रदर्शनीमा सहभागी कम्पनीका प्रतिनिधिहरूको उपस्थितिमा गोला प्रथा सम्पन्न गरिएको थियो । यसअघि नाडाले स्टलका लागि आवेदन दर्ता खुला गरेको थियो । गोला प्रथामार्फत १९ वटा प्यासेन्जर भेहिकल ब्रान्ड, १० वटा दुईपाङ्ग्रे सवारीसाधन, १७ वटा लाइट कमर्सियल भेहिकल तथा ७६ वटा साना स्टलअन्तर्गत ४५ वटा अटो कम्पोनेन्ट्स कम्पनी लाई स्टल आवंटन गरिएको नाडाले जनाएको छ । नाडा अटो शो नेपालकै सबैभन्दा ठूलो र प्रतिष्ठित अटोमोबाइल प्रदर्शनी मानिन्छ । प्रदर्शनीमा सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा, लुब्रिकेन्ट, टायर, ब्याट्री तथा अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विभिन्न कम्पनी तथा संस्थाहरूको सहभागिता रहनेछ । यस वर्ष आयोजना हुन लागेको प्रदर्शनी नाडा अटो शोको १८औँ संस्करण हो । नाडाका महासचिव मिलनबाबु मल्लले अटो शोमा सहभागी सबै कम्पनीप्रति आभार व्यक्त गर्दै प्रदर्शनीलाई सफल बनाउन सबै पक्षको सहयोग र सहभागिताले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले नाडा अटो शोले अटोमोबाइल उद्योगको प्रवद्र्धन, नयाँ प्रविधिको प्रदर्शन तथा व्यवसाय विस्तारका लागि प्रभावकारी मञ्चका रूपमा स्थापित हुँदै आएको पनि बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्