काठमाडौं । नेपाली व्यवसायका लागि मानव स्रोत (एचआर) तथा तलब व्यवस्थापन प्रणाली ‘नेपाल एचआरएम’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ । कम्पनीले व्यवसायमा पहिलेदेखि प्रयोग भइरहेका बायोमेट्रिक हाजिरी यन्त्रलाई सिधै तलब व्यवस्थापन प्रणालीसँग जोड्न सकिने दाबी गरेको छ । कम्पनीका अनुसार नयाँ हार्डवेयरमा थप लगानी नगरी हाजिरीदेखि तलब व्यवस्थापनसम्मका सम्पूर्ण प्रक्रिया स्वचालित गर्न सकिनेछ ।
१० जनासम्म कर्मचारी भएका व्यवसायले यो प्रणाली निःशुल्क प्रयोग गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । नेपाल एचआरएमले बजारमा प्रचलित जेडकेटेको, एनभिज, रियल्यान्ड, हिकभिजन लगायतका बायोमेट्रिक हाजिरी यन्त्र तथा अधिकांश ‘पुस’ र ‘पुल’ प्रविधिमा आधारित उपकरणसँग काम गर्ने कम्पनीको दाबी छ । यसबाट व्यवसायले अहिले प्रयोग गरिरहेको बायोमेट्रिक यन्त्रबाटै हाजिरी विवरण सिधै प्रणालीमा ल्याउन सक्ने बताइएको छ ।
कम्पनीका अनुसार हाजिरीको विवरण स्वतः बिदा व्यवस्थापन र तलब गणनासँग जोडिने भएकाले हातैले विवरण प्रविष्ट गर्ने तथा स्प्रेडसिट मिलाउने झन्झट हट्नेछ । यसले महिनाको अन्त्यमा तलब तयार गर्दा हुने त्रुटिसमेत न्यून हुने कम्पनीको विश्वास छ । नेपाल एचआरएमका सह–संस्थापक राजेन्द्र रेग्मीले अधिकांश कम्पनीसँग बायोमेट्रिक हाजिरी यन्त्र भए पनि त्यसको विवरण एक्सेलमा सारेर तलब तयार गर्नुपर्ने अवस्था अझै कायम रहेको बताए । उनले अहिले प्रयोग भइरहेकै बायोमेट्रिक यन्त्रलाई सिधै तलब व्यवस्थापन प्रणालीसँग जोडिएकाले व्यवसायले नयाँ उपकरण खरिद गर्न नपर्ने र सम्पूर्ण विवरण स्वतः प्रणालीमा प्रवाह हुने बताए । कम्पनीका अनुसार प्रणालीमा भविष्यनिधि (पीएफ), नागरिक लगानी कोष (सीआईटी), सामाजिक सुरक्षा कोष (एसएसएफ) तथा विद्युतीय कर कट्टी (ई–टीडीएस) सम्बन्धी व्यवस्था पहिल्यै समावेश गरिएको छ ।
सम्बन्धित दर परिवर्तन भएमा प्रणाली आफैं अद्यावधिक हुने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । यस प्रणालीमा सुरक्षित डाटा व्यवस्थापनका लागि उच्चस्तरीय इन्क्रिप्सन प्रविधि, प्रयोगकर्ताको जिम्मेवारीअनुसार पहुँच नियन्त्रण तथा दैनिक डाटा ब्याकअपको सुविधा रहेको कम्पनीको दाबी छ । कर्मचारीले एन्ड्रोइड तथा आईओएस मोबाइल अनुप्रयोगमार्फत हाजिरी, बिदा आवेदन तथा तलब पर्चासमेत हेर्न सक्नेछन् । कम्पनीका अनुसार १० जनासम्म कर्मचारी भएका साना व्यवसायले नेपाल एचआरएम निःशुल्क प्रयोग गर्न सक्नेछन् भने ठूला संस्थाले पनि आवश्यकताअनुसार यही प्रणाली विस्तार गर्न सक्नेछन् ।
कम्पनी दर्ता तथा प्रणाली सञ्चालन प्रक्रिया सहज बनाइएको र अधिकांश संस्थामा दुईदेखि चार साताभित्र प्रणाली सञ्चालनमा ल्याउन सकिने जनाएको छ । सेवा नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध गराइने कम्पनीले जनाएको छ । नेपाल एचआरएम नेपाली व्यवसायको कानुनी व्यवस्था, भाषा र कार्यशैलीलाई ध्यानमा राखेर विकसित गरिएको मानव स्रोत तथा तलब व्यवस्थापन प्रणाली हो । यसले हाजिरी, बिदा, कर्मचारी भर्ना, नियुक्तिपछिको व्यवस्थापन तथा तलब प्रक्रियालाई स्वचालित बनाउँदै भविष्यनिधि, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष तथा विद्युतीय कर कट्टीसम्बन्धी नेपाली कानुनी व्यवस्था पालना गर्न सहयोग गर्ने कम्पनीको दाबी छ ।