नेभिगेशन
अर्थतन्त्र

निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको कडाइ, ग्राहकलाई अनिवार्य सूचना दिनुपर्ने

काठमाडौं  । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो निष्क्रिय खाताको संख्या न्यूनीकरण गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले इजाजतपत्रप्राप्त सबै बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाता व्यवस्थापनका लागि स्पष्ट कार्ययोजना तयार गरी २०८३ पुस मसान्तभित्र कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो । राष्ट्र बैंकअन्तर्गतको बैंक तथा वित्तीय संस्था नियमन विभागले एकीकृत निर्देशन, २०८२ मा संशोधन तथा परिमार्जन गर्दै ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका वित्त कम्पनीलाई निष्क्रिय खाता न्यूनीकरणका लागि आवश्यक व्यवस्था लागू गर्न निर्देशन जारी गरेको हो । संशोधित व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले कुनै पनि ग्राहकको खाता निष्क्रिय हुनुअघि त्यसबारे फोन, एसएमएस, इमेल वा अन्य उपलब्ध विद्युतीय माध्यमबाट गराउनुपर्नेछ । यो व्यवस्थाले ग्राहकलाई आफ्नो खाता सक्रिय राख्न समयमै जानकारी दिने र अनावश्यक रूपमा खाता निष्क्रिय हुने अवस्था कम गर्ने राष्ट्र बैंकको अपेक्षा छ । राष्ट्र बैंकले निष्क्रिय भइसकेका खातालाई पुनः सञ्चालनमा ल्याउन पनि बैंक तथा वित्तीय संस्थाको जिम्मेवारी बढाएको छ । अब बैंक तथा वित्तीय संस्थाले कम्तीमा प्रत्येक ६ महिनाको अन्तरालमा फोन, एसएमएस, इमेललगायतका माध्यमबाट सम्बन्धित ग्राहकसँग सम्पर्क गरी खाता पुनः सक्रिय गर्न अनुरोध गर्नुपर्नेछ । यस्तो सम्पर्क र अनुरोधको अभिलेखसमेत सुरक्षित राख्ने व्यवस्था गरिएको छ ।
मोबाइलबाटै खाता बन्द गर्न सकिने 
राष्ट्र बैंकले ग्राहकका लागि बैंकिङ सेवा सहज बनाउन खाता बन्द गर्ने प्रक्रियामा पनि महत्त्वपूर्ण सुधार गरेको छ । अब ग्राहकले आफ्नो खाता सम्बन्धित बैंकको नेपालभर रहेका जुनसुकै शाखा कार्यालयबाट बन्द गर्न सक्नेछन् । त्यसैगरी, मोबाइल बैंकिङ वा वेब एप्लिकेसनमार्फत पनि खाता बन्द गर्ने सुविधा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । निर्देशनअनुसार ग्राहकले शाखा कार्यालयमा उपस्थित भएर वा डिजिटल माध्यमबाट खाता बन्द गर्न अनुरोध गरेमा खातामा रहेको मौज्दात ग्राहकले तोकेको अर्को बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नै खातामा रकमान्तर गरी खाता बन्द गरिदिनुपर्नेछ । यसले शाखा विशेषमा मात्रै पुग्नुपर्ने बाध्यता हट्ने र ग्राहकले देशको जुनसुकै स्थानबाट सहज रूपमा खाता बन्द गर्न सक्नेछन् ।
यस्तै, राष्ट्र बैंकले निष्क्रिय खाता पुनः सञ्चालन गर्ने प्रक्रियालाई पनि सरल बनाउन निर्देशन दिएको छ । ग्राहकको पहिचान सुनिश्चित भएपछि बैंक तथा वित्तीय संस्थाले नेपालभर रहेका जुनसुकै शाखा कार्यालयबाट निष्क्रिय खाता पुनः सक्रिय गर्न सक्ने व्यवस्था मिलाउनुपर्नेछ । यसले शाखा परिवर्तन भएका वा बसाइँसराइका कारण पुरानै शाखामा पुग्न नसक्ने ग्राहकलाई सहज हुने अपेक्षा गरिएको छ । साथै, राष्ट्र बैंकले निष्क्रिय अवस्थाबाट पुनः सञ्चालनमा आएका खातामा हुने अस्वाभाविक वा शंकास्पद कारोबारको निगरानी गर्न छुट्टै प्रणाली विकास गर्न पनि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । वित्तीय अपराध, सम्पत्ति शुद्धीकरण तथा अनियमित कारोबारको जोखिम न्यूनीकरणका लागि यस्तो निगरानी प्रणाली आवश्यक रहेको राष्ट्र बैंकको भनाई छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्