नेभिगेशन
अर्थतन्त्र

नेप्से १९.६७ अंकले घट्यो, कारोबार ४ अर्ब ६१ करोडमा सीमित

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.६७ अंक अर्थात् ०.७५ प्रतिशतले घटेर २,६०१.९२ बिन्दुमा बन्द भएको छ । बुधबार घटेको सेयर बजार बिहीबार पनि ओरालो लागेको हो । लचिलो मौद्रिक नीति आएको भनिएपनि बजारमा अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लागेको छ ।

बिहीबार ३६१ कम्पनीको ८७ लाख ५१ हजार ३८० कित्ता सेयर ५७ हजार ८६४ पटक खरिद–बिक्री हुँदा कुल ४ अर्ब ६१ करोड १९ लाख ५४ हजार ७८२ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि सीमित रहँदा बजारमा लगानीकर्ताको उत्साह कमजोर देखिएको छ । कारोबार भएका कम्पनीमध्ये ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने २२९ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । ६ कम्पनीको मूल्य स्थिर रहेको छ । बढ्नेभन्दा घट्ने कम्पनीको संख्या अत्यधिक रहेकाले समग्र बजारमा बिक्रीकर्ता हावी भएको देखिएको छ ।

बिहीबार उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै १२.६८ प्रतिशतले बढेर प्रतिकित्ता ३ हजार २०० रुपैयाँ पुगेको छ । त्यसपछि स्नो रिभर लिमिटेडको सेयर ११.७६ प्रतिशत, कुमारी सबल योजनाको ३.८७  प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर ३.०९ प्रतिशत तथा सानिमा ग्रोथ फन्डको इकाइ मूल्य ३.०२ प्रतिशतले वृद्धि भएको छ ।
सबैभन्दा बढी गुमाउनेमा बिओके डिबेन्चर २०८६ को शेयर मूल्यमा ८.६६ प्रतिशतको गिरावट आउँदा १०८ रुपैयाँ घटेर ११३९ रुपैयाँमा झरेको छ । सलपा विकास बैंकको शेयर मूल्यमा पनि ८.२८ प्रतिशतको गिरावट आउँदा ७९ रुपैयाँ घटेर ८७५ रुपैयाँमा झरेको नेप्सेले जनाएको छ । यस्तै, थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा ७.९२ प्रतिशत, ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर ५.७६ प्रतिशत तथा सिदार्थ बैैंकको डिबेन्चर २०८४ को ५.५१ प्रतिशतले घटेको छ । 
कारोबार रकमका आधारमा ऋणपत्रहरू अग्रस्थानमा रहेका छन् । ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६÷८७ मा ३५ करोड ५८ लाख ९२ हजार रुपैयाँभन्दा बढी, सिद्धार्थ बैंक डिबेन्चर २०८९मा २८ करोड ६५ लाख ६५ हजार रुपैयाँ, बैंक अफ काठमाडौं डिबेन्चर २०८६मा २० करोड ८६ लाख रुपैयाँ तथा ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४÷८५मा २० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको १६ करोड १३ लाख ७५ हजार रुपैयाँभन्दा बढीको कारोबार भई सबैभन्दा धेरै कारोबार हुने कम्पनी बन्यो ।
बिहीबारको कारोबारपछि कुल बजार पुँजीकरण ४४ खर्ब ७० अर्ब ६२ करोड ९८ लाख ३१ हजार १४२ रुपैयाँ ४० पैसा पुगेको छ भने फ्लोट बजार पुँजीकरण १५ खर्ब ९ अर्ब ४७ करोड २६ लाख २३ हजार ४७१ रुपैयाँ ७० पैसा कायम भएको छ । बजार विश्लेषकका अनुसार मौद्रिक नीतिपछि लगानीकर्तामा देखिएको सकारात्मक अपेक्षा अझै कारोबारमा रूपान्तरण हुन सकेको छैन । नाफा सुरक्षित गर्ने प्रवृत्ति, ठूलो लगानीको अभाव तथा खरिद चाप कमजोर रहँदा बजारमा बिक्री दबाब कायम रहेको उनीहरूको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्