नेभिगेशन
अर्थतन्त्र

व्यापारिक साझेदारीका लागि मेची इन्डस्ट्रिज र भारतको लक्ष्मी इन–फ्याबबीच सम्झौता

काठमाडौं । मेची इन्डस्ट्रिज लिमिटेडले उत्पादन क्षमता विस्तारका लागि भारतको लक्ष्मी इन–फ्याब प्रालिसँग सम्झौता गरेको छ । एएसी (अटोक्लेभ्ड एरेटेड कन्क्रिट) ब्लक उत्पादन गर्ने नेपाली कम्पनीले व्यापारिक साझेदारीका लागि भारतीय कम्पनीसँग सम्झौता गरेको हो । सम्झौताले मेची इन्डस्ट्रिजको व्यवस्थापन प्रणालीमा उत्कृष्टता कायम गरेको भन्दै तीनवटा अन्तर्राष्ट्रिय आईएसओ (आईएसओ) प्रमाणपत्र पनि प्राप्त गरेको जनाएको छ ।

उत्पादन क्षमता अभिवृद्धिका लागि गरिएको समझदारीअनुसार मेची इन्डस्ट्रिजले प्रतिमहिना थप ५ हजार घनमिटर एएसी ब्लक उत्पादन गर्ने क्षमता विस्तार गर्नेछ । उत्पादन क्षमता विस्तारसँगै कम्पनीले मोटार एडेसिभ, रेडिमिक्स प्लास्टर, टाइल एडेसिभ तथा वाल पुट्टी उत्पादनका लागि आवश्यक आधुनिक प्लान्ट तथा उपकरण खरिद गर्ने निर्णयसमेत गरेको जनाएको छ। आवश्यक उपकरण खरिदका लागि सम्बन्धित आपूर्तिकर्तासँग सम्झौता सम्पन्न भइसकेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार नेपाल–भारतबीचको यो औद्योगिक सहकार्यले दिगो विकास, अत्याधुनिक प्रविधि र निर्माण सामग्री उत्पादन क्षमताको विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। नवीनता, विश्वसनीयता र दीर्घकालीन सहकार्यमार्फत निर्माण क्षेत्रको भविष्यलाई अझ सुदृढ बनाउने लक्ष्यसहित साझेदारी अघि बढाइएको कम्पनीले जनाएको छ ।

यसैबीच, मेची इन्डस्ट्रिजले आफ्नो व्यवस्थापन प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप सुदृढ बनाउने क्रममा तीनवटा अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त गरेको छ । कम्पनीले आईएसओ ९००१ः२०१५ (गुणस्तर व्यवस्थापन प्रणाली), आईएसओ १४००१ः२०१५ (वातावरणीय व्यवस्थापन प्रणाली) र आईएसओ ४५००१ः२०१८ (व्यावसायिक स्वास्थ्य तथा सुरक्षा व्यवस्थापन प्रणाली) सम्बन्धी प्रमाणपत्र हासिल गरेको हो । कम्पनीका अध्यक्ष पवन घिमिरेले यी प्रमाणपत्रले कम्पनीको गुणस्तरीय उत्पादन, संस्थागत सुशासन, वातावरणीय जिम्मेवारी तथा कर्मचारीको स्वास्थ्य र सुरक्षाप्रतिको प्रतिबद्धतालाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिलाएको बताए । उनले आगामी दिनमा पनि निरन्तर सुधार, वातावरणमैत्री औद्योगिक अभ्यास, नवप्रवर्तन तथा गुणस्तरीय उत्पादनमार्फत राष्ट्रिय औद्योगिक विकासमा योगदान पु¥याउँदै अग्रणी नेपाली उद्योगका रूपमा स्थापित हुने प्रतिबद्धता व्यक्त गरे ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्