नेभिगेशन
साहित्य

‘क्षितिजका रङहरू’ लोकार्पित

काभ्रे  । साहित्यकार महेन्द्र चालिसेको नियात्रा विधाको चौथो कृति ‘क्षितिजका रङहरू’ एक समारोहबीच लोकार्पण गरियो  । प्राज्ञ डा. दिनेशराज पन्त, वरिष्ठ साहित्यकार रोचक घिमिरे, समालोचक गोपी मैनाली, समीक्षक ठाकुर शर्मा भण्डारी, कृतिकार महेन्द्र चालिसे, साहित्यकार युवराज मैनाली र नव प्रतिभा इङ्लिस स्कुलका प्राचार्य होमप्रसाद चौलागाईँले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि डा. पन्तले लेखकले आफ्ना अनुभूतिलाई इमान्दारितापूर्वक प्रस्तुत गरेका कारण ‘क्षितिजका रङहरू’ पाठकको मन छुने कृति बनेको बताए । कृतिको भाषा, शैली र प्रस्तुति सहज, रोचक र प्रभावकारी रहेको उनको भनाइ थियो । 
वरिष्ठ साहित्यकार रोचक घिमिरेले महेन्द्र चालिसेलाई केवल रमेश विकलका छोरा वा विजय चालिसेका भाइका रूपमा नभई आफ्नै मौलिक लेखनबाट स्थापित साहित्यकारका रूपमा मूल्याङ्कन गर्नुपर्ने धारणा राखे । समालोचक गोपी मैनालीले यात्रामार्फत मानवीय संवेदना, श्रमको महत्त्व र मातृभूमिप्रतिको प्रेमलाई जीवन्त रूपमा प्रस्तुत गर्नु चालिसेको लेखकीय विशेषता भएको बताए । समीक्षक ठाकुर शर्मा भण्डारीले कृतिलाई यात्रा विवरणभन्दा माथि उठेको जीवनअनुभूतिको दस्तावेज भन्दै यसलाई पठनीय र सङ्ग्रहणीय कृतिका रूपमा चित्रण गरे ।
कृतिकार चालिसेले विदेशका अनेकौँ यात्रापछि पनि आफ्नो लेखनको केन्द्र नेपाल र नेपाली समाज नै रहेको बताए । पाठक, शुभेच्छुक र अग्रजहरूको माया तथा विश्वासले नै आफ्नो लेखनलाई निरन्तर ऊर्जा दिएको उल्लेख गर्दै उनले कृति लोकार्पणको श्रेय आफूलाई लेखनमा प्रेरित गर्ने युवराज मैनाली, रमेश खनाल र विमल पौडेललाई समर्पण गरे । कार्यक्रममा युवराज मैनाली, डा. विप्लव ढकाल, के.के. कर्माचार्य, तेजप्रकाश श्रेष्ठ, नवराज बजगाईं, महेश प्रसाई, दीपक पौडेल र विष्णुप्रसाद पौडेलले शुभकामना व्यक्त गरेका थिए । डा. गोपाल पौडेलले कविता तथा जुनु श्रेष्ठले गजल वाचन गरेका थिए ।
नव प्रतिभा इङ्लिस स्कुलका प्राचार्य होमप्रसाद चौलागाईँको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षिका दीपिका ढकालले गरेकी थिइन् । समारोहमा विभिन्न क्षेत्रका दुई सयभन्दा बढी साहित्यकार, स्रष्टा, सञ्चारकर्मी र साहित्यप्रेमीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
ईश्वरको मृत्यु

ईश्वरको मृत्यु

किशोरकिशोरीहरू पठनतर्फ फर्किए

किशोरकिशोरीहरू पठनतर्फ फर्किए

निएन्डरथलले पनि चित्र बनाएका थिए

निएन्डरथलले पनि चित्र बनाएका थिए