काठमाडौं । तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (ईन्फा)–२०२६ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । इन्फा इभेन्ट्स यूके र इन्फा नेपालको संयुक्त आयोजनामा काठमाडौंमा सम्पन्न उक्त कार्यक्रममा २० वटा प्रतिस्पर्धात्मक विधाका उत्कृष्ट पाँच मनोनयन घोषणा गरिनुका साथै मनोनयनमा पर्न सफल चलचित्रकर्मीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको छ ।
यस वर्ष २०८२ साल वैशाख १ देखि चैत मसान्तसम्म प्रदर्शनमा आएका ४० भन्दा बढी नेपाली चलचित्रहरूमध्येबाट निर्णायक मण्डलले मूल्यांकलन गरी यो मनोनयन तय गरेको निर्देशक तथा अवार्ड चिफ कोअर्डिनेटर मनिष कार्कीले जानकारी दिए । बेलायतमा सफलतापूर्वक सम्पन्न पहिलो र दोस्रो संस्करणको अनुभवलाई आत्मसात् गर्दै यस वर्षको इन्फा अवार्ड नेपालमै अझ भव्य, सभ्य र अन्तर्राष्ट्रिय स्तरमा आयोजना गरिने उनले बताए ।
निर्णायक टोलीमा वरिष्ठ अभिनेता हरिहर शर्मा, वरिष्ठ अभिनेत्री गौरी मल्ल, वरिष्ठ निर्देशक रमेश बुढाथोकी र वरिष्ठ सम्पादक एवं गीतकार करुण थापा रहेका थिए ।
मदनकृष्ण श्रेष्ठलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’
चलचित्र क्षेत्रमा पु¥याएको अतुलनीय योगदानको कदर गर्दै यस वर्ष वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई १ लाख ११ हजार १११ (एक लाख एघार हजार एक सय एघार रुपैयाँ) राशिको ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गर्ने घोषणा गरिएको छ । यो पुरस्कार एचटीआर केयर एण्ड रिक्रुटमेन्टले प्रायोजन गरेको हो । अवार्डका पहिलो र दोस्रो संस्करण बेलायतको लण्डनमा सम्पन्न भएका थिए भने तेस्रो संस्करण पहिलो पटक नेपालमा हुन लागेको हो । अवार्डका चिफ कोअर्डिनेटर कार्कीका अनुसार नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्ने उद्देश्यका साथ आगामी साउन ३० गते होटल याक एण्ड यतीमै अवार्ड वितरण गरिनेछ ।
उत्कृष्ट पाँच मनोनयनहरूः
उत्कृष्ट चलचित्रः ‘आ बाट आमा’, ‘ऊनको स्विटर’, ‘कोशेढुंगा’, ‘जेरीः अन टप’ र ‘परान’।
उत्कृष्ट निर्देशकः दीपकप्रसाद आचार्य (परान), नविन चौहान (ऊनको स्विटर), सरोज पौडेल (कोशेढुंगा), सुदिप्ता (रमिताको पिरती) र सुयोग गुरुङ (जेरीः अन टप)।
उत्कृष्ट अभिनेताः अनमोल केसी, नाजिर हुसेन, नीर शाह, पल शाह र विपिन कार्की ।
उत्कृष्ट अभिनेत्रीः आना शर्मा, जसिता गुरुङ, मिरुना मगर, रिश्मा गुरुङ र सुरक्षा पन्त ।
उत्कृष्ट सह–अभिनेताःअभिनेत्रीः सह–अभिनेतातर्फ आर्यन सिग्देल, प्रकाश दाहाल, प्रकाश सपुत, विनय श्रेष्ठ र बुद्धि तामाङ मनोनयनमा छन् भने सह–अभिनेत्रीतर्फ आँचल शर्मा, उपासना सिंह ठकुरी, गौमाया गुरुङ, प्रियंका कार्की र रेणुनाथ योगी प्रतिस्पर्धामा छन् ।
उत्कृष्ट नव–प्रतिभाः नव–अभिनेत्रीमा उषा उप्रेती, खुशी कार्की, विनिता कार्की, विना राउत र श्यामाश्री शेर्पा तथा नव–अभिनेतामा अशोक दर्जी, मन्जिल कुमार, विमोचन दवाडी, समीर श्रेष्ठ र सुरज पौडेल परेका छन् ।
यसबाहेक चरित्र अभिनेता÷अभिनेत्री, द्वन्द्व, खलपात्र, छायांकार, पाश्र्व संगीत, गायक÷गायिका, गीतकार, पटकथा, सम्पादन र नृत्य निर्देशक जस्ता प्राविधिक तथा विधागततर्फ पनि उत्कृष्ट पाँचको घोषणा गरिएको छ ।