काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुम्वासीको मर्म नबुझेकाले सरकारको भुईंमा खुट्टा नै नभएको टिप्पणी गरेका छन् । पार्टी केन्द्रीय कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै उनले सरकार देश र जनताको हित विपरीत चलेको भन्दै फाँसीवादी यात्रामा अगाडि बढेको आरोप लगाए ।
सरकारको एक सय दिने काममा पनि उनले असन्तुष्टि जनाए । ‘पत्रकार भाइबहिनीहरूले प्रश्न सोध्ने गर्नुहुन्छ, १०० दिनको अहिलेको सरकारको कार्यकाल कस्तो लाग्यो भनेर । उत्तर देखिराख्नुभएको छ । सुकुम्वासीका फोटो आफैंले छापिराख्नुभएको छ । बालबालिकाका धरधरी रोएका फोटो आफैंले छापिराख्नुभएको छ,’ उनले भने, ‘सुकुम्वासी बस्तीहरूमा डोजर लगाएको तपाइँ आफैंले छापिराख्नुभएको छ, प्रसारित गरिराख्नुभएको छ ।’
उनले अहिले खुसी हुने ठाउँ कतै नभएको भन्दै सरकारमाथि कटाक्ष गरे । ‘नेपालमा अहिले खुसी हुनका लागि त अन्तर्राष्ट्रिय फुटबल गेम चलिराखेको छ, राति अबेरसम्म त्यो हेर्नुपर्ने हुन्छ । एकछिन खुसी हुने हो, नत्र खुसी हुने कतै ठाउँ छैन,’ ओलीले भने ।
त्यस्तै, उनले सरकारलाई अहिले उम्लिएको दूधसँग तुलना गर्दै सरकार उम्लिएर पोखिएको बताए । उम्लिएकाहरू स्थिर नहुने भन्दै ओलीले सरकारको उम्लाइ धेरै नटिक्ने संकेत पनि गरे । ‘म भन्छु, दूध एक पाथी जाने भाँडोमा ततायो भने भरी हुन्छ, भरी भएर पोखिन्छ । तर के त्यो साँच्चै भरी भएको हो त दूध ? होइन, त्यो उम्लिएको मात्रै हो ,’ उनले भने, ‘अहिले यो सरकार कहाँ ठेगानमा छ ? यसका खुट्टा कहाँ भुइँमा छन् ? यो उम्लिया छ । दूध भाँडाको पिँधमा छैन, भाँडा भरी भएको छ, थोरै भए पनि उम्लिया छ । भाँडा बाहिरसम्म पोखिएको छ उम्लेर ।’
पार्टी पुनर्गठन मस्यौदा बादल र शंकरलाई
एमालेले पार्टी पुनर्गठनसम्बन्धी मस्यौदा प्रतिवेदन तयार गर्ने जिम्मेवारी कार्यदलका संयोजक तथा उपाध्यक्ष रामबहादुर थापा बादल र सदस्य–सचिव तथा महासचिव शंकर पोखरेललाई दिएको छ । फागुन २१ गते सम्पन्न निर्वाचनको समीक्षा तथा पार्टी पुनःगठनका लागि गठित कार्यदलको बैठकपछि महासचिव पोखरेलले निर्णय सार्वजनिक गर्दै पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा थप एकताबद्ध बनाउने, पार्टी शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरणसहितको पुनर्गठनको कार्ययोजना तयार गर्ने प्रक्रिया अघि बढाइएको बताए ।
एमालेमा फागुन २१ को निर्वाचनमा पार्टी नराम्ररी पराजित भएपछि नेतृत्व परिवर्तनको बहस जारी छ । देशका विभिन्न १३ स्थानमा सञ्चालन गरिएको सुझाव संकलन कार्यक्रमबाट प्राप्त सुझावहरू समेटेर प्रतिवेदन तयार गरिने पोखरेलले जानकारी दिए ।
यस्तै, बैठकले उपाध्यक्ष तथा कार्यदल सदस्य विष्णु पौडेललाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएकोमा भत्र्सना गर्दैे तत्काल रिहाइको मागसमेत गरेको छ ।