नेभिगेशन
अर्थतन्त्र

एनआईसी एशिया बैंकद्वारा लमजुङ र दाङका दुई विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत लमजुङ र दाङका दुई सामुदायिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक, झोला तथा शैक्षिक सामग्री सहयोग गरेको छ । बैंकले सुन्दरबजार, लमजुङस्थित श्री सर्वोदय माध्यमिक विद्यालय तथा तुलसीपुर उपमहानगरपालिका–१, भ्यूडहर सुनपुर, दाङस्थित श्री वीरेन्द्र माध्यमिक विद्यालयका आर्थिक रूपमा कमजोर तथा विपन्न वर्गका विद्यार्थीलाई पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले उक्त सामग्री उपलब्ध गराइएको हो ।

लमजुङको श्री सर्वोदय माध्यमिक विद्यालयमा गत असार २३ गते आयोजित कार्यक्रममा एनआईसी एशिया बैंकको बेँसीसहर शाखाका निमित्त शाखा प्रमुख कंवलजीत सिंह सन्धुले विद्यालयका सहप्रधानाध्यापक लालबहादुर गुरुङलाई विद्यार्थीका लागि विद्यालय पोशाक, झोला तथा शैक्षिक सामग्री हस्तान्तरण गरे । उक्त विद्यालयमा हाल १८३ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । त्यसैगरी, असार २५ गते दाङको तुलसीपुर उपमहानगरपालिका–१, भ्यूडहर सुनपुरस्थित श्री वीरेन्द्र माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा बैंकका घोराही सर्कल प्रमुख विनोदप्रसाद जैसी र तुलसीपुर शाखा प्रमुख राजीव ओलीले संयुक्त रूपमा विद्यालयका प्रधानाध्यापक टोपबहादुर घर्तीलाई विद्यार्थीका लागि झोला तथा शैक्षिक सामग्री हस्तान्तरण गरे ।

उक्त विद्यालयमा ३८३ भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् । दुवै कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी तथा बैंकका कर्मचारीहरूको सहभागिता रहेको थियो । बैंकका अनुसार उपलब्ध गराइएको सहयोगले आर्थिक रूपमा कमजोर विद्यार्थीको शैक्षिक सामग्रीको आवश्यकता पूरा गर्न, नियमित पठनपाठनमा सहजता ल्याउन तथा विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्न योगदान पुग्ने अपेक्षा गरिएको छ ।

एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । बैंकले आगामी दिनमा पनि समुदायको आवश्यकताअनुरूप यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्