नेभिगेशन
राजनीति
रास्वपाको संशोधित विधान

सभापतिलाई नमाने संसदीय दलको नेता पदमुक्त हुने

काठमाडौं । प्राविधिक कारणले निर्वाचनको मुखमा वालेन्द्र शाहलाई वरिष्ठ नेता बनाउँदै पार्टी प्रवेश गराएर अभूतपूर्व जनमतसँगै सत्तामा पुगेको दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई शक्ति सन्तुलनमा राख्न नेताहरूले वैधानिक व्यवस्था गरेका छन् ।
पार्टी सभापति सरकारमा जान रोकिनुपर्दा संसदीय दलका नेतालाई नियममा कस्ने व्यवस्था पार्टीको विधानमा गरिएको हो । रास्वपाले आफ्नो संशोधित विधानमा संसदीय दलका नेताले पार्टी सभापतिको मार्गदर्शन नमाने पदमुक्त गर्न सकिने व्यवस्था राखेको छ । असार ७–१३ चितवनमा भएको पहिलो महाधिवेशनबाट पारित संशोधित विधान पार्टीले सोमबार सार्वजनिक गरेको हो । 
रास्वपाको वेबसाइटमार्फत सार्वजनिक संशोधित विधानमा सभापतिको निर्देशन पालना नगरेमा संसदीय दलको नेता स्वतः पदमुक्त हुने नयाँ प्रावधान राखिएको छ । संशोधित विधानको दफा ११ (क) मा पार्टी सभापतिलाई संगठनको सर्वोच्च कार्यकारी प्रमुख, वैचारिक मार्गनिर्देशक र पार्टी एकताको प्रतीकका रूपमा परिभाषित गरिएको छ । यही दफाको उपदफा ‘अ’ को ३ मा पार्टी सभापति संसदीय दलको नेता नरहेको अवस्थामा संसदमा पार्टीको आधिकारिक नीति, सिद्धान्त, निर्णय र दृष्टिकोणको प्रभावकारी प्रतिनिधित्व तथा कार्यान्वयनका लागि संसदीय दललाई आवश्यक नीतिगत मार्गनिर्देशन प्रदान गर्ने अधिकार दिइएको छ ।
विधानअनुसार यस्तो मार्गनिर्देशनको पालना गर्नु संसदीय दल, संसदीय दलका नेता तथा सदस्यहरूको अनिवार्य कर्तव्य हुने व्यवस्था गरिएको छ । 
यसैगरी, विधानको दफा ६८ मा संसदीय दलको नेतालाई पदमुक्त गर्ने र प्रत्याह्वान सम्बन्धी व्यवस्था छ । जसको उपदफा १ मा संसदीय दलको नेताको पद स्वतः रिक्त भएको मानिने व्यवस्था छ ।
यसै उपदफाको खण्ड ‘ङ’ मा उल्लेख छ, ‘यस विधानको ११ (क) को अ को ३ अनुसार पार्टी सभापतिले दिएको नीतिगत मार्गनिर्देशन पालना नगरेमा ।’ 
हाल रास्वपाको सभापतिमा रवि लामिछाने र संसदीय दलको नेता बालेन शाह छन् । रास्वपाको संशोधित यो विधानको व्यवस्थाअनुसार सभापति लामिछानेले आफ्नो नीतिगत निर्देशन पालना नभएको ठानेमा रास्वपा दलको नेताका हैसियतमा हाल प्रधानमन्त्री रहेका शाहलाई बालेनलाई संसदीय दलको नेताबाट बर्खास्त गर्न सक्न बाटो खुला राखेको छ । 
संविधानको धारा ७६ (१) अनुसार राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मात्र प्रधानमन्त्री नियुक्त गर्ने भएकाले दलको नेताबाट हटाइएमा प्रधानमन्त्री पद स्वतः रिक्त हुने व्यवस्था छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्