नेभिगेशन
अर्थतन्त्र

संस्कृति इन्टरनेशनल स्कुल र श्री पञ्चकन्या माध्यमिक विद्यालयबीच सहकार्य

काठमाडौं । नवीन तथा व्यवहारिक शिक्षालाई प्रवद्र्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेशनल स्कुल (ठूलोभर्याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय (छाउनी) बीच सहकार्य भएको छ । यस सहकार्यअन्तर्गत श्री पञ्चकन्या माध्यमिक विद्यालयका विद्यार्थीलाई संस्कृति इन्टरनेशनल स्कुलको फ्याब ल्याबमा निःशुल्क विशेष कक्षा सञ्चालन गरिनेछ । यस कार्यक्रमको औपचारिक शुभारम्भ आइतबार पहिलो अन्तरक्रियात्मक कक्षामार्फत गरिएको हो ।

पहिलो कक्षामा विद्यार्थीलाई प्रयोगशालामा अपनाउनुपर्ने सुरक्षा मापदण्डबारे जानकारी दिइएको थियो । उनीहरूले डिजिटल फेब्रिकेसनका उपकरण प्रयोग गर्दै सिर्जनात्मक डिजाइनसम्बन्धी व्यवहारिक अभ्यास गरेका थिए । शैक्षिक वर्षभर सञ्चालन हुने यस कार्यक्रममा विद्यार्थीलाई थ्रीडी प्रिन्टिङ, कोडिङ तथा कृत्रिम बौद्धिकता (एआई), रोबोटिक्स, फोटोग्राफी, भिजुअल इफेक्ट्स  लगायतका विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित विषयमा व्यवहारिक सिकाइ प्रदान गरिनेछ । साथै, समुदायलाई उपयोगी हुने विभिन्न परियोजना विकास गर्न पनि विद्यार्थीलाई प्रोत्साहन गरिनेछ ।

सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको यस कार्यक्रमका सम्पूर्ण खर्च, आवश्यक सामग्री, अत्याधुनिक फ्याब ल्याबको प्रयोग तथा विशेषज्ञ प्रशिक्षकको व्यवस्था संस्कृति इन्टरनेशनल स्कुलले गर्नेछ। कार्यक्रम पूर्ण रूपमा निःशुल्क हुनेछ । शैक्षिक वर्ष २०८३ भर सञ्चालन हुने यस कार्यक्रममा प्रत्येक दोस्रो आइतबार दुई घण्टाको कक्षा सञ्चालन गरिनेछ । यसबाट सामुदायिक विद्यालयका विद्यार्थीले २१औँ शताब्दीका आवश्यक सीप, सिर्जनात्मक सोच तथा व्यवहारिक ज्ञान हासिल गर्ने अपेक्षा गरिएको छ । दुवै विद्यालयले यो गैर–व्यावसायिक सहकार्यबाट सामुदायिक विद्यालयका विद्यार्थीलाई आधुनिक प्रविधिमूलक शिक्षामा सहज पहुँच दिलाउने, डिजिटल विभाजन कम गर्ने तथा नयाँ पुस्ताका नवप्रवर्तक तयार पार्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्