काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक लिमिटेडले स्थापनाको ४२औँ वर्ष पूरा गर्दै अबको यात्रा कृत्रिम बौद्धिकता (एआई) र ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणामार्फत अघि बढाउने घोषणा गरेको छ । बैंकले आइतबार ४२औँ वार्षिकोत्सव मनाउँदै परम्परागत बैंकिङ सेवाभन्दा बाहिर गएर प्रविधिमैत्री, समावेशी र ग्राहक–केन्द्रित वित्तीय सेवा विस्तार गर्ने प्रतिबद्धता सार्वजनिक गरेको हो । वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले नबिलको सबैभन्दा ठूलो सम्पत्ति ग्राहकको विश्वास रहेको उल्लेख गर्दै यही विश्वासका आधारमा आगामी दिनमा पनि बैंकले परिवर्तनको नेतृत्व गर्ने बताए । उनले विगत चार दशकमा नेपालको आर्थिक तथा औद्योगिक क्षेत्रमा उल्लेखनीय परिवर्तन भए पनि नबिलले परिवर्तनको प्रतीक्षा नगरी सधैं नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए।
आधुनिक बैंकिङको सुरुआतदेखि डिजिटल बैंकिङसम्म नबिल अग्रणी रहँदै आएको उल्लेख गर्दै उनले ‘एनबैंक’ एपमार्फत नेपालको डिजिटल बैंकिङलाई नयाँ उचाइमा पु¥याएको दाबी गरे । अध्यक्ष चौधरीका अनुसार नबिल अहिले वाणिज्य बैंकिङ, इन्भेष्टमेन्ट बैंकिङ, स्टक ब्रोकिङ, मर्चेन्ट बैंकिङ, क्यापिटल मार्केट र डिजिटल बैंकिङसहितको पूर्ण वित्तीय इकोसिस्टम प्रदान गर्ने नेपालको एकमात्र वित्तीय समूहका रूपमा स्थापित भएको छ । अध्यक्ष चौधरीले अब बैंकिङ क्षेत्रमा सबैभन्दा ठूलो रूपान्तरण आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मार्फत हुने उल्लेख गर्दै नबिल यस परिवर्तनको नेतृत्व गर्न तयार रहेको बताए । उनका अनुसार आगामी दिनमा ‘एनबैंक’को विकास एआईलाई केन्द्रमा राखेर गरिनेछ । यसबाट ग्राहकअनुकूल व्यक्तिगत सेवा, छिटो कर्जा स्वीकृति, प्रभावकारी जोखिम व्यवस्थापन, सुरक्षित बैंकिङ प्रणाली तथा वित्तीय समावेशीकरणलाई थप मजबुत बनाइनेछ । प्रविधिको विकाससँगै मानवीय मूल्य र सेवाभावलाई पनि उत्तिकै प्राथमिकतामा राखिने उनले स्पष्ट पारे ।
यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले सन् १९८४ मा प्रविधिमैत्री निजी बैंकका रूपमा सुरु भएको यात्रा आज लाखौँ ग्राहकको विश्वास र हजारौँ कर्मचारीको समर्पणका कारण नयाँ उचाइमा पुगेको बताए । उनले बैंकले वित्तीय सेवा मात्रै नभई ग्राहकका सपना, सम्भावना र सफलताको यात्रामा साझेदारका रूपमा काम गरिरहेको उल्लेख गर्दै ‘बैंकिङ एण्ड बियोन्ड’ नै नबिलको आगामी रणनीतिक दिशा भएको बताए ।
उत्पादनशील क्षेत्रमा लगानी विस्तारको योजना
बैंकले देशको आर्थिक विकासमा योगदान पु¥याउने उद्देश्यले कृषि, ऊर्जा, लघु तथा मझौला उद्योग र पर्यटन क्षेत्रमा लगानी बढाउँदै आएको जनाएको छ । हाल बैंकको कृषि क्षेत्रमा ५३ अर्ब ३१ करोड रुपैयाँ, ऊर्जा क्षेत्रमा ५१ अर्ब ६ करोड रुपैयाँ, लघु, घरेलु, साना तथा मझौला उद्यम (एमएसएमई) क्षेत्रमा ४५ अर्ब ९२ करोड रुपैयाँ तथा पर्यटन क्षेत्रमा ११ अर्ब १० करोड कर्जा लगानी रहेको छ । बैंकका अनुसार आर्थिक वर्ष २०४१÷४२ मा २ करोड ८० लाख रुपैयाँ रहेको नेटवर्थ चालु आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमाससम्म ७० अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । सोही अवधिमा १० लाख रहेको खुद नाफा बढेर ६ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । बैंकको निक्षेप १४ करोड ६० लाख रुपैयाँबाट बढेर ५ खर्ब ८८ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १३ करोड ३० लाख रुपैयाँबाट बढेर ४ खर्ब ६४ अर्ब १० करोड पुगेको छ ।
कुल सम्पत्ति पनि २६ करोड ९० लाख रुपैयाँबाट बढेर ७ खर्ब १८ अर्ब ४२ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ ।सेवा सञ्जालतर्फ स्थापना समयमा दुई शाखा र १४४ कर्मचारी रहेको बैंक अहिले देशभर २६४ शाखा, ३१५ एटिएम, १८ एक्सटेन्सन काउन्टर र २,४६९ कर्मचारीमार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले ४२ दिनसम्म सञ्चालन हुने विशेष ग्राहक–केन्द्रित योजना सार्वजनिक गरेको छ ।
यसअन्तर्गत हेटौँडा र वीरगञ्ज क्षेत्रमा सडक विस्तारका कारण प्रभावित घरधनीका लागि आधारदरमा ०.५ प्रतिशत मात्र प्रिमियम थप गरी पुनःनिर्माण घर कर्जा उपलब्ध गराइनेछ । त्यस्तै, लकर सेक्युरिटी डिपोजिटमा ४२ प्रतिशत छुट, इलेक्ट्रोनिक पेमेन्ट गेटवे (ईपीजी) सेवाको इन्टिग्रेसन शुल्कमा ५० प्रतिशत छुट, क्रेडिट कार्ड आवेदन तथा पहिलो वर्षको सदस्यता शुल्कमा विशेष छुट प्रदान गरिने बैंकले जनाएको छ । वार्षिकोत्सवकै दिन डेबिट कार्डका लागि आवेदन दिने ग्राहकले चार वर्षसम्म निःशुल्क डेबिट कार्ड सेवा प्राप्त गर्ने व्यवस्था गरिएको छ ।
नबिल बैंकले पछिल्ला वर्षहरूमा दिगो बैंकिङ र डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राख्दै ‘एनबैंक’ डिजिटल प्लेटफर्म विस्तार गरिरहेको छ। बैंकले आगामी दिनमा एआई, नवप्रवर्तन र ग्राहक–केन्द्रित सेवामार्फत नेपालको बैंकिङ क्षेत्रको नेतृत्वलाई अझ सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ ।