नेभिगेशन
अर्थतन्त्र

उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा गायत्री कटुवाल भण्डारी निर्वाचित

काठमाडौं । उद्योग वाणिज्य संघ इटहरीको नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट गायत्री कटुवाल भण्डारी अध्यक्षमा निर्वाचित भएकी छन् । आइतबार राति सम्पन्न मतगणनामा उनले आफ्ना निकटतम् प्रतिस्पर्धी नवराज काफ्लेलाई १५ मतान्तरले पराजित गर्दै अध्यक्ष पदमा विजय हासिल गरेकी हुन् । निर्वाचन समितिका संयोजक टंक दुलालका अनुसार भण्डारीले कुल ७५८ मत प्राप्त गरिन् भने उनका प्रतिस्पर्धी काफ्लेले ७४३ मत पाए । 
कडा प्रतिस्पर्धाका बीच भएको निर्वाचनमा भण्डारीले १५ मतको झिनो अन्तरले नेतृत्व आफ्नो पक्षमा पार्न सफल भइन् । यसैगरी, वाणिज्य सदस्यतर्फ जीवनकुमार न्यौपाने, सञ्जीव खड्का, बलराम बस्नेत, सिनेट रिजाल, सञ्जय साह, बलबहादुर न्यौपाने, सन्नी चौधरी, दिनेशप्रसाद धमला र महेश थापा निर्वाचित भएका छन् । महिला सदस्यतर्फ मीना आचार्य ढकाल र सुमित्रा घिमिरे भट्टराई निर्वाचित भएका छन् भने उद्योग सदस्यतर्फ अभिषेक बस्नेत, शिवप्रसाद भट्टराई ‘भूपाल’, हरिप्रसाद तिम्सिना र किसनकुमार खेडिया निर्वाचित भएका छन् । 
निर्वाचन समितिका अनुसार संघको निर्वाचनमा २ हजार ३६९ मतदाता रहेकामा १ हजार ५४३ मत खसेको थियो । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको समितिले जनाएको छ । नवनिर्वाचित अध्यक्ष भण्डारीले उद्योगी तथा व्यवसायीको हकहित संरक्षण, व्यवसायमैत्री वातावरण निर्माण, स्थानीय व्यापार प्रवद्र्धन तथा निजी क्षेत्र र स्थानीय सरकारबीच समन्वयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । साथै, इटहरीलाई प्रदेशको प्रमुख व्यापारिक केन्द्रका रूपमा थप सुदृढ बनाउन सबै व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्ने उनको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्