नेभिगेशन
अर्थतन्त्र

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउन्जसहितको डिजिटल हब सञ्चालनमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकलाई प्रविधिमैत्री र सहज बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले काठमाडौंको ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ । बैंकले एक समारोहबीच उक्त डिजिटल हबको औपचारिक उद्घाटन गरेको हो । काठमाडौं महानगरपालिका–३०, ज्ञानेश्वरस्थित डिजिटल हबको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले गरे । कार्यक्रममा सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका पदाधिकारी तथा बैंकका कर्मचारीको उपस्थिति रहेको थियो ।

बैंकका अनुसार डिजिटल बैंकिङ सेवालाई थप आधुनिक, सुरक्षित, प्रविधिमैत्री तथा ग्राहककेन्द्रित बनाउने रणनीतिअनुसार डिजिटल हबसँगै कफी लाउन्जको अवधारणा पनि कार्यान्वयनमा ल्याइएको हो । यसमार्फत ग्राहकले आरामदायी वातावरणमा बसेर बैंकिङ सेवा लिन सक्नेछन् । डिजिटल हबमा ग्राहकले नगद जम्मा गर्ने, नगद झिक्ने, चेक क्लियरिङ गर्ने तथा विभिन्न विद्युतीय बैंकिङ कारोबार सहज रूपमा गर्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार ग्राहकलाई परम्परागत शाखाभन्दा फरक अनुभव प्रदान गर्ने उद्देश्यले डिजिटल बैंकिङ सेवा र कफी लाउन्जलाई एउटै स्थानमा एकीकृत गरिएको हो । बैंकले नेपालको बैंकिङ क्षेत्रमा कफी लाउन्जसहितको डिजिटल हब सञ्चालन गर्ने सम्भवतः पहिलो बैंक भएको दाबी गरेको छ । यस्तो अवधारणाले ग्राहकलाई बैंकिङ सेवा लिनुका साथै डिजिटल प्रविधिबारे जानकारी र अनुभव हासिल गर्ने अवसर प्रदान गर्ने विश्वास बैंकको छ ।

युवापुस्तालाई डिजिटल बैंकिङतर्फ आकर्षित गर्ने तथा ग्राहकको डिजिटल पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको डिजिटल हबमार्फत डिजिटल बैंकिङ सेवासम्बन्धी परामर्शसमेत उपलब्ध गराइने बैंकले जनाएको छ । यसले ग्राहकलाई नयाँ प्रविधि प्रयोग गर्न सिकाउने र डिजिटल वित्तीय सेवाप्रति अभ्यस्त बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । बैंकले नेपाल राष्ट्र बैंकले अघि सारेको ’रेगुलेटरी स्यान्डबक्स’ अवधारणालाई समेत आत्मसात गर्दै वित्तीय सेवामा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र आगामी दिनमा ग्राहकको आवश्यकता अनुरूप नयाँ प्रविधिमा आधारित सेवा विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ । महालक्ष्मी विकास बैंकले पछिल्ला वर्षहरूमा डिजिटल बैंकिङ सेवाको विस्तारलाई प्राथमिकतामा राख्दै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा स्वचालित बैंकिङ सेवामा लगानी बढाउँदै आएको छ। ज्ञानेश्वरमा सञ्चालनमा आएको कफी लाउन्जसहितको डिजिटल हबलाई बैंकले ग्राहक अनुभवलाई नयाँ स्तरमा पु¥याउने सेवाको रूपमा अघि सारेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्