काठमाडौं । सोमबार बिहान नेपालका विभिन्न सञ्चारमाध्यमको गेटै छेकेर गाडीहरू राखिएको विषयलाई लिएर शंकाको सुइ सरकारतिर तेर्सिएको छ । कान्तिपुर, अनलाइन खबर, हिमालय टीभीलगायत मिडिया हाउसको गेटअगाडि सवारी आवागमन नै प्रभावित हुने गरी गाडी नियोजित रूपमा राखेर अवरोध गरिएको थियो ।
तीनकुनेस्थित कान्तिपुर मिडियाको गेट अगाडि झन्डै ६ बजेतिरै बा प्रदेश ०१ ०३४ च ८४८० नम्बरको जेको ईभी गेटअगाडि अरू कुनै सवारी आवागमन गर्न नमिल्ने गरी राखेर चालक बेपत्ता भएका थिए । त्यहाँ रहेका सुरक्षागार्डले गाडी हटाउन आग्रह गरेपनि मास्क लगाएका चालक गाडी गेटैमा राखेर खुरुखुरु हिँडेको सीसीटीभी फुटेज सार्वजनिक भएको छ । उक्त गाडी सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागको सदस्य रवि जयसवालको रहेको खुलेको छ ।
त्यसको केहीबेरमा बुद्धनगरस्थित अनलाइनखबर डटकमको कार्यालय अगाडि पनि आवागमन नै रोकिने गरी अर्को गाडी अड्याएर चालक भागेका थिए । त्यहाँ बा१२च ८५४५ नम्बरको गाडी पार्क गरिएको थियो । उक्त गाडी गोकर्णेश्वरका सुनिल पौडेलको नाममा रहेको खुलेको छ । मध्यवानेश्ववरस्थित हिमालय टेलिभिजन प्रवेश गर्ने बाटै छेकेर अर्को गाडी पार्किङ गरिएको थियो । त्यहाँ बा१०च १२५५ नम्बरको गाडी पार्क गरिएको थियो । अनलाइन खबर र हिमालय टीभी एउटै कम्पनीका सञ्चारमाध्यम हुन् ।
अनलाइन खबरका सम्पादक बसन्त बस्नेतले मिडिया हाउसको गेटैमा गाडी राख्नुमा सरकारको संरक्षण रहेको आशंका व्यक्त गरेका छन् । ‘गणेश नेपाली आत्मदाहलगायत विषयमा तालुकदार निकायको जिम्मेवारी र जवाफदेहिता चाहिएको थियो । र, चाहिएको थियो आइन्दा यस्ता घटना सकभर नहुन् भन्नेगरी यथोचित कदम,’ उनले भनेका छन्, ‘तर राज्य संवेदनशील अभिभावक र सबैलाई जोड्ने कनेक्टर बनोस् भन्ने अपेक्षालाई नै हास्यास्पद बनाउने गरी मिडिया हाउसका गेटमा शंकास्पद गाडी राखिएका छन् । तर्साउन गरेका हौ यो सब, तिमीहरूले । तर्सिन्नौं । आफ्नो जिम्मेवारी पूरा निष्ठा र संकल्पका साथ पूरा गर्छौं ।’
मिडिया हाउससहित प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थि निवास प्रवेश गर्ने बाटो र अनामनगरस्थित भाटभटेनी सुपरमार्केट अगाडिको सडकसहित जथाभावीरूपमा पार्किङ गरिएका १४ वटा सवारीसाधनलाई ट्राफिक प्रहरीले ढिलागरी उठाएर लगेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ती सबै गाडीका धनीलाई जतिवाना कारबाहीको चिट काटिएको छ ।
एकातिर रास्वपा नेताकै गाडी कान्तिपुरको गेटमा रहेको खुल्नु र अर्कोतिर प्रधानमन्त्री बालेन शाह निकट रास्वपा नेताहरूले अव्यवस्थित पार्किङको पीडा महसुस गराउन त्यसो गरिएको हुनसक्ने भन्दै बहसमा उत्रिएपछि सरकारमाथि प्रश्न उठेको छ । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले सञ्चालन गर्दै आएको ‘ट्रोल नेपाल’ नामक पेजले लेखेको छ, ‘नो पार्किङ जोन’ भनेको ठाउँमा पार्किङ गरेको गाडी उठाउँदा वा फाइन काट्दा ज्यादती भयो भन्ने मिडियाहरू ५÷६ घण्टामै आफूहरूलाई विज्ञप्ति निकाल्नुपर्ने भएछ ।’
उक्त पेज बेनले सञ्चालन गर्ने गरेको भनदै जेनजी अभियन्ता रक्षा बमले उनलाई पदको गरिमा राख्न सुझाव दिएकी छन् । ‘कुमार बेनज्यू, तपाईं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार हुनुहुन्छ । कृपया आफ्नो पदको गरिमा राख्नुहोला । नागरिकलाई धम्क्याउने र सञ्चारमाध्यममाथि शक्ति प्रदर्शन गर्ने अधिकार तपाईंलाई छैन,’ उनले भनेकी छन्, ‘पार्किङ अव्यवस्थित छ भने त्यसको समाधान गर्ने जिम्मेवारी सरकारको हो । मिडिया हाउसअगाडि गाडी तेस्र्याएर तपाईंहरूले के तमासा देखाउन खोज्नुभएको हो ? के तपाईंहरूलाई मान्छेको ज्यानभन्दा पनि स्टन्ट गरेर देखाउनु ठूलो भएको हो ?’
नेपाल पत्रकार महासंघसहित पत्रकारका विभिन्न संघसंस्थाले उक्त घटना प्रेस स्वतन्त्रतामाथिको प्रहार भन्दै विरोध जनाएका छन् ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमाथि प्रश्न उठेपछि विज्ञप्ति जारी गरेको छ । रास्वपाले राज्यको चौथो अंगका रूपमा रहेका सञ्चारमाध्यम र पत्रकारले निर्भिक रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिएको छ । ‘कुनै पनि बहानामा प्रेस स्वतन्त्रता हनन गर्ने, सञ्चारगृहमा त्रासको वातावरण सिर्जना गर्ने र स्वतन्त्र पत्रकारितालाई संकुचित पार्ने गतिविधि स्वीकार्य नहुने,’ रास्वपाका महामन्त्री विपीन आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । तर, यो घटनामा सरकारको भने कुनै आधिकारिक जवाफ आएको छैन ।
कुत्सित मनसायबाट प्रेरितः कांग्रेस
सञ्चारमाध्यमसहित पार्टी सभापति गगन थापाको निवास अगाडि गाडी राखिएको घटनालाई कांग्रेसले भत्र्सना गरेको छ । महामन्त्री प्रदीप पौडेलले विज्ञप्ति जारी गर्दै यो घटनालाई स्वतन्त्र अभिव्यक्ति र लोकतान्त्रिक गतिविधिलाई त्रसित बनाउने कुत्सित मनसायबाट प्रेरित नियोजित घटना भनेको छ ।
‘यस्तो प्रवृत्ति लोकतान्त्रिक मूल्य, विधिको शासन तथा नागरिक स्वतन्त्रता माथिको गम्भीर प्रहार हो भन्ने नेपाली कांग्रेसको ठहर छ । कांग्रेस आतंकको यस शैलीको घोर निन्दा तथा भत्र्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुन बमोजिम कारबाही गर्न जोडदार माग गर्दछ । लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिक अधिकारको संरक्षणका लागि सम्पूर्ण लोकतन्त्रवादी शक्ति, सञ्चारजगत्, नागरिक समाज तथा आम नागरिकलाई यस्ता अलोकतान्त्रिक गतिविधिविरुद्ध एकजुट भई सशक्त प्रतिवाद गर्न कांग्रेस हार्दिक आह्वान गर्दछ ।’
सोमबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति थापाले उक्त गतिविधिलाई प्रश्नहरू बन्द गर्ने प्रयास भएको बताए । ‘सरकार आफैं प्रश्न गर्नेहरूको प्रश्न बन्द गर्नका लागि ओर्लिएर आएको छ । यो चाहिँ सबैभन्दा अचम्मलाग्दो कुरा पनि हो । हामी सबैले ध्यान दिनुपर्ने कुरा पनि हो । पार्टीका तर्फबाट अहिले यति नै भन्छौं, यी सबै कुराहरू खेदजन्य छन्,’ थापाले भने,‘यी कुराहरूले सोसाइटी, कांग्रेस वा कसैको प्रश्न गर्ने कुराको हक कसैले खोस्न सक्छ, न हाम्रो हिम्मत कसैले खोस्न सक्छ । हाम्रो हक पनि कसैले खोसेर खोसिँदैन ।’ उनले बिहान ७ बजे आफ्नो घर छिर्ने बाटोमा दुईजना आएर गाडी आवागमनमा अवरोध हुनेगरी राखेर प्रशासनको गाडी चढेर गएको बताए ।