नेभिगेशन
अर्थतन्त्र

एशियन पेन्ट्सको ‘क्यालिडोस्कोप’ प्रतियोगिताका विजेता सम्मानित

काठमाडौं । एशियन पेन्ट्स नेपालले ‘क्यालिडोस्कोप–अखिल नेपाल वास्तुकला तथा आन्तरिक डिजाइन प्रतियोगिता २०८२÷८३’ को १३औँ संस्करणअन्तर्गत पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ । एलोफ्ट बाई मेरियट, ठमेलमा आयोजित कार्यक्रममा युवा वास्तुकार तथा आन्तरिक डिजाइनरहरूको सिर्जनशीलता, नवप्रवर्तनशील सोच र व्यावसायिक क्षमताको सम्मान गरिएको हो । 
कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल प्रमुख अतिथिका रूपमा सहभागी थिए । साथै शहरी विकास तथा भवन निर्माण विभाग (डीयुडीबीसी), सोसाइटी अफ नेपाली आर्किटेक्ट्स (सोना), नेपाल इन्जिनियर्स एसोसिएसन, इन्टेरियर डिजाइनर्स एसोसिएसन नेपाल, फेडेरेसन अफ कन्ट्र्याक्टर्स एसोसिएसन अफ नेपाल, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फम्र्स, विभिन्न शैक्षिक संस्थाका प्राध्यापक, आर्किटेक्ट, इन्टेरियर डिजाइनर तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । युवा प्रतिभालाई व्यावहारिक परियोजनामार्फत उद्योगसँग जोड्ने उद्देश्यले सञ्चालन हुँदै आएको प्रतियोगितामा यस वर्ष पनि देशभरका प्राविधिक शिक्षण संस्थाका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। बहु–चरणीय मूल्याङ्कनपछि उत्कृष्ट १२ प्रतिस्पर्धीलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने शीर्ष तीन विजेतालाई ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो । 
प्रतियोगितामा आईओई थापाथली क्याम्पसका पुरुषोत्तम घिमिरे प्रथम, आईओई पूर्वाञ्चल क्याम्पसका सुमन बि.के. प्रथम उपविजेता तथा हिमालय कलेज अफ इन्जिनियरिङकी अदिति रिजाल द्वितीय उपविजेता बने । कार्यक्रममा विजेता डिजाइनको त्रिआयामिक (थ्रीडी) मोडल सार्वजनिक गर्नुका साथै उक्त अवधारणात्मक डिजाइन शहरी विकास तथा भवन निर्माण विभागलाई हस्तान्तरण गरिएको थियो । एशियन पेन्ट्स नेपालले शैक्षिक संस्था र उद्योगबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै युवा प्रतिभालाई सिर्जनात्मक अवसर उपलब्ध गराउने प्रतिबद्धता दोहोराएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्