नेभिगेशन
अर्थतन्त्र

एडीबीले नेपाललाई २५ अर्ब १७ करोड ऋण दिने, सुरक्षित खानेपानी सेवा विस्तार र ढल व्यवस्थापनमा खर्च गरिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई ११५.५० मिलियन अमेरिकी डलर (करिब २५ अर्ब १७ करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराएको छ । अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा अर्थमन्त्रालय र एडीबीबीच दुईवटा सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।  

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एडीबीका अध्यक्ष मासातो कान्डाको उपस्थितिमा नेपालको तर्फबाट अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय तथा एडीबीको नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आर्नो कुश्वाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार ‘इन्टिग्रेटेड वाटर सप्लाई एन्ड सिवरेज म्यानेजमेन्ट (सेक्टर) प्रोजेक्ट’अन्तर्गत प्राप्त हुने १७ अर्ब ५४ करोड ६७ लाख रुपैयाँ स्थानीय तहमा सुरक्षित खानेपानी सेवा विस्तार, ढल व्यवस्थापन प्रणाली सुदृढीकरण तथा आवश्यक पूर्वाधार निर्माणमा खर्च गरिनेछ । त्यसैगरी ‘साउथ एसिया सबरिजनल इकोनोमिक कोअपरेसन (सासेक) लजिस्टिक्स रिफम्र्स प्रोग्राम–सबप्रोग्राम २’ अन्तर्गत प्राप्त हुने करिब ५० मिलियन अमेरिकी डलर (करिब ७ अर्ब ६२ करोड ९० लाख रुपैयाँ) भन्सार कार्यप्रक्रियालाई आधुनिकीकरण गर्ने, लजिस्टिक्स सेवा सुधार गर्ने तथा व्यापार सहजीकरणका लागि बजेटरी सहयोगका रूपमा परिचालन गरिनेछ । सम्झौतापछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको विकासमा एडीबीले पु¥याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा विकास साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

एडीबीका अध्यक्ष मासातो कान्डाले नेपालसँगको करिब ६ दशक लामो सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाउँदै नेपालको विकास प्राथमिकता अनुरूप एडीबीको सहयोग निरन्तर रहने बताए । नेपाल र एडीबीबीच सन् १९६६ देखि विकास साझेदारी रहँदै आएको छ । ऊर्जा, सडक, खानेपानी, शिक्षा, कृषि, सहरी विकास तथा सार्वजनिक सेवा सुधारलगायतका क्षेत्रमा एडीबीले नेपाललाई निरन्तर सहुलियतपूर्ण ऋण, अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । समारोहमा नेपाल सरकार तथा एडीबीका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्