नेभिगेशन
अर्थतन्त्र
नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६

५५ ब्रान्ड र ४० बढी नयाँ सवारी सार्वजनिक गरिने

काठमाडौं । नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघ (नाइमा) ले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मा ५१ वटा स्टल, ५५ भन्दा बढी ब्रान्डको सहभागिता तथा ४० भन्दा बढी नयाँ सवारी तथा मोबिलिटी उत्पादन सार्वजनिक गरिने भएको छ । नाइमाले सोमबार पत्रकार सम्मेलन आयोजना गरी एक्स्पोका मुख्य कार्यक्रम तथा तयारीबारे जानकारी दिएको हो । दोस्रो संस्करणको एक्स्पो आगामी अगस्ट ११ देखि १६, २०२६ (साउन २६ देखि ३१, २०८३) सम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुँदैछ ।

नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनीका रूपमा आयोजना हुने एक्स्पोमा दुईपांग्रे, चारपांग्रे, व्यावसायिक सवारी, विद्युतीय तथा हाइब्रिड सवारी, मोबिलिटी प्रविधि, सेवा तथा सम्बन्धित उत्पादनहरू प्रदर्शन गरिने जनाइएको छ । कार्यक्रममा नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले संघ एक वर्षअघि २१ सदस्य कम्पनीबाट स्थापना भएको र हाल ३६ सदस्य कम्पनीमा विस्तार भएको जानकारी दिँदै यसले उद्योग क्षेत्रबाट नाइमाप्रति बढ्दो विश्वास र एकीकृत प्लेटफर्मको आवश्यकतालाई पुष्टि गरेको बताइन् । उनले नाइमाको दृष्टि ‘मोबिलिटीमार्फत समृद्धिको प्रवर्धन’ तथा उद्देश्य ‘सबैका लागि सहज मोबिलिटी’ रहेको उल्लेख गर्दै मोबिलिटी केवल यातायातको विषय नभई आर्थिक गतिविधि, रोजगारी, उद्यमशीलता, सार्वजनिक सेवा र समग्र आर्थिक विकाससँग प्रत्यक्ष जोडिएको बताइन् ।

वैद्यका अनुसार नाइमाले गत वर्षदेखि मोबिलिटी क्षेत्रको नीतिगत सुधारका लागि निरन्तर पहल गर्नुका साथै पहिलो संस्करणको एक्स्पो सफलतापूर्वक आयोजना गरेको, काठमाडौं उपत्यकाका १ हजार ६१० ट्राफिक प्रहरीलाई क्षमता अभिवृद्धि तालिम उपलब्ध गराएको तथा विभिन्न प्रदर्शनका क्रममा क्षति पुगेका सरकारी कार्यालयहरूको पुनर्निर्माणमा सहयोग गरेको छ । साथै, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था विभागसँग सहकार्य गर्दै ट्राफिक व्यवस्थापन, सडक सुरक्षा तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको उनले जानकारी दिइन् । उनले नाइमाले नियमित रूपमा नाइमा मोबिलिटी एक्स्पो र नाइमा मासिक मोबिलिटी संवाद सञ्चालन गरिरहेको तथा नाइमा मोबिलिटी जर्नल र क्षमता अभिवृद्धि तालिम कार्यक्रम समेत सुरु गरिसकेको बताइन् । एक्स्पोबाट प्राप्त टिकट आम्दानीको कम्तीमा १० प्रतिशत अनुसन्धान फेलोसिप र तालिम कार्यक्रमका लागि छुट्याइने तथा ती अनुसन्धानहरू नाइमा मोबिलिटी जर्नलमा प्रकाशित गरिने जानकारी पनि उनले दिइन् । उनका अनुसार आगामी दिनमा नाइमा मोबिलिटी सम्मेलन आयोजना गर्ने तथा विशेषगरी शिक्षा मन्त्रालय र नेपाल सरकारसँग सहकार्य गरी मोबिलिटी क्षेत्रमा सीप विकास र रोजगारी सिर्जनामुखी तालिम सञ्चालन गर्ने योजना रहेको छ ।

पत्रकार सम्मेलनमा सदस्य कम्पनीहरूको उच्च मागलाई ध्यानमा राख्दै व्यावसायिक सवारीसाधन र त्यससँग सम्बन्धित उद्योगका लागि छुट्टै मोबिलिटी एक्स्पो आयोजना गर्ने विषयमा समेत अध्ययन भइरहेको जानकारी दिइयो। प्रदर्शनीस्थलको सीमितताका कारण सबै इच्छुक कम्पनीलाई स्टल उपलब्ध गराउन नसकिएको उल्लेख गर्दै अध्यक्ष वैद्यले नेपालमा आधुनिक र फराकिलो प्रदर्शनी पूर्वाधार आवश्यक रहेको बताइन् । नाइमाका बोर्ड सदस्य सन्दीप शारडाले निजी क्षेत्र मुलुकको अर्थतन्त्रको महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै यस्ता प्रदर्शनीले लगानी प्रवर्धन, व्यवसाय विस्तार, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि बढाउन योगदान पुग्ने बताए । एक्स्पो तयारी समितिका संयोजक गौरव शारडाले गत वर्षको अनुभवलाई थप परिमार्जन गर्दै यस वर्षको प्रदर्शनीलाई अझ व्यवस्थित, समावेशी र आगन्तुकमैत्री बनाइने बताए। उनले मनसुनलाई ध्यानमा राखेर विशेष व्यवस्थापन गरिएको, अपाङ्गता भएका व्यक्तिहरूलाई सहज पहुँच सुनिश्चित गरिने तथा आगन्तुकका लागि नेपाल पुलिस क्लबमा पार्किङ सुविधा उपलब्ध हुने जानकारी दिए । उनका अनुसार राइड साझेदार पठाओ ले एक्स्पो अवधिभर भृकुटीमण्डप आउने–जाने यात्रामा छुट सुविधा दिनेछ भने युनियन पे को क्यूआर कोडमार्फत टिकट खरिद गर्दा नगद फिर्ता (क्यासब्याक) सुविधा उपलब्ध हुनेछ । यस वर्षको एक्स्पोमा नेपाल पुलिस क्लबको ब्लु पेभिलियनस्थित सभाहलमा निःशुल्क सिकाइ सत्रहरू पनि सञ्चालन गरिनेछ । ती सत्रमा विज्ञ, शिक्षाविद्, उद्योगी तथा पेशाकर्मीले मोबिलिटी, प्रविधि, सडक सुरक्षा, उपभोक्ता सचेतना, सीप विकास, रोजगारी तथा नेपालको मोबिलिटी क्षेत्रको भविष्यजस्ता विषयमा प्रस्तुति दिनेछन् ।

सहप्रायोजक ग्लोबल आइएमई बैंक का डेपुटी प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले नेपालको सबैभन्दा ठूलो मोबिलिटी एक्स्पोसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउँदै एक्स्पोमा विशेष बैंकिङ तथा सवारी कर्जा सुविधा उपलब्ध गराइने जानकारी दिए । त्यसैगरी, पेय पदार्थ साझेदार रेड बुल नेपाल का मार्केटिङ प्रमुख श्रय कृष्ण श्रेष्ठले एक्स्पो अवधिभर विभिन्न आकर्षक कार्यक्रम सञ्चालन गरिने जानकारी दिँदै नाइमाले तालिम, जनचेतना तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा गरिरहेको कार्यको प्रशंसा गरे । नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले नाइमा एक्स्पोलाई केवल प्रदर्शनी मात्र नभई सिकाइ, नवप्रवर्तन र सहकार्यको साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए ।

नाइमाले परिवार, विद्यार्थी, व्यवसायी, उद्यमी, नीति निर्माता, सञ्चारकर्मी तथा आम नागरिकलाई आगामी साउन २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मा सहभागी भई नेपालको सबैभन्दा ठूलो मोबिलिटी प्रदर्शनीको हिस्सा बन्न आग्रह गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्