नेभिगेशन
राजनीति
रास्वपामा सांसदहरूलाई सचेतकको निर्देशन

‘पहिले विषय हामीलाई बताउनु, अनि मात्रै बोल्नु’

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरूले संसद्मा बोल्ने विषय एक दिन अगाडि नै सचेतकहरूलाई पठाउन सूचीत गरेको छ । मंगलबार सचेतक क्रान्तिशिखा धितालले सांसदहरूलाई परिपत्र गर्दै संसद्मा बोल्ने विषय आफू र अर्का सचेतक प्रकाशचन्द्र परियारलाई पठाउन निर्देशन दिएकी हुन् । 
‘अबदेखि शून्य समय तथा विशेष समयमा प्रस्तुत गर्ने आफ्नो सामग्री अनिवार्य रूपमा मलाई (क्रान्तिशिखा) तथा सचेतक प्रकाशचन्द्र परियारज्यूलाई एक दिन अगाडि नै पठाइदिनुहुन अनुरोध गर्दछु । भोलि शून्य समयमा बोल्ने माननीय सदस्यज्यूहरूले आफ्नो सामग्री कृपया आजै पठाइदिनुहोला,’ उनको परिपत्रमा भनिएको छ । 
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपाकै सांसदहरूले सरकारको आलोचना गरेका थिए । दोलखाका रास्वपा सांसद जगदीश खरेलले प्रधानमन्त्रीको मात्र गरिमा जोगिएर नपुग्ने भन्दै सांसदहरूको पनि गरिमा जोगिनुपर्ने भन्दै सरकारप्रति असन्तुष्टि पोखेका थिए । ‘सुशासन कहाँ छ ? कहिलेबाट हामी सुशासन तयार गर्छौ ?’ सांसद खरेलले भनेका थिए,‘प्रधानमन्त्रीको मात्र गरिमा बचेर यो सरकार रहनेवाला छैन । हाम्रो पनि गरिमा बच्नुपर्छ ।’ अर्का रास्वपा सांसद रमेश प्रसाईले पनि कर्णालीमा गाडी दुर्घटनाको विषयमा गृहमन्त्रीसँग जवाफ मागेका थिए । सदनमा सर्वाधिक संख्या रास्वपाको छ, तर उनीहरू आफ्नो सरकार भएकाले आफ्ना क्षेत्रका जनचासो, खाँचो र असन्तुष्टिमा खुलेर बोल्न पाउने अवस्थामा छैनन् । विपक्षका सांसदहरू आफ्नो पालोमा सरकारप्रति रोष पोखिरहँदा रास्वपाका सांसद सदनमा चुप बस्नु परेको छ । आफ्ना मन्त्री र सांसदले बोल्दा टेबुल ढ्याप ढ्याप पार्नुबाहेक अरु खास काम देखाउन सकेका छैनन् । 
सरकारसँगको असन्तुष्टिमा पनि पार्टी अनुशासनका कारण चुप बस्नु परेको सकस सांसदहरूमा कुनै रुपमा बाहिर आउने सम्भावना उच्च बन्दैछ । सोमबार जस्तो बोल्न थाले अवस्था असहज आउनसक्ने आकलन गर्दै रास्वपा नेताहरूले आफ्ना सांसदलाई अनुशासनको पाठ पढाउने जुक्ति निकालेका हुन् ।  
उसो त, सोमबार सचेतक धिताल स्वयंले सुकुम्वासी व्यवस्थापनको विषयलाई सामाजिक सञ्जालमा आलोचना गरेकी थिइन् । अर्की सांसद ज्वाला संग्रौलाले पनि नियुक्तिहरूमा परिवारवाद हावी भएको भन्दै सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेकी थिइन् । 
संसद्देखि सामाजिक सञ्जालसम्म आधा दर्जन बढी रास्वपाकै सांसदले सरकारको आलोचना गरेको भोलिपल्टै संसद्मा सांसदहरूलाई बोल्ने एक दिनअघि आफ्नो कुरा अनिवार्य देखाउन उर्दी  गरिएको हो । यसलाई सांसदहरूलाई आफूलाई लागेको विषय सदनमा उठाउन पाउने विशेषाधिकारमाथि रोक लगाउन खोजिएको भन्दै रास्वपाका केही सांसद असन्तुष्ट देखिएका छन् । 
सचेतक परियारले भने सांसद्हरूको प्रस्तुति गुणस्तरीय र संसद्को प्रभावकारिता बढाउन समन्वय गर्ने कुरा गरिएको भन्दै पार्टीले  सांसदको विशेषाधिकार नियन्त्रण गर्न नखोजिएको बताए । 
त्यस्तै, धितालले परिपत्रमा प्रतिनिधिसभामा उपस्थित हुँदा सांस्कृतिक पोसाकबाहेक अन्य पोसाक लगाउने सांसदहरूलाई अनिवार्यरुपमा कोट लगाउन पनि भनेकी छन् ।  कोट र लोगो नलगाएको अवस्थामा सदनमा प्रवेश वा उपस्थिति हुन नदिने उनको चेतावनी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्