यतिबेला नेटफ्लिक्समा ‘आई विल फाइन्ड यू’ शृंखला लगातार तेस्रो हप्ता पनि विश्वभरकै नम्बर १ शो बन्न सफल भएको छ । हार्लान कोबेनको यो थ्रिलर सिरिजले यस हप्ता थप १ करोड ६० लाख भ्यूज पाएको छ । यो शृंखलालाई दर्शकले यसलाई जम्मा ८ करोड ८० लाख घण्टा हेरेका छन् । सन् २०२६ मा नेटफ्लिक्सको सबैभन्दा सफल सिरिजमध्ये एक बनिसकेको यो शोको लोकप्रियता अहिले नै घट्ने कुनै छाँटकाँट देखिएको छैन ।
स्याम वर्थिङ्टनले डेभिड बरोजको मुख्य भूमिका निर्वाह गरेको यस लिमिटेड सिरिजमा आफ्नै छोराको हत्याको झुटो आरोपमा जेल परेका एक बाबुको कथा देखाइएको छ । जब नयाँ प्रमाणले उसको बच्चा अझै जीवितै हुन सक्ने देखाउँछ, ऊ जेलबाट भाग्छ । त्यसपछि उसले रहस्य, झूट र चकित पार्ने घटनाक्रमहरूको पर्दाफास गर्न थाल्छ, जसले विश्वभरका दर्शकहरूलाई सिरिजसँग बाँधेर राख्न सफल भएको छ ।
नेटफ्लिक्सका धेरै शोहरू सुरुमा निकै चर्चामा आउँछन् तर चाँडै हराउँछन् । तर, ‘आई विल फाइन्ड यू’ भने लगातार तीन हप्तासम्म शीर्ष स्थानमा टिक्न सफल भएको छ । यसले दर्शकहरूको मौखिक प्रशंसाले सकारात्मक भूमिका खेलेको छ । यस हप्ता थप १ करोड ६० लाख भ्यूज कमाउँदै र तेस्रो हप्ता पनि नम्बर १ मा पर्दै, ‘आई विल फाइन्ड यू’ आधिकारिक रूपमा यो वर्ष नेटफ्लिक्सकै सबैभन्दा उत्कृष्ट र सफल सिरिजमध्ये एक बनेको छ ।
यसको सफलतासँगै अहिले उपन्यासकार हार्लान कोबेनका अन्य उपन्यासको चर्चा पनि हुन थालेका छन् । त्यसैले त, अहिले नेटफ्लिक्समा कोबेनका उपन्यासमा आधारित थ्रिलर शोहरूको एउटा बेग्लै सेक्सन नै बन्न पुगेको छ । यसलाई नेटफ्लिक्स र कोबेनको प्रेमप्रसंग भन्न थालेका छन् । कोबेनको रहस्यकथाको पहिलो घटना द लस्ट डटर सन् २०१८ मा पर्दामा आयो । त्यसपछि सन् २०२० मा हराएकी श्रीमतीको कथा आयो । त्यसपछि २०२१ मा रहस्यमय रूपमा बेपत्ता भएका श्रीमान्, २०२४ मा मृत घोषित श्रीमान् अचानक जीवित भएको कथा र २०२६ मा फेरि हराएकी छोरीको अर्को कथा आयो । तर यी सबै कथाहरूमा वास्तविक रहस्य अपराधभन्दा पनि ती घटनाको वरिपरि बारम्बार देखिने एउटै पात्र थियो ।

दर्शकहरूले पछि थाहा पाए, त्यो व्यक्ति वास्तवमा ‘हार्लन कोबेन’ थिए । उनी त्यसपछि पनि निरन्तर देखिइरहे । ‘हार्लन कोबेन्स द स्ट्रेन्जर’, ‘हार्लन कोबेन्स स्टे क्लोज’, ‘हार्लन कोबेन्स फूल मी वन्स’, ‘हार्लन कोबेन्स रन अवे’जस्ता शृंखलाहरूमा पनि उनको नाम अगाडि नै राखियो । यसरी सबैभन्दा ठूलो रहस्य यही बन्यो—हार्लन कोबेन आखिर को हुन् र नेटफ्लिक्स किन उनीप्रति यति मोहित छ ?
यस प्रश्नको उत्तर भने धेरै गाह्रो छैन । हार्लन कोबेन अमेरिकी थ्रिलर लेखक हुन् । उनका पुस्तकहरू विश्वभर अत्यन्त लोकप्रिय भएका छन् । १० करोडभन्दा बढी प्रति बिक्री भइसकेका उनका पुस्तकहरू कोभिड महामारी फैलिएको जस्तै तीव्र गतिमा फैलिएका छन् । धेरैले त आफूलाई थाहा नै नपाई उनका पुस्तक र सिरिजको संसारमा प्रवेश गरिसकेका छन् ।
गत वर्ष मात्र उनका सातवटा टेलिभिजन शृंखला र दुईवटा उपन्यास सार्वजनिक भए । ‘हार्लन कोबेन’को नाम आफैंमा एउटा ब्रान्ड बनिसकेको छ । नेटफ्लिक्सले सन् २०१८ मा सुरुमा उनका १४ वटा कृतिलाई पर्दामा उतार्ने सम्झौता गरेको थियो । पछि थप १२ वटा कृतिको अधिकार पनि लियो । अमेजन र सीबीएसले पनि उनका कथामा आधारित शृंखला निर्माण गरिरहेका छन् ।
तर उनका शृंखलाले केही नयाँ प्रश्न पनि उठाएका छन् । उदाहरणका लागि, जेन अस्टिनजस्ता विश्वप्रसिद्ध लेखकको नामभन्दा हार्लन कोबेनको नाम किन ठूलो बनाएर राखिन्छ ? अमेरिकी थ्रिलरका कथाहरू किन म्यानचेस्टरजस्ता बेलायती सहरमा छायांकन गरिन्छन् ? साधारण जागिर गर्ने पात्रहरूले यति विलासी घर र चम्किला भान्साहरू कसरी किन्न सक्छन् ?
उनका केही शृंखलाले आलोचना पनि खेपेका छन् । ‘स्टे क्लोज’जस्ता केही शृंखलाले राम्रो समीक्षा पाए पनि अरूले त्यति राम्रो प्रतिक्रिया पाएनन् । उदाहरणका लागि, उनको पछिल्लो अमेजन शृंखलाले रोटेन टोमाटोजमा समीक्षकबाट ४४ प्रतिशत मात्र मूल्यांकन पायो । कतिपयले ती कथालाई ‘अत्यधिक नाटकीय’ र ‘बिना कारण अलमल्याउने’ भनेका छन् । कथावस्तुलाई ‘घटनाले भरिएको’ भन्न सकिएला तर आलोचकहरूले त्यसलाई ‘सोप ओपेरा शैली’ पनि भनेका छन् ।
उदाहरणका लागि, नेटफ्लिक्सको ‘द इनोसेन्ट’ शृंखला हेर्नुस् । चार एपिसोडमै दर्शकले एउटा दुर्घटनावश भएको हत्या, कथित आत्महत्या, रहस्यमयी नन र त्यसपछि मृत भेटिएकी ननको घटना देख्छन् । चौथो एपिसोडको विवरणमै लेखिएको हुन्छ, ‘संघीय एजेन्टहरूले ननको शव गायब बनाइदिए, जसले लोरेनालाई क्रोधित बनाउँछ ।’ यस्ता अनपेक्षित मोड कहिलेकाहीँ अत्यधिक लाग्न सक्छन् । तर एउटा कुरा भने निर्विवाद छ, उनका कथाहरूले दर्शकलाई बाँधेर राख्छन् । प्रसिद्ध लेखक इयान फ्लेमिङले एकपटक बेस्टसेलर लेख्ने एउटै सरल सूत्र रहेको बताएका थिए, ‘पाठकलाई अर्को पृष्ठ पल्टाउन बाध्य बनाऊ ।’ हार्लन कोबेनले यही सूत्रलाई पूर्ण रूपमा आत्मसात् गरेका छन् ।
उनले द इकोनोमिस्टसँग कुरा गर्दै भनेका छन्¬– प्रत्येक उपन्यासको पहिलो वाक्य नै एउटा सानो कथाजस्तै हुनुपर्छ ताकि त्यसले पाठकलाई तुरुन्तै तानोस् । उनका सुरुआती वाक्यहरू साँच्चै प्रभावशाली हुन्छन् । उदाहरणका लागि, ‘आई विल फाइन्ड यू’ उपन्यासको पहिलो वाक्य नै यस्तो छ, ‘म आफ्नै छोराको हत्या गरेको आरोपमा आजीवन कारावासको पाँचौं वर्ष बिताइरहेको छु ।’
यही कारणले मानिसहरू उनका सिरिज लगातार हेर्छन् । नेटफ्लिक्सका दर्शकहरूले ‘फूल मी वन्स’ सार्वजनिक भएको पहिलो सातामै करिब २५ करोड घण्टा हेरेका थिए । सन् २०२४ मा यो नेटफ्लिक्सका सबैभन्दा धेरै हेरिएका शृंखलामध्ये एक बन्यो ।
तर अर्को रहस्य पनि छ । आखिर किन मानिसहरू पारिवारिक दुर्घटना, हत्या र पीडाले भरिएका कथाहरू यति उत्साहका साथ हेर्छन् ? हार्लन कोबेनका पुस्तकहरूमा यस्ता वाक्यहरू प्रशस्तै भेटिन्छन्, ‘उसको बंगारा जोर्नीबाट उछिट्टियो र सबै नसाहरू चुँडिए ।’ यति हिंसात्मक दृश्य हुँदाहुँदै पनि उनका कथालाई धेरैले तनावपूर्ण मात्र होइन, एक प्रकारले सान्त्वनादायी पनि ठान्छन् । ठीक त्यसरी नै, जसरी मानिसहरूले लगातार एकपछि अर्को एपिसोड हेर्दा आनन्द लिन्छन् ।
हत्या किन आकर्षक लाग्छ ?
यसको एउटा उत्तर कोबेन आफैं दिन्छन् । उनका अनुसार हत्या एउटा यस्तो विषय हो, जसलाई मानिसहरूले सुरक्षित दूरीबाट हेर्न रुचाउँछन् । उनी यस प्रसंगमा अगाथा क्रिस्टीको ‘द एबीसी मर्डर्स’को उदाहरण दिन्छन् । त्यसमा प्रसिद्ध जासूस हरक्युल पोइरोटले एक पात्रलाई सोध्छन्, ‘यदि अपराधलाई रेस्टुरेन्टको मेनुजस्तै रोज्न मिल्ने भए, कुन अपराध रोज्थ्यौ ?’ पहिले उसले चोरी र कीर्ते रोज्छ तर ती विकल्प हटाउँदै अन्ततः निष्कर्ष निकाल्छ, ‘हत्या नै हुनुपर्छ, तर सबै सजावटसहित ।’
कोबेनका अनुसार पारिवारिक त्रासदी नै मानिसलाई सबैभन्दा बढी तान्ने विषय हो । सोफोक्लिसका नाटकहरूदेखि आजका थ्रिलरसम्म यही कुरा लागू हुन्छ । चार सन्तानका पिता कोबेन भन्छन्, ‘मेरा कथाको मूल विषय हत्या होइन, परिवार हो । यदि म तपाईंलाई ‘कसैलाई मार्न चाहनुहुन्छ ?’ भनेर सोधें भने तपाईं ‘नाइँ’ भन्नुहुन्छ । तर यदि मैले फेरि जोड दिएर सोधें, ‘आफ्नो सन्तानलाई बचाउन कसैलाई मार्नुपर्ने भयो भने मार्नु हुन्छ कि हुन्न ?’ भनेर सोधें भनें जवाफमा सम्भवतः ‘मार्छु’ नै हुनेछ ।’
बेलायत नै किन ?
कोबेनका कथाहरूको परिवेश पनि उत्तिकै महŒवपूर्ण हुन्छन् । जसरी प्राचीन ग्रीक त्रासदीहरू काल्पनिक तर परिचित शहर थेब्समा आधारित हुन्थे, त्यसैगरी उनका कथाहरू पनि वास्तविक जस्तो लाग्ने तर केही फरक संसारमा घट्छन् । त्यहाँ महँगा कोट लगाउने पात्रहरू हुन्छन्, आकर्षक गाडी हुन्छन् र विलासी भान्साघर हुन्छन् । उनका अनुसार यो पनि कथाको मनोरञ्जनको एउटा हिस्सा हो ।
उनका धेरै शृंखला बेलायतमा छायांकन गरिनुको कारणबारे उनी भन्छन्, त्यसको एउटा कारण व्यावहारिक पनि हो । त्यहाँ छायांकन सस्तो पर्छ, ज्याला कम छ र कर छूट पनि पाइन्छ । साथै, उनलाई बेलायती संवेदनशीलता र ‘डाउन्टन एबे’ शैलीका घरहरू पनि मनपर्छन् ।
अनि उनको नाम किन हरेक शृंखलाको अगाडि राखिन्छ त ? कोबेनका अनुसार यसको कारण निकै सरल छ । उनी सम्झँदै भन्छिन्, ‘सुरुका एउटा शृंखलाको शीर्षक अर्को शृंखलासँग धेरै मिल्दोजुल्दो भएकाले छुट्याउन निर्माताहरूले शीर्षकमै ‘हार्लन कोबेन’ थपिदिए । त्यो बेला सामाजिक सञ्जालमा कसैले लेखेको थियो— सबैले हार्लन कोबेनको कुरा गरिरहेका छन्, तर हार्लन कोबेन को हो भन्ने मलाई थाहा छैन ।’
सायद अहिले भने धेरैलाई त्यस प्रश्नको उत्तर थाहा भइसकेको छ ।