काठमाडौं । मिनभवनस्थित निजामती कर्मचारी अस्पतालको फार्मेसी शाखामा फेला परेको भ्रष्टाचारको ठूलो मुद्दा विशेष अदालत पुगेको छ । आठ जना कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब २ करोड ९१ लाख रुपैयाँ बराबरको सार्वजनिक सम्पत्तिमा हानी–नोक्सानी पु¥याएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
त्यस्तै, आयोगले घूस लिएको रकमसहित पक्राउ परेका भूमि प्रशासन कार्यालय मनाङका एक कर्मचारी र नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गर्ने एक शिक्षकविरुद्ध पनि छुट्टाछुट्टै मुद्दा दायर गरेको छ । यसैबीच, स्टिङ अपरेसनमार्फत वन विभागका एक अधिकृतलाई घुसको रकमसहित पक्राउ गरी अनुसन्धान अघि बढाइएको आयोगले जनाएको छ ।
आयोगका अनुसार निजामती कर्मचारी अस्पतालको फार्मेसी शाखाका कर्मचारीहरूले औषधि आपूर्तिकर्तासँग मिलेमतो गरी औषधि आपूर्ति नै नभई बिल प्रविष्टि गर्ने, म्याद सकिएका औषधि फिर्ता नगर्ने, स्टक व्यवस्थापनमा लापरबाही गर्ने तथा सार्वजनिक सम्पत्तिमा हानि–नोक्सानी पु¥याउने कार्य गरेको पुष्टि भएको छ । अनुसन्धानबाट २ करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ ३७ पैसा बराबरको सार्वजनिक सम्पत्तिमा क्षति पुगेको निष्कर्ष निकाल्दै फार्मेसी युनिट इन्चार्ज दिनेश पन्त, दीपा ढुंगाना, लवेन्द्र कुँवर, दीपक सापकोटा, स्टोरकिपर विनोद पोखरेल, केशवराज न्यौपाने, शर्मिला श्रेष्ठ तथा फार्मेसी सहायक सन्दीप तिवारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम बिगो असुल, कैद तथा जरिवानाको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।
अख्तियारका अनुसार यो प्रकरण अस्पतालको फार्मेसी सञ्चालनमा देखिएको दीर्घकालीन अनियमिततासँग सम्बन्धित हो । अनुसन्धानका क्रममा फार्मेसी शाखाले प्रत्येक आर्थिक वर्षमा अनिवार्य रूपमा तयार गर्नुपर्ने औषधिको खरिद, बिक्री र मौज्दातको सन्तुलन परीक्षण (ट्रायल ब्यालेन्स) नगरेको, म्याद सकिएका औषधि आपूर्तिकर्तालाई फिर्ता नगरी सोधभर्ना नलिएको तथा धरौटी रकम फिर्ता गर्दा म्याद गुज्रिएका औषधि नरहेको भनी गलत जानकारी दिएको खुलेको छ । जसबाट सार्वजनिक सम्पत्तिमा ठूलो आर्थिक क्षति पुगेको निष्कर्ष आयोगको छ ।
यसैगरी, भूमि प्रशासन कार्यालय, मनाङका नायब सुब्बा ज्ञानराज कँडेलविरुद्ध ४० हजार रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियारका अनुसार उनले जग्गा रोक्का गर्ने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि बिगो बराबरको जरिवाना र कैद सजायको माग गरिएको हो ।
यस्तै सिरहाको धनगढीमाई नगरपालिकास्थित जनता माविका शिक्षक गुन्जेश्वर मण्डलविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अनुसन्धानका क्रममा उनले भारतका शैक्षिक संस्थाबाट आईएस्सी र स्नातक तह उत्तीर्ण गरेको भन्दै झुट्टा प्रमाणपत्र पेस गरी माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदमा नियुक्ति लिई तलब, भत्ता तथा अन्य सुविधा लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।
स्टिङ अपरेसनमा वन अधिकृत पक्राउ
उता, अख्तियारले स्टिङ अपरेसनमार्फत सिरहाको सव–डिभिजन वन कार्यालय, बन्दीपुरका कार्यालय प्रमुख (अधिकृत आठौं) रामकेवल राय यादवलाई घुसको रकमसहित पक्राउ गरेको छ । उद्योगका लागि ल्याइएको काठको रुजु गरी कागजातसहितको फाइल फिर्ता गर्न सेवाग्राहीसँग घूस मागेको सूचनाका आधारमा उनलाई सेवाग्राहीबाट १२ हजार रुपैयाँ लिइसकेको अवस्थामा मंगलबार नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिँदा उनीसँग स्रोत नखुलेको १ लाख ३३ हजार १२० रुपैयाँसमेत बरामद भएको थियो । उनीमाथि अनुसन्धान भइरहेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले बताएका छन् ।