नेभिगेशन
अर्थतन्त्र

महिला उद्यमीलाई लक्षित गर्दै सिद्धार्थ बैंकको ‘सिद्धार्थ महिला समृद्धि कर्जा’

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यम (एमएसएमई) को वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले ‘सिद्धार्थ महिला समृद्धि कर्जा’ योजना सार्वजनिक गरेको छ । बैंकले महिला स्वामित्व वा नेतृत्वमा सञ्चालित उद्यमलाई लक्षित गरी ल्याइएको यस योजनाअन्तर्गत महिला उद्यमीले १५ लाख रुपैयाँसम्म बिना धितो कर्जा प्राप्त गर्न सक्ने जनाएको छ । त्यसैगरी, आंशिक धितोका आधारमा २५ लाख रुपैयाँसम्म र पूर्ण धितोका आधारमा ५० लाख रुपैयाँसम्म कर्जा सुविधा उपलब्ध गराइने बैंकले जनाएको छ ।

बैंकका अनुसार महिला उद्यमीलाई परम्परागत धितोमा आधारित बैंकिङ प्रणालीभन्दा बाहिर ल्याई व्यवसायको सम्भावना, क्षमता र वित्तीय अवस्थाका आधारमा कर्जा उपलब्ध गराउने उद्देश्यले यो योजना सञ्चालनमा ल्याइएको हो । यसका लागि बैंकले इन्टरनेशनल फाइनान्स कर्पोरेशनको प्राविधिक सहयोगमा विशेष ‘स्कोरकार्ड’ मूल्यांकन प्रणाली विकास गरेको जनाएको छ। उक्त प्रणालीले धितोलाई मात्र प्राथमिक आधार नबनाई व्यवसायको प्रकृति, सञ्चालन अनुभव, वित्तीय अवस्था, नगद प्रवाह तथा उद्यमीको व्यवस्थापकीय क्षमतालगायतका सूचकको समग्र मूल्यांकन गरेर कर्जा प्रवाह गर्ने व्यवस्था गरेको बैंकले जनाएको छ ।

बैंकका अनुसार नयाँ मूल्यांकन प्रणालीले पर्याप्त धितोको अभावका कारण कर्जा प्राप्त गर्न कठिनाइ भोगिरहेका महिला उद्यमीलाई राहत पुग्नेछ । व्यवसायको सम्भावना र उद्यमीको क्षमताका आधारमा कर्जा प्रवाह हुने भएकाले वित्तीय पहुँचबाट वञ्चित हुने अवस्था न्यूनीकरण हुने विश्वास बैंकले लिएको छ । सिद्धार्थ बैंकले पछिल्ला वर्षहरूमा लघु, साना तथा मझौला उद्यम प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै विभिन्न लक्षित कर्जा योजना सञ्चालन गर्दै आएको छ। ‘सिद्धार्थ महिला समृद्धि कर्जा’ पनि महिला उद्यमशीलता प्रवद्र्धन, स्वरोजगार विस्तार तथा समावेशी आर्थिक विकासमा योगदान पु¥याउने उद्देश्यका साथ ल्याइएको बैंकले जनाएको छ । बैंकले यस कर्जा योजनासम्बन्धी थप जानकारीका लागि २४सै घण्टा सञ्चालनमा रहने आफ्नो ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’मार्फत सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्