नेभिगेशन
अर्थतन्त्र

मौद्रिक नीति अर्थतन्त्र चलायमान बनाउन केन्द्रित हुनुपर्छः विदुषी राणा

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमा समेटिनुपर्ने विषयका सम्बन्धमा संसदको अर्थ समितिले विज्ञ तथा सरोकारवालाहरूसँग छलफल गरेको छ ।

छलफलमा निजी क्षेत्रका प्रतिनिधि, बैंकर र पूर्व गभर्नरहरूले मुलुकको वर्तमान आर्थिक सुस्ततालाई चिर्न आगामी मौद्रिक नीति लचिलो र उत्पादनमुखी हुनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका सम्बन्धमा सांसद, सरोकारवाला र विज्ञहरूबीच भएको छलफलमा उनीहरूले सो विचार राखेका हुन् ।

छलफलका क्रममा समिति सदस्य विदुषी राणाले नेपालको बैंकिङ प्रणालीलाई सुरक्षितमात्र होइन, अर्थतन्त्रलाई चलायमान बनाउने दिशामा पनि केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याइन्। उनने भनिन्, “हामीलाई केवल सुरक्षित बैंकहरू मात्र होइन, चलायमान उद्योग, रोजगारी पाएका युवा र बढ्दो अर्थतन्त्र पनि चाहिएको छ ।” उनले आगामी मौद्रिक नीति थप उदार, निजी क्षेत्रमैत्री तथा कर्जा प्रवाह र आर्थिक गतिविधि बढाउने खालको हुनुपर्ने सुझाव दिइन् । 

उनले नियमन आवश्यक भए पनि अत्यधिक नियमनले अर्थतन्त्रलाई नै संकुचित बनाउन सक्ने भएकाले वित्तीय स्थायित्व र आर्थिक वृद्धिबीच उचित सन्तुलन कायम गर्नुपर्नेमा जोड दिइन् । समितिले नेपाल उद्योग वाणिज्य महासंघ, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल, नेपाल बैंकर्स संघ लगायतसँग छलफल गरेको हो । छलफलमा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकहरुको पनि उपस्थिति रहेको छ । सरोकारवालासँगको छलफल सकेपछि केही दिनमा समितिले नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ अधिकारीलाई नै बोलाएर छलफल गर्ने बताएको छ ।

छलफलका क्रममा  राष्ट्र बैंकले असारको अन्तिम हप्ताभित्रै आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्