काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र विश्व हिन्दु इकोनोमिक फोरम (डब्लूएचईएफ)बीच नेपालमा सन् २०२७ मा आयोजना हुने विश्व हिन्दु इकोनोमिक फोरम–२०२७ सफल बनाउन सहकार्य गर्ने समझदारी भएको छ । बिहीबार महासंघको सचिवालयमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र विश्व हिन्दु इकोनोमिक फोरम नेपाल–२०२७ आयोजक समितिका अध्यक्ष सुरज वैद्यले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
समझदारीअनुसार नेपाललाई विश्वस्तरीय लगानी, नवप्रवर्तन तथा उद्यमशीलताको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने, सातै प्रदेशका सार्वजनिक–निजी साझेदारी (पीपीपी) अन्तर्गतका लगानीयोग्य परियोजनाको पहिचान तथा प्रवर्धन गर्ने, वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) आकर्षित गर्ने र आर्थिक कूटनीतिलाई थप सुदृढ बनाउने लक्ष्य राखिएको छ । समझदारीपछि आयोजित कार्यक्रममा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले उक्त सहकार्यले नेपाललाई अन्तर्राष्ट्रिय लगानी, व्यापार र व्यावसायिक साझेदारीको महŒवपूर्ण गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले सन् २०२७ मा नेपालमा आयोजना हुने विश्व हिन्दु इकोनोमिक फोरम र आगामी लगानी सम्मेलनको सफलताका लागि यो सहकार्य महŒवपूर्ण आधार बन्ने बताए । सम्मेलनअघि नेपालभित्र र विदेशमा संयुक्त प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गरी ठोस लगानी प्रतिबद्धता जुटाइने उनले जानकारी दिए । नेपालसँग प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा र रणनीतिक भौगोलिक अवस्थिति जस्ता विशिष्ट सम्भावना रहेको उल्लेख गर्दै श्रेष्ठले ती सम्भावनालाई उत्पादन, लगानी र रोजगारीमा रूपान्तरण गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए ।
यस समझदारीले नेपालका आर्थिक सम्भावनालाई विश्वसामु प्रस्तुत गर्न थप सहयोग पुग्ने उनको भनाइ थियो । विश्व हिन्दु इकोनोमिक फोरम नेपाल–२०२७ आयोजक समितिका अध्यक्ष तथा महासंघका पूर्वअध्यक्ष सुरज वैद्यले सम्मेलनले वैदेशिक लगानी आकर्षित गर्न, युवा उद्यमशीलताको प्रवर्धन गर्न तथा नेपालको आर्थिक विकासलाई नयाँ गति दिन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । विश्व हिन्दु इकोनोमिक फोरमका संरक्षक स्वामी विज्ञान आनन्दले नेपाल अथाह सम्भावना भएको मुलुक भएको उल्लेख गर्दै सम्मेलनमार्फत नेपालको आर्थिक विकासका लागि नयाँ अवसर र सम्भावनाको खोजी गर्न सकिने बताए ।
महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीले फोरममार्फत देशभरका उद्योगी–व्यवसायी, प्रदेश तथा जिल्ला तहका सदस्य संस्थालाई परिचालन गरिने, लगानीयोग्य परियोजनाको पहिचानमा सहकार्य गरिने तथा सरकार र निजी क्षेत्रबीच संवाद र नीतिगत सहजीकरणमा फोरमले भूमिका खेल्ने बताए । कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, जिल्ला–नगर उपाध्यक्ष कृष्णप्रसाद शर्मा, विश्व हिन्दु इकोनोमिक फोरम नेपालका अध्यक्ष प्रदीपमान वैद्यलगायतले अन्तर्राष्ट्रिय सञ्जालमार्फत विश्वका लगानीकर्ता, उद्योगी, व्यवसायी तथा नीतिनिर्मातालाई नेपालमा आकर्षित गर्न सकिने र त्यसबाट बाह्य लगानी प्रवर्धनमा उल्लेखनीय सहयोग पुग्ने धारणा राखे ।
समझदारीपत्रअनुसार विश्व हिन्दु इकोनोमिक फोरममार्फत पर्यटन तथा आतिथ्य, आध्यात्मिक एवं वेलनेस पर्यटन, पूर्वाधार तथा यातायात, शिक्षा तथा सीप विकास, कृषि तथा जडीबुटी प्रशोधन, ऊर्जा, सूचना प्रविधि तथा खानी–खनिजलगायत प्राथमिकताका क्षेत्रमा लगानी प्रवर्धनका कार्यक्रम सञ्चालन गरिनेछ ।