नेभिगेशन
अर्थतन्त्र

अघोषित लोडसेडिङ अन्त्य गर्न मोरङ उद्योग व्यापार संघको माग

काठमाडौं । मोरङ उद्योग व्यापार संघले विद्युत् आपूर्तिमा देखिएको अनियमितता तत्काल अन्त्य गरी उद्योग–व्यवसायलाई नियमित विद्युत् उपलब्ध गराउन नेपाल विद्युत् प्राधिकरण, मोरङ वितरण केन्द्रको ध्यानाकर्षण गराएको छ । संघले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा वर्षायाम सुरु भएयता विद्युत् आपूर्तिमा पटक–पटक ट्रिपिङ हुने, न्यून भोल्टेज आउने तथा अघोषित लोडसेडिङ हुने समस्या बढ्दै गएको उल्लेख गर्दै यसले मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योग–व्यवसायमा गम्भीर असर परेको जनाएको हो ।
विद्युत् प्राधिकरणले विद्युत् आपूर्तिलाई नियमित बनाउने प्रतिबद्धता व्यक्त गरे पनि व्यवहारमा समस्या झन् बढ्दै गएको संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उद्योग सञ्चालनका क्रममा हुने पटक–पटकको विद्युत् अवरोधले उत्पादन प्रक्रिया प्रभावित हुनुका साथै उद्योगी–व्यवसायीले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको संघको भनाइ छ । संघका अध्यक्ष राठीले विद्युत् आपूर्ति नियमित नहुँदा प्लास्टिक, स्टील, सिमेन्ट, खाद्य तथा रासायनिक पदार्थ उत्पादन गर्ने उद्योगहरू विशेष रूपमा प्रभावित भएको बताए ।

उनका अनुसार उत्पादन प्रक्रियामै रहेका कच्चापदार्थ जम्ने, डढ्ने तथा उत्पादन पूर्ण रूपमा खेर जाने अवस्था सिर्जना भइरहेको छ । अध्यक्ष राठीले विद्युत् आपूर्तिमा देखिएको निरन्तरको समस्याले उद्योगी–व्यवसायीमा चरम निराशा छाएको उल्लेख गर्दै उत्पादन, लगानी र रोजगारीमा समेत प्रतिकूल प्रभाव पर्ने अवस्था आएको बताए । उनले उद्योग सञ्चालनका लागि भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न विद्युत् प्राधिकरणसँग आग्रह गरेका छन् । विद्युत् प्राधिकरणको कमजोर वितरण प्रणालीका कारण अधिक विद्युत उत्पादन हुने बर्खाको समयमा पनि उद्योगहरूले मागबमोजिम आपूर्ति पाउन सकेका छैनन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्