नेभिगेशन
अर्थतन्त्र

समृद्धि र पोखरा फाइनान्स मर्जरपछि एकीकृत कारोबार सुरु

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेडबीचको मर्जर प्रक्रिया सम्पन्न भएसँगै ’पोखरा फाइनान्स लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु भएको छ । एकीकृत कारोबारको शुभारम्भ नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक रामु पौडेल र वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक विश्रुत थापाले संयुक्त रूपमा गरेका हुन् ।

कार्यक्रममा पोखरा फाइनान्सका निवर्तमान अध्यक्ष राजकुमार गुरुङले स्वागत मन्तव्य राख्दै वित्तीय क्षेत्रमा मर्जर तथा एकीकरणको आवश्यकता, यसको औचित्य र संस्थागत सुदृढीकरणमा यसले पु¥याउने योगदानबारे चर्चा गरे । शुभारम्भ कार्यक्रममा नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादव, नेपाल वित्तीय संस्था संघका उपाध्यक्ष रजोजमान श्रेष्ठ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका अध्यक्ष सुयोग श्रेष्ठ, नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला तथा बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले मर्जर सफलतापूर्वक सम्पन्न भएकोमा दुवै संस्थालाई बधाई तथा शुभकामना दिए ।

उनीहरूले वित्तीय संस्थाको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि, पूँजी आधार विस्तार तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन मर्जर महत्त्वपूर्ण माध्यम बनेको उल्लेख गरे । कार्यक्रमका प्रमुख अतिथि रामु पौडेल र विश्रुत थापाले बैंक तथा वित्तीय संस्थाको सुदृढीकरणका लागि नियामक निकायले मर्जर तथा एकीकरणलाई निरन्तर प्रोत्साहन गर्ने बताए । उनीहरूले स्वस्थ, सक्षम र प्रतिस्पर्धी वित्तीय प्रणाली निर्माणका लागि आवश्यक नीतिगत सहजीकरण र मार्गनिर्देशन आगामी दिनमा पनि जारी रहने प्रतिबद्धता व्यक्त गरे । नवनिर्मित संस्थाका अध्यक्ष अजयकुमार मिश्रले दुई वित्तीय संस्था एकीकृत भएसँगै संस्थाको पूँजी, व्यवसायिक क्षमता र सेवा विस्तारको दायरा अझ मजबुत बनेको बताए । उनले एकीकृत संस्थालाई सुदृढ संस्थागत सुशासन, प्रभावकारी जोखिम व्यवस्थापन र ग्राहककेन्द्रित सेवासहित देशकै विश्वासिलो वित्तीय संस्थाका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले मर्जर प्रक्रिया सफल बनाउन सहयोग पु¥याउने नेपाल राष्ट्र बैंक, सञ्चालक समिति, कर्मचारी, सेयरधनी तथा अन्य सबै सरोकारवालाप्रति आभार व्यक्त गरे । समृद्धि फाइनान्स र पोखरा फाइनान्सको एकीकरणसँगै वित्तीय क्षेत्रको समेकन प्रक्रियाले थप गति लिएको अपेक्षा गरिएको छ । नियामक निकायले पछिल्ला वर्षदेखि बैंक तथा वित्तीय संस्थालाई पुँजी सुदृढीकरण, संस्थागत क्षमता विस्तार र वित्तीय प्रणालीलाई थप सक्षम बनाउन मर्जर तथा प्राप्तिलाई प्राथमिकतामा राख्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्