नेभिगेशन
अर्थतन्त्र

बजार भाउ तत्काल घटाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको निर्देशन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले निजी क्षेत्रका प्रमुख छाता संगठनका प्रतिनिधिलाई तत्काल बजार भाउ घटाउन कडा निर्देशन दिएकी छन् । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार आयोजित विशेष बैठकमा उनले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटिसकेकाले त्यसको प्रभाव नेपाली बजारमा पनि देखिनुपर्ने र सोहीअनुसार उपभोग्य वस्तुको मूल्य समायोजन गर्नुपर्ने बताइन् ।

बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, फलफूल तथा तरकारी व्यवसायी महासंघ तथा चामल, दाल र तेल व्यवसायी महासंघका अध्यक्ष तथा प्रतिनिधिहरू सहभागी थिए। छलफलका क्रममा व्यवसायीहरूले व्यवसाय सञ्चालनका क्रममा भोग्नुपरेका समस्या तथा सुझाव मन्त्रीसमक्ष राखेका थिए । व्यवसायीका धारणा सुनेपछि मन्त्री यादवले बजारमा देखिएको अस्वाभाविक मूल्यवृद्धिका कारण आम उपभोक्ता प्रत्यक्ष रूपमा प्रभावित भएको बताउँदै कुनै पनि बहानामा मूल्य घटाउने कार्यमा ढिलाइ नगर्न निर्देशन दिइन् ।

उनले नुन, खाने तेल, चामल, दालदेखि हरियो तरकारीसम्मका अत्यावश्यक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउँदै बजारको वास्तविक अवस्थाअनुसार तत्काल मूल्य समायोजन गर्न आग्रह गरिन् । उनले बजारलाई उपभोक्तामैत्री बनाउने विषयमा सरकार र प्रधानमन्त्री दुवैको विशेष चासो रहेको उल्लेख गर्दै उपभोक्ताले राहत महसुस गर्ने गरी निजी क्षेत्रले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताइन् । बैठकमा सहभागी निजी क्षेत्रका प्रतिनिधिहरूले पनि बजार मूल्यलाई यथासम्भव घटाउने विषयमा सकारात्मक प्रतिक्रिया दिएका छन् ।

उनीहरूले उपभोक्तालाई राहत पुग्ने गरी मूल्य समायोजन गर्न सरकारसँग सहकार्य गर्ने र आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएका छन् । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवहरू तथा आपूर्ति व्यवस्थापनसँग सम्बन्धित निकायका प्रमुखहरूको पनि उपस्थिति थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्