न्यूयोर्क (एपी) — निर्देशक क्रिस्टोफर नोलनले सधैं आफूलाई र सिनेमाको सम्भावनालाई अझ ठूलो स्तरमा पु¥याउने प्रयास गर्दै आएका छन् । प्रत्येक नयाँ फिल्मसँगै उनले कथावाचन, दृश्य संरचना, शैली र दर्शकको अपेक्षालाई नयाँ ढंगले प्रस्तुत गर्दै स्मरणीय सिनेमागत अनुभव सिर्जना गरेका छन् । हलिउडको इतिहासका गहिरा अध्येता नोलनले यसपटक प्राचीन ग्रीसका ईशापूर्व आठौं शताब्दी आसपासका कवि होमरको प्रसिद्ध महाकाव्य ‘द ओडिसी’लाई ठूलो पर्दामा उतार्ने निर्णय गरे, जसलाई उनले पश्चिमी सभ्यताको आधारभूत कथामध्ये एक मान्छन् ।
जुलाई १७ देखि विश्वभर प्रदर्शनमा आउने ‘द ओडिसी’ पूर्ण रूपमा आइम्याक्स फिल्म क्यामेरामा खिचिएको पहिलो फिचर फिल्म हो । नोलनका अनुसार यो केवल पुरानो कथा दोहो¥याउने प्रयास होइन, दर्शकलाई उनीहरूले पहिले कहिल्यै नदेखेको संसारमा लैजाने उद्देश्य हो । उनले ट्रोजन हर्स, साइक्लोप्सको गुफा, हेडिजको संसार र विशाल समुद्री यात्रालाई सकेसम्म यथार्थपरक बनाउन वास्तविक समुद्र, जहाज र विभिन्न देशका लोकेसन रोजे ।
मुख्य पात्र ओडिसियस बनेका म्याट डेमनका अनुसार नोलनले छायांकन सुरु हुनुअघि नै यो आफ्नो जीवनकै सबैभन्दा कठिन फिल्म हुने चेतावनी दिएका थिए । करिब ६ महिनासम्म ६ देशमा फैलिएको ९१ दिनको छायांकनमा टोलीले प्रतिकूल मौसम, जोखिमपूर्ण समुद्री यात्रा र कठिन भूगोलको सामना ग¥यो । यति चुनौतीपूर्ण भए पनि निर्माण टोलीले निर्धारित समयभन्दा नौ दिनअघि नै छायांकन सम्पन्न ग¥यो ।
प्राचीन ग्रीसलाई चित्रण गर्ने धेरै हलिउड फिल्महरूले विशेष उच्चारण, कृत्रिम संवाद र भव्य सांगीतिक शैली अपनाउने गरेको भए पनि नोलनले त्यसबाट अलग बाटो रोजे । उनले कथालाई दर्शकसँग सहज रूपमा जोड्न सामान्य बोलचालको भाषा, अमेरिकी उच्चारण र ‘द इलियड’, ‘द एनिड’ तथा ‘अगामेम्नन’का केही प्रसंग पनि समेटेका छन् । उनले ट्रोजन हर्सलाई प्रचलित चलचित्रहरूमा देखाइएजस्तो पाङ्ग्रा भएको रूपमा प्रस्तुत गरेका छैनन् ।
संगीतकार लुडविग गोरान्सनसँग मिलेर नोलनले कांस्यका घण्टी, प्राचीन बाजा ‘आउलोस’ र ‘लायर’ प्रयोग गर्दै नयाँ ध्वनि संसार निर्माण गरेका छन् । उनका अनुसार विशाल दृश्य र रोमाञ्चक यात्राबीच पनि कथाको भावनात्मक पक्षलाई उत्तिकै महŒव दिइएको छ ।
ओडिसियसकी पत्नी पेनेलोपको भूमिकामा एनी ह्याथवे, देवी एथेनाका रूपमा जेन्डाया, क्यालिप्सोको भूमिकामा चार्लिज थेरोन तथा हेलेनका रूपमा लुपिता नियोङ’ओ देखिनेछन् । टेलिमाकस बनेका टम हल्यान्डका अनुसार फिल्मले विशाल साहसिक यात्रासँगै बुबा–छोराको भावनात्मक सम्बन्धलाई पनि प्रभावकारी रूपमा प्रस्तुत गरेको छ । उता रोबर्ट प्याटिन्सनले खलपात्र एन्टिनोउसको भूमिकामा डरलाग्दो तर रोचक अभिनय गरेका छन् ।
दृश्य प्रभावमा विशेष रुचि राख्ने नोलनले यस फिल्ममा सकेसम्म वास्तविक छायांकनलाई प्राथमिकता दिएका छन् । मोरक्कोमा ट्रोय सहर निर्माण गरिएको छ भने ग्रीसका पहाडी क्षेत्र साइक्लोप्सको गुफाका रूपमा प्रयोग भएका छन् । आइसल्यान्डका कालो समुद्री किनार हेडिजको संसार बनेका छन् भने सिसिली नजिकको फाभिन्याना टापुले इथाकाको रूप लिएको छ । समुद्री दृश्यका लागि करिब एक हजार वर्ष पुरानो भाइकिङ जहाजको पुनर्निर्मित संस्करण प्रयोग गरिएको थियो, जसलाई माइसीनियन युगअनुसार परिमार्जन गरिएको थियो । कलाकारहरूले स्वयं डुंगा चलाउन पनि सिके ।
यद्यपि नोलनले कम्प्युटर प्रविधिलाई अस्वीकार गरेका छैनन् । साइक्लोप्स र ६ टाउके स्किल्लाजस्ता पात्रलाई एनिमाट्रोनिक्स, कठपुतली र कम्प्युटर ग्राफिक्सको संयोजनबाट जीवित बनाइएको छ । साइक्लोप्सको डिजाइन चित्रकार फ्रान्सिस्को गोयाको प्रसिद्ध चित्र ‘साटर्न डिभावरिङ हिज सन’बाट प्रेरित छ ।
फिल्म प्रदर्शनअघि नै यसको क्रेज अभूतपूर्व देखिएको छ । ७० एमएम आइम्याक्स संस्करणका प्रारम्भिक टिकट बिक्री सुरु भएको एक घण्टामै सकिएका थिए । पछिल्लो चरणमा टिकट खुला गर्दा धेरै टिकटिङ वेबसाइट नै अवरुद्ध भए । न्यूयोर्क र लस एन्जलसका प्रमुख आइम्याक्स हलहरूमा धेरै सातासम्मका शो लगभग हाउसफुल भइसकेका छन् ।
नोलनका लागि भने अन्तिम निर्णय दर्शककै हातमा हुन्छ । उनका शब्दमा, ‘फिल्म तब मात्र पूर्ण हुन्छ, जब दर्शकले त्यसलाई आफ्नो अनुभवबाट अर्थ दिन्छन् । हामीले यो फिल्म ठूलो पर्दाका लागि बनाएका हौं, अब संसारले यसलाई कसरी ग्रहण गर्छ, त्यो हेर्न बाँकी छ ।’
५५ वर्षका ब्रिटिस–अमेरिकी निर्देशक, लेखक र निर्माता नोलनको हलिउडमा छुट्टै स्थान छ । सन् १९९८ मा ‘फलोइङ’बाट फिचर फिल्म निर्देशन सुरु गरेका उनले ‘मेमेन्टो’, ‘इन्सोम्निया’, ‘ब्याटम्यान बिगिन्स’, ‘द प्रेस्टिज’, ‘द डार्क नाइट’, ‘इन्सेप्सन’, ‘द डार्क नाइट राइजेज’, ‘इन्टरस्टेलर’, ‘डन्कर्क’, ‘टेनेट’ र ‘ओपेनहाइमर’ जस्ता चर्चित फिल्म निर्देशन गरेका छन् । जटिल कथावाचन, समयको प्रयोग, यथार्थपरक दृश्यशैली र भव्य सिनेमायी प्रस्तुतिका लागि परिचित नोलनले ‘ओपेनहाइमर’बाट उत्कृष्ट निर्देशकको अस्कर पनि जितेका छन् । नयाँ फिल्मले उनी एकपटक फेरि संसारभरका सिनेकर्मी र दर्शकमाझ चर्चा पाइरहेका छन् ।