नेभिगेशन
अर्थतन्त्र

डिजिटल प्लेटफर्मतर्फ विज्ञापन बजार सर्दा परम्परागत मिडिया संकटमा

काठमाडौं । सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको बढ्दो प्रभावसँगै परम्परागत सञ्चारमाध्यमको विज्ञापन बजार खुम्चिँदै गएको भन्दै विज्ञापन क्षेत्रका सरोकारवालाले डिजिटल रूपान्तरणसँगै नवप्रवर्तन र स्वनियमनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाल विज्ञापन संघ (आन) ले आफ्नो ३६औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले बदलिँदो मिडिया परिदृश्य र विज्ञापन व्यवसायका चुनौती तथा सम्भावनाबारेको छलफल सहभागी सरोकारवालाले यस्तो धारणा राखेका हुन् ।

‘परिवर्तनशील मिडिया परिदृश्य र निरन्तर रूपान्तरणकारी विज्ञापन व्यवसाय’ विषयक कार्यक्रममा फेसबुक, इन्स्टाग्राम, टिकटकलगायत डिजिटल प्लेटफर्ममा उपभोक्ताको आकर्षण बढेसँगै टेलिभिजन, रेडियो र छापा माध्यममा आउने विज्ञापनको हिस्सा घट्दै गएको र यसले विज्ञापन बजारमा असन्तुलन सिर्जना गरेको धारणा उनीहरूले राखेका छन् । छलफलका क्रममा नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई), डाटामा आधारित मार्केटिङ तथा डिजिटल मार्केटिङका लागि आवश्यक दक्ष जनशक्तिको अभाव, साथै शहरी र ग्रामीण क्षेत्रबीचको डिजिटल साक्षरताको अन्तर विज्ञापन उद्योगका प्रमुख चुनौतीका रूपमा औँल्याइएको थियो ।

सहभागीहरूले चुनौतीका बाबजुद नेपाली विज्ञापन एजेन्सी र व्यवसायीहरू डिजिटल तथा इन्फ्लुएन्सर मार्केटिङतर्फ तीव्र रूपमा आकर्षित हुँदै स्थानीय भाषा, संस्कृति र बजार सुहाउँदो सिर्जनात्मक सामग्री निर्माणमा सक्रिय बनेको उल्लेख गरे । आर्टिफिसियल इन्टेलिजेन्स र डीपफेकजस्ता प्रविधिको प्रयोगसँगै भ्रामक विज्ञापनको जोखिम बढ्न सक्ने भएकाले विज्ञापन क्षेत्रमा आचारसंहिता, स्वनियमन र जिम्मेवार प्रविधि प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा पनि वक्ताहरूले जोड दिए । कार्यक्रममा एडसारो नेपालका अध्यक्ष सुजन अधिकारीले कम्पनीले विकास गरेको डिजिटल विज्ञापन वितरण तथा मापन प्रणालीबारे प्रस्तुति दिएका थिए । यो प्रविधिले विज्ञापन वितरणलाई थप प्रभावकारी, पारदर्शी र मापनयोग्य बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरियो ।  

टेक्नोलोजीखबर डटकमका प्रधान सम्पादक अनुज राज ढुङ्गेलले सहजीकरण गरेको प्यानल छलफलमा नेपाल विज्ञापन संघका कार्यकारी सदस्य दीपेन्द्र टण्डन, बाह्रखरीका प्रधान सम्पादक प्रतीक मान प्रधान, डिजिटल विज्ञापन विज्ञ कश्यप शाक्य तथा सारस बेभरेज (रेडबुल नेपाल) का सेल्स एन्ड मार्केटिङ प्रमुख निर्भिक प्रधान सहभागी थिए । नेपाल विज्ञापन संघका अध्यक्ष सुदीप थापाले विज्ञापन उद्योगमा प्रविधिमैत्री रूपान्तरण अपरिहार्य बन्दै गएको उल्लेख गर्दै नवीन प्रविधिको जिम्मेवारपूर्ण प्रयोगले विज्ञापन उद्योगसँगै समग्र सञ्चार क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्