नेभिगेशन
अर्थतन्त्र

प्रदूषण परीक्षण गरिएका ३८ मध्ये २० सवारीसाधन मापदण्ड–विपरीत

काठमाडौं । काठमाडौं उपत्यकामा गरिएको संयुक्त प्रदूषण परीक्षणका क्रममा जाँच गरिएका ३८ वटा सवारीसाधनमध्ये २० वटा सवारीसाधनले सरकारले तोकेको प्रदूषण मापदण्ड पूरा नगरेको पाइएको छ । मापदण्ड उल्लंघन गर्ने ती सवारीसाधनमाथि तत्काल कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ । वातावरण विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बबरमहलस्थित सडक विभाग अगाडि सवारीसाधनको प्रदूषण परीक्षण गरेका थिए ।

परीक्षणमा ३८ सवारीमध्ये २० वटा अर्थात् ५२.६४ प्रतिशत सवारीसाधन तोकिएको मापदण्डविपरीत पाइएको वातावरण विभागले जनाएको छ । वातावरण विभागका उपनिर्देशक सरोजकुमार चौधरीले मापदण्ड पूरा नगर्ने सवारीसाधनमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिएको बताए ।  उनका अनुसार सवारीसाधनबाट हुने वायु प्रदूषण नियन्त्रण गर्न यस्ता परीक्षणलाई नियमित रूपमा सञ्चालन गरिनेछ ।

‘परीक्षणका क्रममा तोकिएको प्रदूषण मापदण्ड पूरा नगरेका सवारीसाधनलाई  कानूनबमोजिम कारबाही गरिएको छ । स्वच्छ हावा, स्वस्थ वातावरण र जिम्मेवार सवारी सञ्चालनका लागि प्रदूषण परीक्षण निरन्तर जारी रहनेछ,’ उनले भने । सबै सवारीधनीलाई नियमित मर्मत–सम्भार, प्रदूषण परीक्षण तथा तोकिएको मापदण्डको पूर्ण पालना गर्न भनिएको पनि उनले बताए ।

वातावरण विभागका अनुसार काठमाडौं उपत्यकामा सवारीसाधनबाट उत्सर्जन हुने धुवाँ वायु प्रदूषणको प्रमुख स्रोतका रूपमा रहेकाले प्रदूषण नियन्त्रणलाई प्रभावकारी बनाउन वातावरण विभाग र ट्राफिक प्रहरीको संयुक्त अनुगमनलाई निरन्तरता दिइएको हो । यस अभियानको उद्देश्य सवारीसाधनबाट हुने धुवाँको उत्सर्जन नियन्त्रण गर्दै स्वच्छ वातावरण सुनिश्चित गर्नु रहेको विभागले जनाएको छ । वातावरण मन्त्रालयले सवारीधनीलाई समयमै सवारीसाधनको मर्मत–सम्भार गर्न, नियमित रूपमा प्रदूषण परीक्षण गराउन तथा सरकारले तोकेको प्रदूषण मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ । साथै, आगामी दिनमा पनि यस्ता संयुक्त परीक्षणलाई निरन्तरता दिँदै मापदण्ड उल्लंघन गर्ने सवारीसाधनमाथि कानुनबमोजिम कारबाही गरिने विभागले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्