नेभिगेशन
अर्थतन्त्र

कुमारी बैंक र जर्मन वित्तीय संस्थाबीच रणनीतिक साझेदारी

काठमाडौं । कुमारी बैंक लिमिटेडले जर्मनीको प्रतिष्ठित वित्तीय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसन (डिएसआइके) सँग रणनीतिक परियोजना सम्झौता गरेको छ । कुमारी बैंकले दिगो बैंकिङ अभ्यासलाई संस्थागत गर्दै हरित वित्त (ग्रीन फाइनान्स) प्रवद्र्धन गर्ने उद्देश्यले यो सम्झौता गरिएको हो । जर्मनीको संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (बिएमजेड) को आर्थिक सहयोगमा सञ्चालन भइरहेको एसियाका छनोट गरिएका मुलुकहरूमा वित्तीय क्षेत्रको सामाजिक तथा पारिस्थितिकीय रूपान्तरण कार्यक्रमअन्तर्गत यो साझेदारी गरिएको बैंकले जनाएको छ । सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनकी एसिया डिभिजन प्रमुख डा. इलोन्का रुल स्टर्नले हस्ताक्षर गरेका छन् । बैंकका अनुसार साझेदारीलाई दुई चरणमा कार्यान्वयन गरिनेछ । यसमार्फत हरित बैंकिङ अभ्यासलाई संस्थागत गर्नुका साथै दिगो वित्तीय प्रणालीको विस्तारमा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइनेछ । कुमारी बैंकका दिगो बैंकिङ विभाग प्रमुख अर्पण पौडेलले यो सम्झौता बैंकको दिगो बैंकिङ अभ्यासलाई अझ परिपक्व बनाउने महत्वपूर्ण कदम भएको बताए ।

उनका अनुसार साझेदार संस्थाबाट प्राप्त हुने प्राविधिक सहयोग तथा नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमीको मार्गदर्शनका आधारमा बैंकले आफ्ना बैंकिङ अभ्यासलाई अन्तर्राष्ट्रिय अनुभव र मापदण्डअनुसार थप परिष्कृत गर्दै लैजानेछ । यसबाट हरित वित्त प्रवद्र्धन, न्यून कार्बन उत्सर्जनमा योगदान, दिगो तथा उत्थानशील उद्यमशीलताको विकास र वातावरणमैत्री लगानी विस्तारमा सहयोग पुग्ने कुमारी बैंकको अपेक्षा छ ।

सम्झौताअनुसार डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनले ‘इएजी रिस्क रडार÷दीगो फाइनान्स कम्पास’ लगायतका आफ्नै प्राविधिक उपकरण तथा पद्धति उपलब्ध गराउनेछ । साथै, ग्रामीण क्षेत्र, साना तथा मझौला उद्यमको क्षमता अभिवृद्धि तथा हरित उद्यम विकासका लागि विभिन्न व्यवसाय विकास कार्यक्रमसमेत सञ्चालन गरिने जनाइएको छ ।

कुमारी बैंकले आफ्नो देशव्यापी सञ्जालमार्फत यस पहललाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने जनाएको छ । हाल बैंकले देशभर २८६ शाखा, ३०३ एटीएम, ४० एक्सटेन्सन काउन्टर, ४१ शाखारहित बैंकिङ एकाइ तथा एक हजार १०० भन्दा बढी पीओएस टर्मिनलमार्फत आधुनिक तथा डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले ग्राहक केन्द्रित सेवा, सुशासन र पारदर्शी कार्यशैलीलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै उक्त सहकार्यले नेपालको दिगो आर्थिक विकास, हरित वित्तीय प्रणालीको विस्तार तथा जलवायु उत्थानशील अर्थतन्त्र निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्