नेभिगेशन
राजनीति
कांग्रेसभित्र अलग कार्यालय

नयाँ पार्टीको अभ्यास कि बार्गेनिङ ?

काठमाडौ । कांग्रेसभित्र संस्थापन र संस्थापनइतर समूहबीचको शक्ति संघर्ष थप चर्किएको छ । पार्टीभित्रको विवाद समाधान हुने संकेत नदेखिँदा संस्थापनइतर समूहले छुट्टै सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ । यही कदमले कांग्रेसभित्र नयाँ बहस जन्माएको छ – के यो नयाँ पार्टी गठनको पूर्वाभ्यास हो वा नेतृत्वसँगको राजनीतिक बार्गेनिङको रणनीति ?
चुनदेवीस्थित इतरसमूहको कार्यालय बुधबार बसेको बैठकमा पूर्वउपसभापति पूर्णबहादुर खड्काले पार्टीको वर्तमान अवस्थाप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै नेतृत्वमाथि नै एकताको जिम्मेवारी रहेको बताए । उनले सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मालाई संकेत गर्दै भने, ‘जसले एकता गराउनुपर्ने हो, उनीहरू नै धेरै टाढा छन् ।’ खड्काले पार्टी विभाजन आफूहरूका कारण नहुने दाबी गर्दै सभापतिले चाहे मात्रै पार्टी फुट्न सक्ने बताए ।  विगतमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाकै इच्छाले कांग्रेस विभाजन भएको उदाहरण दिँदै उनले अहिले आफू वा विमलेन्द्र निधिले चाहेर विभाजन सम्भव नरहेको धारणा राखे । 
उनले अझै पनि पार्टीभित्र एकताको ढोका बन्द नभइसकेको बताए । तर, त्यसका लागि बल सभापति गगन थापाको कोर्टमा रहेको खड्काको भनाइ छ । 
त्यस्तै, पूर्वउपसभापति विमलेन्द्र निधिले राष्ट्रिय भेलासम्म सहमति नजुटे अलग महाधिवेशन गर्नुपर्ने बताए । ‘पार्टीमा मेलमिलाप भएन भने राष्ट्रिय भेलापछि हामीले १५औं महाधिवेशन गर्नुपर्छ,’ निधिले भने । राष्ट्रिय भेला गर्नुपर्ने बताएका निधिले भेलाभन्दा अगाडि समूहका तर्फबाट नेतृत्व कसले गर्ने भन्ने टुंगिनुपर्नेमा जोड दिए । 
बैठकमा वीपी स्मृति दिवसको अवसर पारेर आगामी साउन ६ गते इतर पक्षको राष्ट्रिय भेला गर्ने सैद्धान्तिक सहमति भएको नेता मीन विश्वकर्माले बताए । उनले बैठकमा धारणा राख्ने अधिकांशले पार्टी एकताकै पक्षमा मत राखेको जानकारी दिए । ‘सबै साथीहरूको निष्कर्ष पार्टी एकतालाई पहिलो प्राथमिकता दिनुपर्छ भन्ने छ । सदस्यता नवीकरणको प्रक्रिया गगन थापा संयोजक हुँदा जसरी टुंगिसकेको थियो, त्यसलाई मान्यता दिएर अघि बढ्नुपर्छ । यदि त्यसो गर्न तयार नभएको अवस्थामा विकल्पमा जानुपर्छ भन्ने ढंगले धारणाहरू आएका छन्,’ उनले भने । 
संस्थापनइतर समूहले छुट्टै कार्यालय खोलेसँगै कांग्रेसभित्र नयाँ पार्टी गठनको सम्भावनाबारे चर्चा सुरु भएको छ । छुट्टै कार्यालय, छुट्टै संरचना निर्माणको प्रयास र राष्ट्रिय भेलाको तयारीले केही नेताहरूले यसलाई समानान्तर संगठन निर्माणको प्रारम्भिक अभ्यास भएको बताएका छन् । तर संस्थापनइतर पक्षका अधिकांश नेताहरू भने आफूहरूको उद्देश्य पार्टी विभाजन नभइ नेतृृत्वलाई वार्तामा ल्याउने र १५औं महाधिवेशनको प्रक्रिया निष्पक्ष बनाउन दबाब सिर्जना गर्ने रहेको बताउँछन् । उनीहरूले सदस्यता विवाद, महाधिवेशनको कार्यतालिका, केन्द्रीय समिति गठन र निर्णय प्रक्रियामा असन्तुष्टि जनाउँदै आएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्