नेभिगेशन
अर्थतन्त्र

नबिलको ‘ग्रीन विक’ सम्पन्न, दिगो बैंकिङमा ५ वर्षमा अर्बौं लगानी

काठमाडौं । नबिल बैंकले दिगो बैंकिङको पाँचौं वार्षिकोत्सवका अवसरमा सञ्चालन गरेको साताव्यापी ‘नबिल ग्रीन विक–२०२६’ वृक्षारोपण कार्यक्रमसँगै सम्पन्न गरेको छ । बैंकले काठमाडौं महानगरसँग जोडिएको टोखा नगरपालिका–२ स्थित गले पार्कमा २०० वटा एभोकाडोका बिरुवा रोपेको जनाएको छ ।

बैंक र लुम्बिनी वल्र्ड पिस फोरम नेपालको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा रोपिएका बिरुवाको संरक्षण टोखा नगरपालिका–२ वडा कार्यालयले गर्नेछ । वृक्षारोपण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवाली, बैंकका कर्मचारी, स्थानीय बासिन्दा तथा वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठको सहभागिता रहेको थियो । कार्यक्रममा सीईओ ज्ञवालीले दिगो बैंकिङप्रतिको प्रतिबद्धतालाई व्यवहारमा उतार्ने उद्देश्यले वृक्षारोपण गरिएको बताउँदै वातावरण संरक्षणसँगै स्थानीय समुदायको आर्थिक समृद्धिमा पनि यसले योगदान पु¥याउने विश्वास व्यक्त गरे। उनले बिरुवा रोप्नु मात्र पर्याप्त नभई त्यसको संरक्षण र नियमित हेरचाहमा स्थानीय समुदायको सक्रिय भूमिका आवश्यक रहने उल्लेख गरे ।

बैंकका अनुसार ‘मानिस, पृथ्वी र समृद्धि’को अवधारणामा आधारित दिगो बैंकिङ अभियानअन्तर्गत सञ्चालन गरिएको ‘नबिल दिगो बचत खाता’ले ग्राहकलाई दिगो विकासका प्रयाससँग जोड्ने काम गरिरहेको छ । वातावरणीय तथा सामाजिक उत्तरदायित्वलाई प्रवद्र्धन गर्दै ग्राहकलाई दिगो विकासमा सहभागी गराउने उद्देश्यले उक्त योजना सञ्चालन गरिएको बैंकले जनाएको छ । सीईओ ज्ञवालीका अनुसार पछिल्लो पाँच वर्षमा दिगो बैंकिङ बैंकको प्रमुख रणनीतिक प्राथमिकताका रूपमा स्थापित भएको छ। यस अवधिमा बैंकले नवीकरणीय ऊर्जा, कृषि, सूक्ष्म, साना तथा मझौला उद्यम (एमएसएमई), महिला उद्यमशीलता, पर्यटन तथा स्वच्छ यातायातलगायत क्षेत्रमा उल्लेखनीय लगानी विस्तार गरेको छ । बैंकको तथ्यांकअनुसार नवीकरणीय ऊर्जामा ५१ अर्ब ८३ करोड रुपैयाँ, कृषि क्षेत्रमा ५४ अर्ब २८ करोड रुपैयाँ, एमएसएमईमा ४५ अर्ब ७७ करोड रुपैयाँ, महिला तथा महिला उद्यमी वित्तपोषणमा ४८ अर्ब ६० करोड रुपैयाँ, स्वच्छ यातायातमा १० अर्ब २८ करोड रुपैयाँ, पर्यटन क्षेत्रमा ११ अर्ब ८ करोड रुपैयाँ तथा डीडीएसएल कर्जाअन्तर्गत ५ अर्ब ८४ करोड रुपैयाँ लगानी गरिएको छ ।

उक्त लगानीबाट एक लाख १२ हजारभन्दा बढी रोजगारी सिर्जना भएको बैंकको दाबी छ, जसमा ३१ प्रतिशत महिलाको सहभागिता रहेको जनाइएको छ । बैंकले पछिल्लो पाँच वर्षमा सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत २५ करोड ६० लाख रुपैयाँ खर्च गरेको तथा ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’मार्फत एक हजार ५७७ उद्यमीलाई तालिम प्रदान गरेको जनाएको छ । बैंकका अनुसार नवीकरणीय ऊर्जा आयोजनामा गरिएको लगानीबाट चार वर्षमा करिब ३९ हजार ४५० टन कार्बन उत्सर्जन न्यूनीकरणमा सहयोग पुगेको छ। साथै, डिजिटाइजेसनमार्फत २० मेट्रिकटनभन्दा बढी कागज बचत हुनुका साथै वार्षिक करिब दुई लाख ६२ हजार ८०४ लिटर पानी बचत भएको दाबी गरिएको छ ।

बैंकले वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन (ईएसआरएम) प्रणालीलाई व्यवसायिक प्रक्रियामा समावेश गर्दै वातावरण, समाज र सुशासन (ईएसजी) सम्बन्धी अभ्यासलाई थप सुदृढ बनाउँदै लगेको जनाएको छ। हाल बैंकका कुल कर्मचारीमध्ये ३९.१५ प्रतिशत महिला रहेका छन् भने ५० जना महिलाले विभिन्न शाखा तथा रणनीतिक व्यवसायिक इकाइको नेतृत्व गरिरहेका छन् । हाल नबिल बैंकले देशभर २६६ शाखा र ३१८ एटीएममार्फत २५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। डिजिटल बैंकिङ सेवाअन्तर्गत ‘एनबैंक’ सञ्चालनमा ल्याएको बैंकले दिगो बैंकिङलाई आगामी दिनमा पनि प्राथमिकतामा राख्ने जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्