नेभिगेशन
अर्थतन्त्र

क्यानडा पठाइदिने भन्दै ठगी गरेको आरोपमा पूर्वमाओवादी कमान्डर चौधरी पक्राउ

काठमाडौं । क्यानडामा आकर्षक रोजगारीको व्यवस्था गरिदिने प्रलोभन देखाएर २६ जना युवायुवतीबाट करिब २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा पूर्वमाओवादी लडाकु कमान्डर लहानु चौधरी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चौधरीलाई पक्राउ गरेको हो । कैलाली स्थायी घर भएका चौधरी लामो समयदेखि फरार थिए ।

प्रहरीका अनुसार चौधरीले क्यानडामा आकर्षक रोजगारी उपलब्ध गराइदिने आश्वासन दिँदै पीडितहरूबाट प्रतिव्यक्ति ४ लाखदेखि १७ लाख रुपैयाँसम्म रकम उठाएका थिए । तर, रकम लिएपछि पनि विदेश पठाउने प्रक्रिया अघि नबढेपछि पीडितहरूले आफू ठगिएको भन्दै रकम फिर्ता माग गरेका थिए । रकम फिर्ताका लागि चौधरीले दिएको चेकसमेत बाउन्स भएपछि पीडितहरूले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए ।

विभागमा परेको उजुरीका आधारमा प्रहरीले उनको खोजी तीव्र बनाएको थियो । पक्राउ परेका चौधरीलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइने प्रहरीले जनाएको छ । प्रारम्भिक बयानका क्रममा चौधरीले आफूले सञ्चालन गरेको म्यानपावर कम्पनी बन्द भएपछि रकम फिर्ता गर्न नसकेको र ठगी गर्ने उद्देश्य नभएको दाबी गरेका छन् । प्रहरीले घटनाका सबै पक्षबारे अनुसन्धान भइरहेको जनाएको छ । यस घटनापछि वैदेशिक रोजगारसँग सम्बन्धित निकायहरूले विदेश जाने तयारीमा रहेका युवायुवतीलाई आधिकारिक प्रक्रिया अपनाउन, इजाजतप्राप्त म्यानपावर कम्पनीमार्फत मात्रै प्रक्रिया अघि बढाउन तथा आकर्षक रोजगारीको प्रलोभनमा नपर्न पुनः आग्रह गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्