नेभिगेशन
साहित्य
प्राचीन मानव

निएन्डरथलले पनि चित्र बनाएका थिए

वैज्ञानिकहरूले पहिलो पटक गुफाको भित्ता र त्यहाँ बनाइएका चित्रबाट प्राचीन मानवको डीएनए फेला पारेका छन् । यसले हजारौं वर्षअघि चित्र बनाउने मानिसहरूबारे नयाँ जानकारी पाउने सम्भावना खोलिदिएको छ । साथै, गुफाका चित्रहरू निएन्डरथल मानवले बनाएका थिए वा थिएनन् भन्ने प्रश्नको उत्तर खोज्न पनि यसले सहयोग गर्न सक्छ ।
दक्षिण अफ्रिकाको युनिभर्सिटी अफ द विटवाटरस्रान्डकी अनुसन्धानकर्ता जेनेभिभ भोन पेट्जिंगर भन्छिन्, ‘यो नयाँ युगको सुरुआत हो । अब हामीले ती चित्र बनाउने वास्तविक व्यक्तिको पहिचान गर्न सक्ने सम्भावना देखिएको छ । यो साँच्चै असाधारण उपलब्धि हो ।’
सन् २०२२ देखि २०२५ सम्म फस्र्ट आर्ट परियोजनाका अनुसन्धानकर्ताहरूले स्पेन र पोर्चुगलका ११ वटा गुफाबाट नमूना संकलन गरे । ती गुफामा रातो गेरु प्रयोग गरेर बनाइएका त्रिकोण, थोप्ला र हातका छापजस्ता पुराना चित्रहरू छन् । यी चित्रहरू मानव इतिहासका सबैभन्दा पुराना गुफा–चित्रमध्ये पर्ने विश्वास गरिन्छ । अनुसन्धानकर्ताहरूले चित्रको अत्यन्तै सानो भाग वा गुफाको भित्तामा पानीबाट बनेको क्याल्साइट तहको नमुना लिए । गुफाका चित्रहरू धेरैजसो मुखबाट रङ फुक्दै वा हात–औंलाले बनाइएकाले, चित्रकारको डीएनए त्यहाँ सुरक्षित रहेको हुन सक्ने अनुमान गरिएको थियो । यसअघि वैज्ञानिकहरूलाई गुफाको भुइँको माटोमा प्राचीन मानवको डीएनए सुरक्षित रहन सक्छ भन्ने थाहा थियो । तर गुफाको भित्तामै यस्तो डीएनए भेटिएको भने यो पहिलो पटक हो ।
पहिलो पटक गुफाको भित्तामा मानव डीएनए
पोर्चुगलको एस्कोराल गुफामा रातो रङले बनाइएको अर्धविराम (;) जस्तो चिन्हमा प्राचीन मानवको डीएनए भेटिएको हो । जर्मनीको म्याक्स प्लांक इन्स्टिच्युट फर इभोलुसनरी एन्थ्रोपोलोजीकी अनुसन्धानकर्ता अल्बा बोसोम्स मेसा भन्छिन्, ‘यो निकै सुखद आश्चर्य थियो ।’
यद्यपि, यो डीएनए चित्र बनाउने व्यक्तिकै हो भन्ने निश्चित भइसकेको छैन । उनका अनुसार, ‘पछि आएर कसैले चित्र छोएको हुन सक्छ, वा त्यहाँ कसैले हाच्छ्युँ गर्दा पनि डीएनए परेको हुन सक्छ ।’
तर यो खोजले भविष्यमा चित्र बनाउने व्यक्तिको पहिचान गर्न सकिने आशा जगाएको छ । स्पेनको एक्स्ट्रेमादुरा क्षेत्रका पुरातत्त्वविद् हिपोलिटो कोलाडो गिराल्डो भन्छन्, ‘अब गुफाको भित्ता एउटा खाली किताबको पाना जस्तै भएको छ, जसलाई हामी बिस्तारै नयाँ खोजले भरिरहेका छौं ।’ 
चित्र नभएको भित्तामा पनि भेटियो डीएनए
अनुसन्धानकर्ताहरूले तुलना गर्नका लागि चित्र नभएका भित्ताबाट पनि नमुना लिएका थिए । त्यहाँ पनि प्राचीन मानवको डीएनए भेटिएपछि उनीहरू चकित परे । यसको अर्थ, हजारौं वर्षअघि गुफा भ्रमण गर्न आएका मानिसहरूले भित्ता छोएको कारण उनीहरूको डीएनए त्यहाँ रहन गएको हुन सक्छ । यसले गुफाको भित्ता आफैं प्राचीन मानवबारे जानकारी दिने महत्वपूर्ण स्रोत हुन सक्ने देखाएको छ, चाहे त्यहाँ कुनै चित्र वा अन्य पुरातात्त्विक वस्तु नभए पनि ।
डीएनएले के देखायो ?
अनुसन्धानले एस्कोराल गुफाको भित्तामा भेटिएको डीएनए गुफाको माटोबाट आएको नभई मानिसले प्रत्यक्ष छोएको कारण त्यहाँ बसेको देखाएको छ किनभने माटोमा भेटिने डीएनएसँग अन्य जनावरहरूको डीएनए पनि मिसिएको हुन्छ । तर गुफाको भित्तामा भेटिएको डीएनए पूर्ण रूपमा मानवकै थियो । डीएनए विश्लेषणबाट चार नमूनामध्ये तीनवटा महिलाको र एउटा पुरुषको भएको पत्ता लाग्यो ।
त्यो डीएनए करिब ५,२०० देखि १७ हजार वर्षअघि युरोपमा बसोबास गर्ने वेस्टर्न हन्टर–ग्यादरर समुदायसँग सबैभन्दा मिल्दोजुल्दो देखिएको छ ।
अनुसन्धान यतिमै रोकिएको छैन । यसै महिना अनुसन्धानकर्ताहरूले स्पेनका नेर्जा र आर्दालेस गुफालगायत अन्य गुफाबाट पनि विस्तृत नमुना संकलन गरेका छन् । यी गुफाका केही चित्र निएन्डरथल मानवले बनाएको हुन सक्ने दाबी गरिन्छ, तर यसबारे अझै विवाद छ । अल्बा बोसोम्स मेसा भन्छिन्, ‘म सबैभन्दा बढी जान्न चाहने कुरा भनेको निएन्डरथलहरूले पनि कला सिर्जना गरेका थिए कि थिएनन् भन्ने हो ।’
फ्रान्सको युनिभर्सिटी अफ बोर्डोका अनुसन्धानकर्ता फ्रान्सेस्को डी’एरिकोका अनुसार, गुफाको भित्ताबाट प्राप्त हुने डीएनएले प्राचीन मानव र उनीहरूले बनाएका चित्रबारे बुझ्ने नयाँ बाटो खोलिदिएको छ । यसको सम्भावना निकै ठूलो देख्छन् उनी ।
अझै धेरै अनुसन्धान आवश्यक
तर २४ वटा चित्र भएका भित्तामध्ये एउटा नमुनामा मात्र प्राचीन डीएनए भेटिएकाले यस्तो डीएनए सुरक्षित रहनु सामान्य नभई दुर्लभ हुन सक्छ । अनुसन्धानकर्ताहरूले आफ्नो प्रविधि अझ सुधार्दै लगेपछि भविष्यमा थप सफल नतिजा आउने अपेक्षा गरिएको छ । हिपोलिटो कोलाडो गिराल्डोका अनुसार, यो खोजको सबैभन्दा ठूलो फाइदा भनेको गुफा खन्नुपर्ने आवश्यकता कम हुनु हो । पुराताŒिवक उत्खननले पुराना संरचना बिगार्ने जोखिम हुन्छ ।
उनी भन्छन्, ‘अब उत्खनन नगरीकनै नयाँ इतिहास पत्ता लगाउने अवसर खुलेको छ । यसले विगतका मानिस र उनीहरूको समाजलाई अझ राम्रोसँग बुझ्न मद्दत गर्नेछ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
ईश्वरको मृत्यु

ईश्वरको मृत्यु

किशोरकिशोरीहरू पठनतर्फ फर्किए

किशोरकिशोरीहरू पठनतर्फ फर्किए