नेभिगेशन
स्वास्थ्य

अटिजम र बौद्धिक अपांगता सचेतना बढाउँदै महानगर

काठमाडौं । अटिजम र बौद्धिक अपांगता भएका बालबालिकाको शारीरिक, मानसिक तथा सामाजिक विकासमा सहयोग पु¥याउने उद्देश्यले काठमाडौं महानगरपालिकाले विशेष चासो दिएको छ । त्यस्ता बालबालिकालाई लक्ष्य गर्दै ३३१ जनालाई विशेष तालिम दिएको छ । अवानी फाउन्डेसनसँगको सहकार्यमा सञ्चालन गरिएको तालिममा विशेष अवस्थाका बालबालिकाका अभिभावक, स्वास्थ्य प्रवर्धन केन्द्रका स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको सहभागिता थियो ।
महानगरपालिकाका फोकल पर्सन पवन ठाकुरका अनुसार सामान्य बालबालिकाभन्दा फरक विकासात्मक अवस्था भएका बालबालिकालाई दबाब वा सजाय दिनेभन्दा उनीहरूको आवश्यकता बुझेर सहयोगी वातावरण निर्माण गर्ने उद्देश्यले तालिम चलाइएको हो । तालिममा व्यवहार विश्लेषक तथा प्रशिक्षक प्रज्ञा श्रेष्ठ प्रधानले अटिजम र बौद्धिक अपांगता रोग नभई विकाससम्बन्धी अवस्था भएकाले समयमै पहिचान, उचित सहयोग र निरन्तर अभ्यासमार्फत बालबालिकाको क्षमता विकास गर्न सकिने बताइन् ।
तालिमका क्रममा अटिजम भएका बालबालिकामा नाम बोलाउँदा प्रतिक्रिया नदिनु, आँखामा कम हेर्नु, बोलाइ ढिलो हुनु, सामाजिक अन्तरक्रियामा कम रुचि देखाउनु तथा एउटै व्यवहार दोहो¥याइरहनुजस्ता संकेत देखिन सक्ने जानकारी दिइयो । यस्तै बौद्धिक अपांगता भएका बालबालिकामा सिकाइको गति सुस्त हुनु, तर्क गर्न र समस्या समाधान गर्न कठिनाइ हुनु, दैनिक काममा उमेरअनुसार आत्मनिर्भर हुन नसक्नु तथा सामाजिक नियम बुझ्न समस्या देखिन सक्ने विषयमा पनि सहभागीलाई जानकारी गराइएको थियो ।

प्रशिक्षक प्रधानले यस्ता बालबालिकाको व्यवहारलाई समस्या नभई सञ्चारको माध्यमका रूपमा बुझ्नुपर्ने बताउँदै कराउने, धम्क्याउने, जिस्क्याउने वा अरूसँग तुलना गर्ने व्यवहारले समस्या झन् बढ्न सक्ने उल्लेख गरिन् । उनका अनुसार सरल र स्पष्ट भाषामा संवाद गर्ने, उत्तर दिन पर्याप्त समय दिने, दैनिक गतिविधिबारे पूर्वजानकारी गराउने तथा राम्रो व्यवहारको प्रशंसा गर्ने अभ्यासले बालबालिकाको विकासमा सकारात्मक प्रभाव पार्छ ।
तालिममा स्पिच थेरापी, अकुपेशनल थेरापी, व्यवहार व्यवस्थापन, विशेष शिक्षा तथा परिवार र विद्यालयबीचको समन्वयले बालबालिकाको सञ्चार, सिकाइ र सामाजिक सीप विकासमा पु¥याउने योगदानबारे सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण दिइएको थियो । साथै दृश्य सामग्रीको प्रयोग, नियमित खेलकुद, अभ्यास र क्षमताअनुसार जिम्मेवारी दिने तरिकाबारे पनि अभिभावकलाई जानकारी गराइएको थियो ।
तालिममा सहभागी अभिभावकहरूले यस्तो कार्यक्रमबाट आफूहरू निकै लाभान्वित भएको प्रतिक्रिया दिएका छन् । विशेष अवस्थाका बालबालिकाको हेरचाह गर्दा आवश्यक ज्ञानको अभावले धेरै कठिनाइ भोग्नुपरेको अवस्थामा महानगरपालिकाको पहल उपयोगी भएको उनीहरूको भनाइ थियो । उनीहरूले आधारभूत सीपसँगै थप विशेष सीपसम्बन्धी तालिमसमेत सञ्चालन गर्न महानगरपालिकासँग आग्रह गरेका छन् ।
विश्व स्वास्थ्य तथ्यांकअनुसार प्रत्येक एक सय जनामध्ये एक जनामा अटिजम स्पेक्ट्रम डिसअर्डर हुने अनुमान छ भने नेपालमा करिब २ लाख ५० हजारदेखि ३ लाख व्यक्तिमा यस्तो अवस्था रहेको अनुमान गरिएको छ । बौद्धिक अपांगताले पनि विश्वभरका १ देखि ३ प्रतिशत बालबालिकालाई असर गर्ने गरेको विभिन्न अध्ययनले देखाएका छन् । विज्ञहरूले समयमै पहिचान, परिवार, विद्यालय र समुदायको सहकार्य तथा नियमित थेरापी र सहयोगमार्फत यस्ता बालबालिकाको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउन सकिने बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य