नेभिगेशन
अर्थतन्त्र

प्रधानमन्त्री र निजी क्षेत्रबीचको वार्ता फलदायीः विदुषी राणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विदुषी राणाले प्रधानमन्त्री बालेन शाह र निजी क्षेत्रबीच भएको वार्ता फलदायी भएको बताएकी छिन्। निजी क्षेत्रसँग प्रधामन्त्रीले गरेको वार्तापछि सञ्चारकर्मीलाई राणाले उद्योगी व्यवसायीले आफ्नो-आफ्नो क्षेत्रका समस्या खुलस्त रूपमा राखेको र प्रधानमन्त्रीले ती सबै विषय गम्भीरतापूर्वक सुनेको प्रतिक्रिया दिइन् । लगानी गर्ने कि नगर्ने भन्ने अन्योल हटाउने गरी सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण निर्माण गर्न छलफल केन्द्रित भएको उनले उल्लेख गरिन्।

'आजको छलफल निकै फलदायी भयो। सबै क्षेत्रका प्रतिनिधिहरूले आफ्ना समस्या र सुझाव राख्नुभयो। प्रधानमन्त्रीले सबै कुरा ध्यानपूर्वक सुन्नुभयो,' राणाले भनिन्। उनका अनुसार प्रधानमन्त्रीले निजी क्षेत्रलाई धरपकड गर्ने सरकारको कुनै उद्देश्य नरहेको स्पष्ट पारेका छन्। बरु निजी क्षेत्रलाई आर्थिक वृद्धि, रोजगारी सिर्जना, आयात प्रतिस्थापन, उत्पादन विस्तार र समग्र अर्थतन्त्र सुदृढीकरणको प्रमुख साझेदारका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। राणाले आगामी दिनमा पनि सरकार र निजी क्षेत्रबीच नियमित संवादलाई निरन्तरता दिइने र उद्योगी व्यवसायीका समस्याको समाधानका लागि सहकार्य बढाइने विश्वास व्यक्त गरिन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्