काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतसहित ११२ जना कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ ।
मन्त्रालयले सोमबार गरेको निर्णयअनुसार विभिन्न स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत र शाखा अधिकृतको जिम्मेवारी हेरफेर गरिएको हो । सरुवा हुनेमध्ये मन्त्रालयको अतिरिक्त समूहमा रहेका ८२ जना शाखा अधिकृतलाई विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतका रूपमा कामकाजमा खटाइएको तथा संघीय मन्त्रालय र विभागमा सरुवा गरिएको छ ।
सरुवामा पर्नेमा ३० जना प्रमुख प्रशासकीय अधिकृत र ८२ जना शाखा अधिकृत छन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रशासनिक कामकाज ठप्प भएको गुनासो गरिरहेका केही पालिकाहरुको माग मन्त्रालयले सम्बोधन गरेको छ । दोलखाको वैतेश्वर, म्याग्दीको मंगला, सुनसरीको देवानगञ्ज, पर्वतको पैयुँ, जलजला, गुल्मीको इश्मा, प्यूठानको माण्डवी, हुम्लाको सिमकोट, मुस्ताङको लो घेकर, रुकुम पूर्वको भूमे, नुवाकोटको सूर्यगढी, धादिङको गंगाजमुना, स्याङ्जाको हरिनास, सर्लाहीको ब्रहमपुरी, बसबरिया, धनुषाको लक्ष्मीनियाँ, दार्चुलाको व्यास, सिरहाको अनर्मा, सखुवा नन्कारकट्टी, विष्णुपुर, ताप्लेजुङको फक्ताङलुङ, कालिकोटको पचालझरना, नरहरिनाथ, दोलखाको विगु, रामेछापको उमाकुण्ड, मनाङको नार्पाभूमि, मुगुको मुगम कार्मारोङ गाउँपालिकामा नयाँ शाखा अधिकृत खटाएको छ ।
प्रमुख प्रशासकीय अधिकृतमा गुल्मीको इश्मामा रहेका राजन पराजुली, हुम्लाको सिमकोटबाट भलाराम पंगाली, अदालचुलीमा रहेका चन्द्रवीर शाही, जसम्ला तातोपानीबाट तीर्थबहादुर कठायत, सर्लाही बसबरियाबाट सुजीतकुमार यादवलाई गृहमन्त्रालय तानेको छ । कालिकोटको नरहरिनाथबाट बालकृष्ण रानामगर, रसुवाको आमाछोदिङमोबाट चिरञ्जीवी जीएमलाई भूमि व्यवस्थापन तथा अभिलेख विभागमा ल्याएको छ । शाखा अधिकृतहरु सिरहाको अनर्माबाट द्रोपतीकुमारी यादव, धनुषाको लक्ष्मीनियाँमा रहेका प्रमुख प्रशासकीय अधिकृत राजगिर महतोलाई गृहमन्त्रालय वा त्यअन्तर्गत ल्याएको छ ।