नेभिगेशन
अर्थतन्त्र

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा डंगोल

काठमाडौं । ठमेल क्षेत्रभित्रका व्यवसायी तथा घरधनीको साझा संस्था ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डंगोल विजयी भएका छन् । परिषद्को आइतबार सम्पन्न निर्वाचनमा डंगोलले प्रश्रय राजभण्डारीलाई पराजित गरी विजयी भएका हुन् । 
डंगोलले कूल खसेको मध्ये ७२८ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी राजभण्डारीले ३६५ मत प्राप्त गरेको निर्वाचन अधिकृत हरिप्रसाद पङ्गेनीले जानकारी दिए ।

परिषद्को प्रथम उपाध्यक्षमा राजीव पाण्डे, द्वितीय उपाध्यक्षमा दावाङ (दावा) तामाङ, तृतीय उपाध्यक्षमा रमेश थापा विजयी भएका छन् । महासचिवमा पशुपति कँडेल ७२० मत ल्याई विजयी भएका छन् । उनका प्रतिष्पर्धी पुण्यराम लागेजुले ३३३ मत प्राप्त गरे । कार्यसमितिको सचिवमा दिलिप कँडेल, कोषाध्यक्षमा किन्चु लामु भुटिया (श्रेष्ठ) विजयी भएको पनि निर्वाचन अधिकृत पङ्गेनीले बताए । यस्तै, सदस्यहरुमा सुरेन्द्र डंगोल, बालकृष्ण खनाल, सानुकाजी महर्जन, रोशन प्रधान (श्रेष्ठ), विश्वमान प्रधान, लिजा मानन्धर, कृष्णबहादुर सेढाईँ र चन्द्रा तामाङ विजयी भएका छन् ।    

आगामी दुई वर्षे कार्यकालका लागि भएको निर्वाचनमा कुल एक हजार ३०९ मतदाता रहेको परिषद्को निर्वाचनमा एक हजार २२५ मत खसेको थियो । निर्वाचनपछि सञ्चारकर्मीसँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष डंगोलले सुरक्षित र व्यवस्थित ठमेल निर्माणमा आफ्नो ध्यान केन्द्रीत हुने बताए । उनले पछिल्लो समय अन्तरराष्ट्रिय पर्यटक केन्द्र ठमेललाई प्रविधिसँग जोडेर अगाडि बढ्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्