काठमाडौं । चालु आर्थिक वर्ष (२०८२÷८३) को तेस्रो त्रैमाससम्म निर्माण सामग्री तथा श्रमको समग्र लागतमा पुनः वृद्धि देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘निर्माण सामग्रीको लागत मूल्य सूचकांक’ अनुसार निर्माण क्षेत्रसँग सम्बन्धित सूचकांकले पछिल्ला महिनामा निर्माण लागत पुनः बढ्दो क्रममा रहेको देखाएको हो ।
विशेषगरी इँटा, सिमेन्ट, विद्युतीय तार, एल्युमिनियम, ग्याबियन तार र बिटुमिनजस्ता प्रमुख निर्माण सामग्रीको मूल्य बढेकाले सरकारी तथा निजी दुवै क्षेत्रका निर्माण आयोजनाको लागतमा वृद्धिमा थप दबाब परेको छ । निर्माण सामाग्री तथा श्रम लागत महँगो हुँदै जाँदा त्यसको धक्का निर्माण क्षेत्रमा लागेको छ । ठेक्का सम्झौता हुँदा सस्तो रहेका निर्माण सामाग्रीको मूल्यवृद्धिले निर्माण व्यवसायीको काममा पनि प्रभाव पारिरहेको छ । समग्र निर्माण लागत सूचकांक १५२.१ बिन्दुबाट बढेर १५७.६ बिन्दु पुगेको छ । यो अघिल्लो त्रैमासको तुलनामा ३.६० प्रतिशत तथा गत आर्थिक वर्षको यही अवधिको तुलनामा २.४३ प्रतिशतले बढी हो । तथ्यांकअनुसार निर्माण सामग्रीको मूल्यमा श्रमिकोभन्दा तीव्र वृद्धि देखिएको छ ।
निर्माण सामग्रीको समग्र सूचकांक १३१.६ बाट बढेर १३८.६ पुगेको छ, जसमा त्रैमासिक आधारमा ५.३३ प्रतिशत तथा वार्षिक आधारमा २.१९ प्रतिशतको वृद्धि भएको छ । श्रमिकको पारिश्रमिक सूचकांक भने २०१.१ बाट २०३.० पुगेको छ, जसमा त्रैमासिक वृद्धि ०.९१ प्रतिशत र वार्षिक वृद्धि २.८१ प्रतिशत रहेको छ । निर्माण सामग्रीमध्ये इँटाको मूल्य सबैभन्दा धेरै रूपमा बढेको छ । इँटाको मूल्य सूचकांक १३४.७ बाट बढेर १४७.२ पुगेको छ । यो एकै त्रैमासमा ९.३३ प्रतिशत तथा वार्षिक रूपमा १३.४१ प्रतिशतको वृद्धि हो । यससँगै इँटा, ढुंगा र कंक्रिट समूहको समग्र सूचकांक पनि ६.७४ प्रतिशतले बढेको छ । ढुंगाको मूल्य २.२३ प्रतिशतले बढ्दा कंक्रिटको मूल्य भने अघिल्लो वर्षको तुलनामा २.७८ प्रतिशतले घटेको देखिएको छ । निर्माणमा व्यापक प्रयोग हुने सिमेन्टको मूल्य पनि फेरि बढ्न थालेको छ । सिमेन्टको सूचकांक १००.४ बाट बढेर १०५.५ पुगेको छ । यो अघिल्लो त्रैमासको तुलनामा ५.०४ प्रतिशत तथा वार्षिक रूपमा १.३० प्रतिशतको वृद्धि हो ।
यस्तै, बालुवाको मूल्य ३.२३ प्रतिशत, एल्युमिनियम ६.९१ प्रतिशत, ग्याबियन तार ८.९४ प्रतिशत, बिटुमिन ६.४१ प्रतिशत तथा विद्युतीय सामग्री तथा सिसाको मूल्य क्रमशः ३.६७ प्रतिशत र ३.८६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै मूल्य वृद्धि विद्युतीय तारमा देखिएको छ । विद्युतीय तारको सूचकांक १५९.३ बाट बढेर १७०.२ पुगेको छ । यसमा त्रैमासिक रूपमा ६.८५ प्रतिशत र वार्षिक रूपमा २४.८९ प्रतिशतको वृद्धि भएको छ । जीआई पाइप तथा फिटिङको मूल्य पनि २.५० प्रतिशतले बढेको छ भने पोलिथिन पाइप तथा फिटिङमा ४.३७ प्रतिशतको वृद्धि भएको तथ्यांकले देखाएको छ । केही निर्माण सामग्रीको मूल्य भने घटेको छ । काठको मूल्य वार्षिक रूपमा ५.५९ प्रतिशतले घटेको छ ।
फलामे डण्डी तथा बिलेटको मूल्य क्रमशः १.५७ प्रतिशत र २.४४ प्रतिशतले घटेको छ । टायलको मूल्य ९.०७ प्रतिशत, ह्युम पाइप १०.०१ प्रतिशत, जस्तापाता १.६० प्रतिशत, माटो २.९८ प्रतिशत तथा मार्बल–टायल समूह २.३४ प्रतिशतले सस्तो भएको देखिएको छ । श्रमतर्फ सबै वर्गका कामदारको पारिश्रमिकमा वृद्धि कायम रहेको छ । पेन्टरको पारिश्रमिक वार्षिक रूपमा ५.९८ प्रतिशतले बढेको छ, जुन सबैभन्दा उच्च वृद्धि हो । उपइन्जिनियरको पारिश्रमिक ३.६६ प्रतिशत, सुपरभाइजर ३.०८ प्रतिशत, मजदुर २.९७ प्रतिशत, कार्पेन्टर २.४७ प्रतिशत, इन्जिनियर २.४२ प्रतिशत, इलेक्ट्रिसियन २.२९ प्रतिशत तथा मिस्त्रीको पारिश्रमिक २.२८ प्रतिशतले बढेको छ ।