नेभिगेशन
अर्थतन्त्र

अलपत्र सडक निर्माण चाँडो सम्पन्न गर्न पूर्वाधार विकास मन्त्रीको ध्यानाकर्षण

काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिकामा निर्माणाधीन दुई रणनीतिक सडक वर्षौंदेखि अलपत्र पर्दा स्थानीयवासीले सास्ती खेप्नुपरेको भन्दै पूर्वाधार विकासमन्त्री सुनील लम्सालको ध्यानाकर्षण गराइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शुक्लागण्डकी नगर समितिले निर्माणाधीन पूर्वाधार आयोजनाको अवलोकनका क्रममा दुलेगौंडा पुगेका मन्त्री लम्साललाई भेट गरी दुलेगौंडा–हर्कपुर मोटरमार्ग र दुलेगौंडा–लामागाउँ सडक स्तरोन्नति आयोजनाको निर्माण कायचाँडोभन्दा चाँडो सम्पन्न गराउन आवश्यक पहल गर्न आग्रह गरेको हो । रास्वपा शुक्लागण्डकी नगर समितिका सभापति हरिबहादुर खड्काले लामो समयदेखि सडक निर्माण अधुरै रहँदा स्थानीय बासिन्दाले दैनिक सास्ती खेप्नुपरेको बताए । उनले यी सडकको विषय स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा समेत प्रमुख जनचासोको विषय बन्दै आएको उल्लेख गर्दै अब थप ढिलाइ नगरी निर्माण सम्पन्न हुने वातावरण बनाउन सरकार गम्भीर हुनुपर्ने बताए ।

गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ कार्यक्रमअन्तर्गत निर्माण भइरहेको दुलेगौंडा–हर्कपुर मोटरमार्गको ठेक्का २०७६ कात्तिक ४ गते सम्झौता भएको थियो । २०७८ माघ १६ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि पटक–पटक म्याद थप्दा पनि सडक निर्माणले उल्लेख्य गति लिन सकेको छैन ।

नगर समितिले वर्षायाममा सडक हिलाम्मे र हिउँदमा अत्यधिक धुलाम्मे हुने भएकाले स्थानीयवासी, विद्यार्थी, ज्येष्ठ नागरिक, बिरामी तथा दैनिक आवतजावत गर्ने यात्रु प्रत्यक्ष रूपमा प्रभावित हुँदै आएको जनाएको छ । निर्माण कम्पनीको लापरबाहीका कारण आयोजना वर्षौंदेखि अधुरो रहेकाले हालको ठेक्का सम्झौता रद्द गरी ठेकेदार कम्पनीमाथि कानुनी कारबाही तथा जरिवाना गरेर नयाँ ठेक्का प्रक्रियामार्फत निर्माण कार्य अघि बढाउनुपर्ने माग पनि गरिएको छ ।

त्यसैगरी, विश्व बैंकको सहयोगमा २७ करोड ३४ लाख ७९ हजार ८३४ रूपैयाँ लागतमा निर्माण भइरहेको दुलेगौंडा–लामागाउँ सडक स्तरोन्नति आयोजना पनि निर्धारित समयमै सम्पन्न हुन नसकेको नगर समितिल जनाएको छ । २०८२ असार २३ गतेभित्र सक्ने लक्ष्य रहेको आयोजना ठेकेदारको ढिलासुस्तीका कारण अझै अलपत्र अवस्थामा रहेको भन्दै निर्माण कार्य तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिन मन्त्री लम्सालसँग आग्रह गरिएको छ । ध्यानाकर्षणपत्र बुझ्दै पूर्वाधार विकासमन्त्री लम्सालले स्थानीयको गुनासोप्रति आफू गम्भीर रहेको बताउँदै निर्माणमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । स्थानीयवासीले यी दुवै सडक समयमै सम्पन्न नहुँदा यातायात आवागमन, शिक्षा, स्वास्थ्य सेवा तथा स्थानीय आर्थिक गतिविधिसमेत प्रभावित भएको जनाउँदै निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाउन माग गर्दै आएका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्